काठमाडौं- सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ। ठूलो परिमाणमा छोरीका नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेपछि विवादित बनेका ढुंगानालाई निलम्बन गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ।
बुधवारको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ढुङ्गानामाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठनसमेत गरेको छ। समिति सदस्यमा प्राध्यापक नारायणप्रसाद पौडेल र कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य छन्।
‘धितोपत्र बोर्डका अध्यक्षका विषयमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य प्राध्यापक नारायणप्रसाद पौडेल र कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहेको जाँचबुझ समिति गठन भएको छ,’ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
ढुंगानाले भने ‘छोरीले सर्वोत्तम सिमेन्टको सेयर किने पनि त्यो नियमसंगत नै भएको’ दावी गरेका थिए। ढुंगानाले भित्री कारोबार गरेको भन्दै यो विषयमा प्रमाणसहित समाचार छापिएको र सोसम्बन्धी अर्थ मन्त्रालयले छानबिन गर्नुपर्ने आवाज उठेपछि मन्त्रालयले तीन दिने स्पष्टीकरण पनि सोधेको थियो।