काठमाडौं- सरकारले सहसचिव राजकुमार श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै परराष्ट्र सेवाका उपसचिवहरू कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई सहसचिवमा बढुवा गर्ने समेत निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
यस्तै मेडिकल काउन्सिलको सदस्यमा विराटनगरका डा विक्रान्त ढकाललाई नियुक्त गर्ने समेत सरकारको निर्णय छ।
यसैगरी, धितोपत्र बोर्डका अध्यक्षका सम्बन्धमा छानबिनका लागि उच्च अदालतका पूर्वन्यायायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा प्रा नारायणप्रसाद पौडेल र कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहने छानबिन समिति गठन गर्नेसमेत निर्णय सरकारले गरेको छ।
छोरीका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेपछि बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना विवादित बनेका थिए। ढुंगानाले छोरीका नाममा सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर किनेका थिए।
यस्तै, हुम्लाको सीमा क्षेत्रको समस्या अध्ययन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहने गरी समिति गठन गर्ने समेत निर्णय भएको छ। सरकारले कोभिड खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णयसमेत भएको मन्त्री कार्कीले बताए।