काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो उमेर र उचाइलाई नसुहाउने टिप्पणी गरेका छन् ।
पोखरामा आयोजित चुनावी सभामा प्रचण्डले कांग्रेस उम्मेदवार खेमराज पौडेलप्रति लक्षित गर्दै गरेको टिप्पणीमा प्रतिक्रिया दिँदै शर्माले यस्तो बताएका हुन् ।
प्रचण्डको भाषणलगत्तै ट्विट गर्दै शर्माले भनेका छन्, ‘देवघाट पठाउने उमेरमा सांसद ? प्रचण्डले आज पोखरामा भन्नुभो ! कमरेड यहाँको उचाइ र उमेरले यस्तो बोल्नु शोभनीय हो ? ७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने ?’
कास्की–२ का कांग्रेस उम्मेदवार खेमराज पौडेललाई वृद्धाश्रम जाने उमेरमा भोट माग्न हिँडेको टिप्पणी प्रचण्डले गरेका थिए ।
‘हाम्रा प्रधानमन्त्रीलाई बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७० वर्षका बूढालाई उम्मेदवार बनाएका छन् । देवघाटतिर जानुपर्ने मान्छेलाई, ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्षको जवानलाई अब आराम गर्नुपर्छ भन्न मिल्छ त ? उनले आमसभामा भनेका थिए ।