काठमाडौं- मौद्रिक नीतिको व्यवस्थाका कारण सेयर बजारले ओरालो यात्रा तय गरेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार १३ दिनमा नै बजार २२२ अंकले ओरालो लागेको छ। भदौ २ गते सेयर बजार परिसूचक ३१९८.६० अंकमा पुगेर रेकर्ड बनाएको बजारले मंगलबार घटेर २९७५.८४ अंकमा अडिएको छ।
१३ दिनमा नै २ सयभन्दा बढी अंकले बजार घट्नु भनेको बजारले ओरालो यात्रा तय गर्नु हो तर बजार विश्लेषकहरु भने यो मान्न तयार छैनन्। उनीहरू बजार 'करेक्सन' मात्र भएको दाबी गरिरहेका छन्। गत साउन ७ गते १८.७५ अंक बढेर ३००४.३२ बिन्दुमा उक्लिएको थियो। तर त्यसपछिका २५ कारोबार दिनमा ३ हजार अंकको उचाईबाट ओरोलो यात्रामा लागेको हो।
मंगलबार सेयर बजार परिसूचक ६९.०५ अंकले ओरालो लागेको छ। यसरी नेप्से निरन्तर ओरालो लाग्नुमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति जिम्मेवार देखिन्छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि जारी गरेको मौद्रिक नीतिले सेयर धितो कर्जामा सिमा लगाएको छ। एकल ग्राहकले बढीमा विभिन्न बैंकबाट १२ करोड र एक बैंकबाट ४ करोड भन्दा बढी सेयर धितोमा कर्जा लिन नपाउने व्यवस्था गरेको छ। त्यस्तै सेयर धितो राखेर लिएको कर्जा पुनः सेयरमा नै लगानी गर्न नपाउने व्यवस्था गर्न लागेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भनेपछि बजार ओरालो लागेको हो।
आइतबार १५ अर्ब नाघेको कारोबार मंगलबार १३ अर्ब २५ करोड रुपैयाँमा सिमित भएको छ। यस दिन २२७ कम्पनीको कारोबार भएको थियो। मंगलबार विकास बैंक, जलविद्युत, वित्त र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
बजार ओरालो लागेपनि अरुण भ्याली हाइड्रोपावरको १ अर्ब १ करोड ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी हिमालयन डिस्टिलरीको ४९ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएको कर्णाली विकास बैंकको सेयरमूल्य सर्वाधिक ७.५८ प्रतिशत बढेको छ। त्यसैगरी, मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य यस दिन ६.०८ प्रतिशत बढेको छ। रु रु जलविद्युत कम्पनीको सेयरमूल्य यस दिन ९.९९ प्रतिशत घटेर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।