काठमाडौं- सरस्वती बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत सुनिता बगाले हरेक वर्ष क्याम्पसमा भर्ना गर्दा स्वास्थ्य बिमा शुल्क तिर्छिन्। तर, सुनितालाई त्यो बिमा शुल्क किन तिरेको थाहा छैन।
नेपाल कमर्स क्याम्पस काठमाडौंका देव दाहाल पनि स्वास्थ्य बिमा शुल्क तिर्छन्। स्वास्थ्य बिमा शुल्कका विषयमा उनी जानकार छैनन्।
नेपाल कमर्स क्याम्पसका दाहाल भन्छन्, ‘यो सुविधा क्याम्पसभित्र बिरामी हुँदा मात्रै यो सुविधा पाइने हो। क्याम्पसबाट बाहिर गएपछि पाइँदैन।’
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयकी शाखा अधिकृत सरस्वती गुरुङ भन्छिन्, ‘स्वास्थ्य बिमा सुविधा कलेजमा हुँदा भएको बिरामीलाई मात्र होइन, जहाँ बिरामी हुँदा पनि यो सुविधा लिन सक्नेछन्।
विद्यार्थीले भर्नामा बिमा शुल्क भने तिरेको हुनुपर्छ।’ गुरुङका अनुसार त्रिवि स्वास्थ्य उपचार कोषमा ५ करोड रुपैयाँ संकलन भएको छ।
त्रिविले विगत १७ वर्षदेखि देशभरका विभिन्न आंगिक क्याम्पसमा स्वास्थ्य बिमा शुल्क लागू गरेको छ। जसअनुसार विद्यार्थी, शिक्षक तथा कर्मचारीले स्वास्थ्योपचारमा ९० प्रतिशतसम्म छुट पाउँछन्।
२०५९ सालमा विद्यार्थी, कर्मचारी तथा शिक्षकलाई स्वास्थ्योपचारमा ५० प्रतिशत छुट दिने गरी सुरु गरिएको यो सुविधा हाल ९० प्रतिशत पुर्याइएको गुरुङले बताइन्। तर विद्यार्थीले यो सुविधाको प्रयोग गरेका छैनन्।
५० प्रतिशतसम्म छुटको व्यवस्था गर्दा त्रिविले विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बिमा सुविधा दिने गरेको थियो। ९० प्रतिशत छुटको व्यवस्था गरेपछि भने विद्यार्थी भर्नामा पाँच सय रुपैयाँ शुल्क लिइन्छ।
कसरी पाउने सुविधा ?
कोषकी शाखा अधिकृत गुरुङका अनुसार कलेजमा पढ्दै गरेको प्रमाण विद्यार्थी कल्याणकारी कोषमा पेस गर्नुपर्छ। कोषले त्यो प्रमाणका आधारमा उपचार गर्ने सम्बन्धित अस्पताललाई पत्र पठाउँछ। त्यसैको आधारमा अस्पतालले उपचारमा छुट दिन्छ। प्रक्रिया त्यति झन्झटिलो छैन।
किन वञ्चित छन् विद्यार्थी ?
त्रिविले स्वास्थ्य बिमा सुविधा दिन थालेको १७ वर्ष पुग्दा पनि पूर्ण रुपमा विद्यार्थीले यो सुविधा लिन नपाउनुमा विद्यार्थी, क्याम्पस प्रशासन र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयकै कमजोरी हो।
निर्देशनालयका निर्देशक गंगाबहादुर मगर भन्छन्, ‘विद्यार्थीले आफूले तिरेको शुल्कबारे ध्यान नदिँदा छुटमा वञ्चित भएका छन्। क्याम्पस प्रशासनले पनि यस विषयमा विद्यार्थीलाई जानकारी गराउनुपर्दछ।’
कतिपय क्याम्पसले भने विद्यार्थी भर्नामा स्वास्थ्य बिमा शुल्कै लिने गरेका छैनन्।
बिमा शुल्क तिर्न नपाएको गुनासो
केही क्याम्पसका विद्यार्थीले स्वाथ्योपचार बिमा शुल्क तिर्न नपाएको गुनासो गरेका छन्। क्याम्पस प्रशासनले विमा शुल्क लिने व्यवस्था नगर्दा आफ्नो अधिकार खोसिएको उनीहरूको भनाइ छ।
त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ३७ वटा क्याम्पसले मात्रै स्वास्थ्य बिमा शुल्क लिने गरेका छन्। शाखा अधिकृत गुरुङ भन्छिन्, ‘विद्यार्थी क्याम्पमा पढ्दै गरेको प्रमाण लिएर आउँछन्। तर, कलेजले भर्नामा स्वास्थ्य विमा शुल्क नलिँदा सुविधाबाट विद्यार्थी वञ्चित छन्।
त्रिचन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. सन्तबहादुर थापा विद्यार्थी संगठनको विरोधका कारण बिमा शुल्क लिन नपाएको बताउँछन्। विद्यार्थी संगठनले शुल्क वृद्धि भयो भन्दै स्वास्थ्य बिमा शुल्न नलिन क्याम्पस प्रशासनलाई दबाब दिएको उनको भनाइ छ।
निर्देशनालयले भने स्वास्थ्य बिमा शुल्क लागू गर्न सबै क्याम्पस प्रशासनलाई परिपत्र गरेको छ। कार्यकारी निर्देशक मगर भन्छन्, ‘निर्देशनालयले विद्यार्थी संख्याअनुसार क्याम्पसको बजेटबाटै शुल्क मिलान गर्न परिपत्र गर्दा पनि केही क्याम्पसले अटेर गरिरहेका छन्।’
कतिसम्मको उपचारमा छुट हुन्छ ?
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले विद्यार्थी बिमा बराबर १ लाखसम्मको उपचारमा ९० प्रतिशत बेहोर्छ। अन्य खर्च भने विद्यार्थीले नै बेहोर्नुपर्ने निर्देशनालयकी शाखा अधिकृत गुरुङ बताउँछिन्।
अपांगता भएकालाई निःशुल्क उपचार
त्रिविले अपांगता भएका विद्यार्थीका लागि बिमा शुल्क नलिने व्यवस्था गरेको छ। अपांगता भएका विद्यार्थीसँग क्याम्पसले भर्ना शुल्क लिन पाउँदैन। तर, केही क्याम्पसले त्यस्ता विद्यार्थीसँग शुल्क लिने गरेको गुनासो आउने गरेको गुरुङ बताउँछिन्।
कुन–कुन उपचारमा छुट ?
१. चस्मा र चस्माको लेन्स खर्च
२. स्वेच्छिक कस्मेटिक उपचार खर्च
३. दुर्घटनामा परेको बाहेक दाँतको उपचार खर्च
४.सुन्ने उपकरण खर्च
५. झैझगडामा परी घाइते भएको उपचार खर्च
६. कुनै प्रकारको पनि औषधि खर्च
७. नेपाल सरकारको नीतिअनुसार निःशुल्क उपचार गर्ने भनिएका स्वास्थ्योपचार खर्चका साथै नेपाल सरकारद्वारा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिमित व्यक्तिका लागि गरिने खर्च
८. सुत्केरी र गर्भवतीसम्बन्धी कुनै पनि खर्च
९.सम्बन्धित क्याम्पसमा भर्ना हुनुअगाडि लागेको दीर्घकालीन रोग भएको मेडिकल बोर्डबाट ठहर हुन आएमा त्यस्ता विद्यार्थी कोषको सदस्य भए पनि सम्बन्धित रोगको स्वास्थ्योपचार खर्च
१०. सामान्य स्वास्थ्य परीक्षण खर्च
११. सम्बन्धित अस्पतालबाहेक अन्य अस्पतालमा गराएको उपचार खर्च
कुन अस्पतालबाट सुविधा लिने?
विद्यार्थी, कर्मचारी तथा शिक्षकलाई स्वास्थ्य उपचारका लागि निर्देशनालयले अस्पताल तोकेको छ।
राजधानीमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीले त्रिवि शिक्षण अस्पतालबाट यो सुविधा लिन सक्नेछन् भने अन्य जिल्लामा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीले निर्देशनालय वा क्याम्पसमा जानकारी लिई उपचार गर्न सक्नेछन्।