शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ६१ प्रतिशत नेपालीमा बैंकिङ पहुँच, मोवाइल बैंकिङ प्रयोगकर्ता पाँच गुणा बढे

६१ प्रतिशत नेपालीमा बैंकिङ पहुँच, मोवाइल बैंकिङ प्रयोगकर्ता पाँच गुणा बढे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–  नेपालमा बैंकिङ सेवाको पहुँच ६०.९ प्रतिशत जनसंख्यामा पुगेको छ । 

नेपाल राष्ट्र बैंकले जारी गरेको असोजसान्तसम्म यो आंकडामा सहकारी र लघुवित्त क्षेत्रको पहुँच समावेश गरिएको छैन । 

त्यसैगरी तीन वर्षको अवधिमा मोवाइल बैकिङ प्रयोगकर्ताको संख्या पाँच गुणाले बृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार २०७३ मा १७ लाख ५५ हजार मानिसले मोवाइल बैकिङ सेवा प्रयोग गर्थे भने २०७६ सम्म आइपुग्दा यो संख्या ८३ लाख ४७ हजर पुगेको छ । 

यस अवधिमा इन्टरनेट बैकिङ प्रयोगकर्ताको संख्या पनि चार लाखले बढेको छ । २०७३ मा इन्टरनेट बैकिङ प्रयोगकर्ता पाँच लाखमात्र रहेकोमा २०७६ असोजसम्म यो संख्या ९ लाख पुगेको छ ।  

अन्य सेवाहरुको प्रयोगकर्ता बढे पनि शाखारहित बैंकिङ केन्द्रका सेवाग्राहीको संख्या भने घटिरहेको छ। २०७३ मा विभिन्न बैंकहरुका ८१२ वटा शाखारहित बैकिङ सेवाका सेवाग्राहीको संख्या २ लाख १३ हजार थियो भने २०७६ असोजसम्म  शाखा केन्द्र बढेर १५३० पुग्दा यसका सेवाग्राही जम्मा १ लाख ६८ हजार मात्र रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै ६३९ स्थानीय तहमा विभिन्न वाणिज्य बैंकहरुले शाखा विस्तार गरेका छन् । १४ वटा स्थानीय तहमा अझै पनि वाणिज्य बैंक पुगिसकेका छैनन् । 

२०७६ असोज मसान्तसम्ममा सुदुरपश्चिमका ६ स्थानीय तह, प्रदेश १ र गन्डकी प्रदेशका एक एक स्थानीय तहमा वाणिज्य बैंक पुग्न सकेका छैनन् । त्यस्तै कर्णाली प्रदेश, प्रदेश २ र प्रदेश ३ का दुई दुई स्थानीय तहमा अझै कुनै पनि बैंकका कार्यालय छैनन् । 

दुर्गमका आर्थिक कारोबार निकै कम हुने यी स्थानीय तहमा बैंकहरुले शाखा खोल्न मानिरहेका छैनन् । 

नेपाल राष्ट्र बैंकले २०७६ असार मसान्तसम्ममा नेपाल भर रहेका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउनका लागि वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । 

त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेहरुको संख्या पनि एक वर्षमा एक लाखले बढेको छ। 

२०७५ असारसम्ममा १३ लाख १ हजार जनाले कर्जा लिएकोमा २०७६ असार मसान्तसम्ममा यो संख्या १४ लाख पुगेको छ । 

त्यस्तै सबै वाणिज्य बैंकहरुमा गरी निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार पुगेको छ । गत असार मसान्तमा यो संख्या २ करोड ३५ लाख ४५ हजार थियो । 

राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागिला भन्छन्, “नेपालमा वित्तीय पहुँच तीव्र रुपमा बढ्दै गएको प्रमाण हो यो ।”
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्