काठमाडौं- यस वर्ष नेपालीहरुले महंगीको मार खेप्नुपर्ने देखिएको छ। चालू आर्थिक वर्षको सुरुवाती महिनादेखि नै मूल्यवृद्धिको मार खेप्न नेपाली जनता बाध्य भएको तथ्यांकले देखाएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नै ६.१६ प्रतिशतले महंगो भएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थको महंगी ६.५१ प्रतिशतले बढेको छ। गत वर्ष सोही समयमा ३.८६ प्रतिशतले मात्र महंगी बढेको थियो।
आयातमा निर्भर नेपालको अर्थतन्त्रमा डलरको मूल्यमा वृद्धि भएसँगै आयातित सामग्रीको मूल्यमा बढोत्तरी हुँदा महंगी बढेको राष्ट्र बैंकले जनाएको छ।
पछिल्लो समयमा भारतबाट भन्दा चीनबाट आयात बढिरहेको छ। जुन भारतबाट भन्दा चीनबाट ढुवानी महंगो पर्ने र त्यसको भार पनि सामग्रीमा नै पर्दा पनि सामानको मूल्यमा केही महंगो भएको अर्थविद्हरुको भनाइ छ। राष्ट्र बैकका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा चीनबाट नेपाल तर्फको आयात ३९.२ प्रतिशतले बढेको छ।
यस वर्षको पहिलो दुई महिनामा सबैभन्दा महंगो तरकारीमा राख्ने मसला भएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार गत दुई महिनामा मसलाको मूल्य १४.४८ प्रतिशले बढेको छ। फलफूलको मूल्य पनि १२.९७ प्रतिशतले बढेको छ भने तेस्रोमा तरकारी परेको छ। जसको मूल्य १०.९ प्रतिशत बढेको छ।
त्यसैगरी अन्नबाली तर्फ ३.९८ प्रतिशत, दाल र गेडागुडी तर्फ ४.९३ प्रतिशत, माछा तथा मासु ९.६ प्रतिशत, दुध उत्पादन र अण्डाहरु ४.२४ प्रतिशत, घ्यु र तेलजन्य ४.१६ प्रतिशतले महंगो भएको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तैगरी फलफूल १२.९७ प्रतिशत, चिनी र चिनीजन्य सामाग्रीको ५.०७ प्रतिशत, मादक पदार्थ बाहेकको पेय पदार्थ ४.४ प्रतिशत, मादक पदार्थ ८.९४ प्रतिशत, सुर्तिजन्य ९.४प्रतिशत र रेष्टुरेन्ट तथा होटलका खानाहरु ४.२३ प्रतिशतले महंगो भएको छ।
त्यस्तै अखाद्य तथा सेवाहरुमा लुगा र जुत्ता ६.८८ प्रतिशत, आवासमा ६.७९ प्रतिशत, घरायसी सामाग्रीमा ५.०९ प्रतिशत, स्वास्थ क्षेत्रमा ३.७९ प्रतिशत, यातायात क्षेत्र ४.१३ प्रतिशत, सञ्चार १.५९ प्रतिशत, मनोरन्जन र सस्ंकृति २.३५ प्रतिशत र शिक्षा ६.३९ प्रतिशतले महंगी बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४