व्यवसायको वातावरणमा सहजता अर्थात ‘ईज अफ डूइंग बिजनेस’ को र्यांकिंगमा नेपालले सुधार गरेको छ । विश्व बैंकले प्रत्येक वर्ष प्रकाशित गर्ने ‘ईज अफ डूइंग बिजनेस’ सूचकमा नेपाल १६ स्थानमाथि उक्लिएको हो ।
१९० देशहरुको सूचीमा अघिल्लो वर्ष ११० औं स्थानमा रहेको नेपाल यसवर्ष ९४ औं स्थानमा आइपुगेको छ ।
ऋण प्रवाह, अन्तरदेशीय व्यापार र ठेक्का सम्झौतामा नेपालमा पछिल्लो वर्ष सुधार भएको बैंकको अध्ययनले देखाएको छ ।
यद्यपि, नेपालमा व्यापार सुरु गर्न अझै झण्झटिलो रहेको, नेपालमा सम्पत्ति दर्ता तथा हस्तान्तरण कठिन रहेको पनि अध्ययन्ले देखाएको छ ।
व्यवसायमा सहजता अर्थात कुनै देशमा व्यवसाय शुरु गर्न कति सजिलो वा गाह्रो छ भन्ने जानकारी दिन विश्वबैंकले ‘ईज अफ डूइंग बिजनेस’ सूची जारी गर्छ ।
व्यवसाय शुरु गर्न कति समय लाग्छ, कुनै भवन बनाउनु छ भने त्यसका लागि इजाजत लिन कति समय लाग्छ, प्रक्रिया कस्तो छ, लगानीका लागि उपयुक्त वातावरण छ छैन जस्ता विषयमा अध्ययन गरेर बैंकले यो सूची जारी गर्छ ।
दक्षिण एशियाली देशहरुमध्ये यो सूचीमा भारत ६३, भुटान ८९, श्रीलंका ९९, पाकिस्तान १०८, मालदिभ्स १४७, बांग्लादेश १६८ र अफगानिस्तान १७३ औं स्थानमा छन् ।
यो सूचीको पहिलो नम्बरमा न्यूजिल्याण्ड, सिंगापुर दोस्रो र हङकङ तेस्रो नम्बर छन् ।
त्यस्तै डेनमार्क ४, दक्षिण कोरिया ५, अमेरिका ६, जर्जिया ७ र बेलायत ८ औं नम्बरमा छन् । उत्तरी छिमेकी चीन ३१ औं नम्बरमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४