काठमाडौँ - सेयर बजार परिसुचक (नेप्से)मा मंगलबार थोरै सुधार देखिएको छ। तर, यसदिन कारोबार रकम भने १६ करोड ५२ लाख रुपैयाँमा सिमित भएको छ। कुनैसमय २ अर्ब भन्दा बढीको कारोबार भएको सेयर बजार यो समयमा केही करोडमा सिमित हुन पुगेको छ।
विभिन्न कम्पनीहरुले धमाधम लभांश दिने निर्णय गरिरहेका छन्। यस्तो समयमा बजार बढ्नुपर्ने हो तर, ति कम्पनीहरुले लगानीकर्ताको अपेक्षा अनुसारको प्रतिफलको घोषणा नगर्दा लगानीकर्ताहरु उत्साहित नभएका हुन्।
इन्भेष्टर्स फोरका अध्यक्ष छोटेलाल रौनियारका अनुसार विभिन्न कम्पनीहरुले घोषणा गरेको लाभांस हेर्दा लगानीकर्ता उत्साहित हुने अवस्था छैन। यदी बैंकमा नै रकम राखिएको भए १३ प्रतिशत भन्दा बढी व्याज आउँथ्यो तर जोखिम मोलेर नै दोस्रो बजारमा लगानी गरेपछि केही राम्रो प्रतिफलको आशा लगानीकर्ताले गरेका हुन्छन्।
उनले आफूले लगानी गरेको साँवा नै नउठ्ने अवस्थामा थप लगानीको लागि लगानीकर्ता उत्साहित नभएको बताए।
मंगलबार बजार २.४० अंकले बढेर ११३४.७९ अंकमा उक्लिएको छ। तर कारोबार रकम भने १६ करोड ५२ लाख रुपैयाँमा समेटिएको छ। दिनभर एक सय ५५ कम्पनीको ६ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ।
पछिल्लो समय सूचीकृत भएका कम्पनीहरूले समयमा नवीकरण शुल्क नबुझाएका कारण उनीहरूको कारोबार नेप्सेले रोक्का गरेको थियो। यही कारण सबै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार हुन सकेन्।
यसदिन सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भयो। नविलको मात्रै एक करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार रकमकै आधारमा प्रभु बैंक दोस्रो भएको छ। प्रभुको मात्रै एक करोड तीन लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै एनआइसी एसियाले ९४ लाख रुपैयाँको कारोबार गरेको छ।
यसदिन सबैभन्दा बढी कमाउनेमा लक्ष्मी इक्वीटी फन्ड, हिमालय डिष्टिलरी, नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ता रहेका छन् भने गुमाउनेमा एभरेष्ट बैंक प्रमोटर सेयर, रिलायन्स फाइनान्स, सगरमाथा इन्स्योरेन्सका लगानीकर्ता रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४