काठमाडौं - नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार तत्काल सुरु गर्न धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई निर्देशन दिएको छ। बोर्डले बुधबार मार्जिन कारोबार गर्न स्वीकृती पाएका धितोपत्र दलाल व्यवसायीलाई छिटो भन्दा छिटो मार्जिन कारोबार सुचारु गर्न निर्देशन दिएको हो।
बोर्डले मार्जिन कारोबारको लागि विभिन्न २१ वटा ब्रोकर कम्पनीलाई अनुमति दिइसकेको छ तर अनुमति लिएर बसेका कम्पनीहरुले मार्जिन कारोबार सुरु नगरेको भन्दै चाँडो सुरु गर्नको लागि निर्देशन दिएको हो। मार्जिन कारोबार सुविधा संचालनका लागि छुट्टै हितग्राही खाताको व्यवस्था समेत भैसकेको छ।
अहिलेसम्म क्रिष्टल कन्चनजंघा सेक्युरिटिजले मात्र मार्जिन कारोबार सुरु गरेको छ। सो कम्पनीले गत मंगलबार देखि मार्जिन कारोबार सुरु गरिसकेको छ।
मार्जिन कारोबार नयाँ वित्तिय उपकरणको रुपमा रहेको र यो सँगै ब्रोकरहरुको कार्यक्षेत्र पनि विस्तार भएको बोर्डको दाबी छ। मार्जिन कारोबार सुविधाले लगानीकर्ताको हित संरक्षण गर्न तथा दोस्रो बजारमा कारोबार गर्नका लागि तरलता अभिवृद्धि गर्ने तथा बजार थप चलायमान हुने दाबी बोर्डले गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४