काठमाडौं– केही दशक अघिसम्म पनि नेपाली समाजमा अहिले जस्तो मदिरा खुलिसकेको थिएन । कथित उच्च जातिमा त मदिरा सेवन गर्नु अपराध जस्तै थियो । केही जनजातिहरुमा बाहेक खुलेआम मदिरा पिउने प्रचलन थिएन । तर, समय परिवर्तन भैसकेको छ । अब मदिरा सेवन गर्ने वा नगर्ने कुनै जाति विशेष वा बर्गसँग सम्बन्धित विषय रहेन ।
चाडपर्वका बेला मदिराको विक्री र सेवन ह्वात्तै बढ्ने गरेको छ । सबैभन्दा बढी मदिरा विक्री दसैंका बेला हुने गरेको व्यवसायीहरु बताउँछन् । लिकर एसोसिएसन अफ काठमाडौका अध्यक्ष गोविन्द बरालका अनुसार दसैंका बेला उपत्यकामा मदिराको बिक्री सामान्य दिनको भन्दा तीन गुणा बढी हुन्छ ।
पछिल्लो समय नेपालमा उच्च गुणस्तरका महंगा मदिरा सेवन गर्नेहरुको संख्या बढेको छ । योसँगै स्थानीय उत्पादनका सामान्य मदिराको विक्री कम भएको व्यवसायीहरु बताउँछन् ।
नेपालको कुल राजश्वमा मदिराको योगदान २२ प्रतिशत छ ।
वर्षेनी अर्बौ रुपैयाँको मदिरा विदेशबाट आयात हुन्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालबाट रु. २ अर्ब ५० करोड मूल्यको मदिरा आयात भएको थियो ।
विभागका अनुसार नेपालमा प्रति बोटल रु. पाँच लाख मूल्यसम्मको मदिरा आयात हुने गरेको छ ।
मदिरा व्यवसायी संघका अनुसार धेरै महंगा आयातित मदिरा सेवन गर्नेहरुमा अधिकांश उच्च ओहोदाका कर्मचारी, जग्गा दलाल, बैंकर, उद्योगी–व्यापारी र शेयर दलालहरु छन् ।
नेपालमा पाइने महंगा ब्राण्डका केही मदिरा
‘क्यामस क्यूभी ५.१५०’
फ्रान्सको कोन्याक कम्पनीले उत्पादन गरेको यो रक्सी नेपालमा बिक्री वितरण हुने सबैभन्दा महंगोमध्येको रक्सी हो । ७५० मिलिलिटरको एक बोतल क्यामस क्यूभी को बजार मूल्य रु. ४ लाख ९९ हजार ९५५ छ ।
अंगुरको बोक्राबाट ४५ वर्ष लगाएर तयार पारिने यो रक्सी एक लटमा करिब ४०० बोतलमात्रै उत्पादन गरिने व्यवसायीहरु बताउँछन् ।
लुई थर्टिन कग्न्याक
फ्रान्सेली राजा लुई १३ औंको नामबाट ब्राण्डिङ गरिएको यो मदिरा पनि विश्वभरका धनाड्यहरुबीच लोकप्रिय छ । यो मदिरा ७५० मिलिलिटरको एक बोतलकै साढे ४ लाख रुपैयाँ पर्छ ।
‘मास्टर कलेक्सन’
स्कटल्याण्डको जोनी वाकरले ३० वर्ष लगाएर उत्पादन गरेको ‘मास्टर कलेक्सन’ पनि अर्को महंगो रक्सी हो । यसको ७५० मिलिटिरको एक बोतलको बजार मूल्य रु. ४ लाख छ ।
रोयल सेल्यूट– ६२
बेलायतकी महारानी एलिजावेथको जन्मोत्सवको पार्टीमा राखिने रोयल सेल्यूट– ६२ पनि महंगो रक्सी हो । ७५० मिलिलिटरको एक बोतलको रोयल सेल्यूट– ६२ को बजार मूल्य रु. ३ लाख ३ हजार छ ।
आइरल स्काई
उत्पादनको ५० वर्षपछि बजारमा ल्याइने आइरल स्काई मदिरा एक बोतलको मूल्य नेपाली बजारमा १ लाख ५३ हजार रुपैयाँ छ ।
दरबारमार्गस्थित मदिरा पसल ग्रीनलाइन सेन्टरका अनुसार फ्रान्स र स्कटल्याण्डमा उत्पादित महंगा ब्राण्डका चिभास रिगल, एक्सट्रा एलिगेन्स, इभिनिङ मुड, सिङ्गल मार्ट, ब्लू लेभल, ग्रीन लेभल, गोल्ड लेभल, ह्वाइट लेभल लगायतका दर्जनौं महंगा ब्राण्डका मदिरा पनि नेपालमा पाइन्छन् ।
विश्व बजारमा पाइने महंगा वाइनहरु
१ डोमाइन रोमानी–कोंती
डोमेन रोमानी–कोंती संसारको महंगोमध्येको वाइन हो । इटालीमा उत्पादन हुने यसको एक बोतलको मूल्य करिब रु. २२ लाख पर्छ ।
२ डोमाइन लेरोए मुसिग्नी ग्राण्ड क्रु
बजारमा यो वाइनको एक बोत्तलको मूल्य करिब रु २२ लाख पर्छ ।
३ इगोन मुलर शार्झोफ बर्गर राइस्लिङ ट्रोकेनबीरेनाउस्लेस
जर्मनीको मोसेल क्षेत्रमा उत्पादित यो वाइन मुलर परिवारले सन् १७९७ देखि बनाउँदै आएको छ । यसको औसत मूल्य एक बोतलको रु. १५ लाख पर्छ ।
४ डोमेन जोर्जेस यन्ड क्रिस्टोफर रूमिए मुसिग्नी ग्राण्ड क्रु
यो वाइन एक बोतलको मूल्य करिब साढे १४ लाख पर्छ ।
५ जे एस टेरान्टेज मदेरा
पोर्चुगलमा बन्ने यो वाइन एक बोत्तलको औसत मूल्य करिब रु. ९ लाख ३६ हजार पर्छ ।
६ डोमेन दे ला रोमानी–कोंती मोंट्राशे ग्राण्ड क्रु
प्रत्येक वर्ष जम्मा २५० केस मात्र बजारमा आउने यो वाइनको औषत मूल्य करिब ८ लाख ९५ हजार रुपैयाँ छ ।
नेपालमा फ्रान्स, स्कटल्याण्ड, अमेरिका, अष्ट्रेलिया, स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली, साउथ अफ्रिका, भारत, चीनलगायतका दर्जनौं देशमा उत्पादन भएका रक्सी भित्रिने गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४