चितवन- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले अहिलेसम्मका कुनै पनि सरकारले विकासको काम गर्न नसकेको बताएका छन्। रत्ननगर उद्योग वाणिज्य सङ्घ र रोटरी क्लब अफ रत्ननगरले संयुक्तरूपमा आयोजित ‘चितवनको विकासको सम्भावना’ विषयक अन्तरक्रियामा उनले तीनै तहका सरकारले राष्ट्रिय आवश्यकताका योजनालाई प्राथमिकता दिएर काम गर्न नसकेको बताएका हुन्।
'हामीले बजेट बाँड्न सक्छौँ। विकास गर्न सक्दैनौँ। विदेश भ्रमणका लागि तत्कालै बजेट उपलब्ध हुन्छ,' राष्ट्रिय आवश्यकताको आयोजनाको काम गर्न कसैले तत्परता देखाइँदैन,' उनले भने।
उपाध्यक्ष पौडेलले सरकारले काम गर्न नसक्ने गरी बजेट ल्याउने भएका कारण विकासमा असफल हुने गरेको जानकारी दिए। 'सरकारले विनियोजन गरेको बजेट खर्च गर्नै सक्दैन भने अनि कहाँबाट आवश्यकताअनुसारको विकास हुन्छ,' उनले भने। विकासको गतिलाई अगाडि बढाउन विकास खर्च बढाउनुपर्ने उनको सुझाव छ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटीले उपाध्यक्ष पौडेलसमक्ष चितवनको विकासका लागि आवश्यक योजनाहरु प्रस्तुत गरेका थिए। उनले मझिमटार शक्तिखोर टनेल मार्ग, लोथर टिकौली चारलेन सडक, लोथर, राप्ती, पम्पा, लदरी र कयर खोला तटबन्ध, कालिकाको एक हजार सात सय ४१ बिघामा औद्योगिक मार्ग खैरहनी–४ कुनाघारी भुत्याहामा रामपुर कृषि क्याम्पसको स्थापना, लोथरदेखि पटिहानीसम्म निकुञ्ज क्षेत्रमा मेस फेनसिङ बाल, नारायणी नदीमा वैकल्पिक पुल, शहीद स्मृति कलेजको पूर्वाधार निर्माण लगायतका योजना प्रस्तुत गरेका थिए।
सङ्घका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ, जिल्ला आयुर्वेद अस्पतालका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, खैरहनी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपेन श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ज्ञानबहादुर बिसुराल, रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष तथा सङ्घका महासचिव निराजन खनाललगायतले बोलेका थियो।