काठमाडौं- नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँको नोट छाप्नको लागि रु १ अर्ब ४ करोड ४७ लाख खर्च गर्ने भएको छ।
अर्को वर्षको दशैलाई लक्षित गरी राष्ट्र बैंकले ३१ करोड थान हजारको नोट छाप्ने तयारी गरेको हो। एक हजारको नोट छाप्नको लागि प्रति नोट ३ रुपैयाँ ३७ पैसा खर्च लाग्नेछ।
छाप्न लागिएको हजारको नोटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’ को तस्विर हुने राष्ट्र बैंकले जनाएको छ। जुम्ल्याहा हात्ती अंकित हजारको नोट छाप्नको लागि चिनियाँ कम्पनीलाई दिने राष्ट्र बैंकले निर्णय गरिसकेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार हजारको नोटमा चितवनका जुम्ल्याहा हात्ती राम लक्ष्मणको फोटो राख्ने नेपाल राष्ट्र बैंकको प्रस्तावलाई अर्थमन्त्रालयले स्वीकृत गरीसकेको छ। आगामी साता जुम्ल्याहा हात्ती अंकित हजारको नोटको छपाइको प्रक्रियाका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरिने छ।
हाल प्रचलनमा रहेको हजारको नोटमा एउटा मात्रै हात्तीको तस्बिर अंकित छ। चितवन राष्ट्रिय निकुन्जमा भएका राम र लक्ष्मण अहिले ८ वर्षका भए। उनीहरुको तस्विर राखेर हजारको नोट छाप्दा फरक र आकर्षणका साथ ति हात्तीको प्रचार प्रसार हुने भएकोले सो तस्विर रोजिएको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४