काठमाडौं- ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले अवलोकनका लागि आउनेलाई प्रवेश शुल्कमा छुट दिएकाे छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा चिडियाखाना व्यवस्थापन समितिले प्रवेश शुल्कमा छुट दिने निर्णय गरेको हो ।
चिडियाखानाका सूचना अधिकारी लिना चालिसेका अनुसार १२ वर्ष उमेरसम्मका बालबालिकालाई यस समयमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
बिहीबार, शुक्रबार र शनिबार तीन दिन १२ वर्ष भन्दा माथिका सबै स्वदेशी र विदेशी नागरिकबाट रु ५० शुल्क लिइने भएको छ । अन्य समयमा चिडियाखानाले सर्वसाधारणबाट रु १५०, विदेशीबाट रु ७५० र विद्यार्थीबाट रु ९० शुल्क लिने गरेको छ ।
हाल दैनिक झण्डै पाँच हजार व्यक्ति अवलोकनका लागि आउने गरेको सूचना अधिकारी चालिसेले जानकारी दिइन् । चिडियाखानामा १२७ प्रजातिका एक हजार दुई १९ जीवजन्तु छन् ।
चिडियाखानाले गत आर्थिक वर्षमा अवलोकन गर्न आउनेहरुबाट रु १४ करोड आम्दानी गरेको थियो । अघिल्लो आवमा अवलोकनकर्ताबाट रु १२ करोड आम्दानी भएको थियो । गत आवामा स्वदेशी र विदेशी गरी एक लाख व्यत्तिले चिडियाखानाको अवलोकन गरेका थिए ।
एक वर्षअघि भित्र्याइएको ‘रेड पाण्डा’ र ‘रिङटेल्ड लिमर’ अहिले भिडियाखानाका मुख्य आकर्षणका रुपमा रहेका छन् । पछिल्लो समय चिडियाखानाले जनावरलाई राख्न नयाँ घर बनाउने काम तीव्ररुपमा अघि बढाएको चालिसेले जानकारी दिइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४