शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नागरिक लगानी कोषमा सर्वसाधारणले पनि रकम जम्मा गर्न पाउने

नागरिक लगानी कोषमा सर्वसाधारणले पनि रकम जम्मा गर्न पाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - अबदेखि सर्वसाधारण जनताले पनि नागरिक लगानी कोषमा रकम जम्मा गर्न पाउने भएका छन्।
 
नागरिक लगानी कोषले बिहीबार ‘नागरिक बचत बृद्धि कार्यक्रम’ सार्वजनिक गरेको गर्दै अब सर्वसाधरण नेपाली जनताले पनि मासिक ५०० रुपैयाँ र सो भन्दा बढी बचत कोषमा जम्मा गर्न सक्ने बताएको छ।
 
यसअघि कोषका कार्यक्रमहरु कर्मचारी केन्द्रीत रहेको थियो। तर अब कोषको दायरा फराकिलो पारी कोषमा जनसहभागिता व्यापक बनाउन यस्तो कार्यक्रम ल्याइएको कोषले जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै कोषका कार्यकारी निर्देशक रमण नेपालले केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालमा करिब ७१ लाख श्रमशक्ति आयमूलक रोजगारीमा संलग्न रहेको र त्यसमध्ये १५ लाख मानिस समाजिक सुरक्षा सहितको बचत कार्यक्रममा संलग्न रहेको बताउँदै ५६ लाख रोजगार श्रमशक्ति उक्त बचत कार्यक्रमको दायरा भन्दा बाहिर रहेकाले उनीहरुलाई लक्षित गरी सो कार्यक्रम सार्वजनिक गरिएको बताए।
 
सो कार्यक्रममा सहभागी हुने नागरिकले निश्चित अवधिसम्म बचत गर्ने र पछि 'पे एज यु गो' को आधारमा पेन्सन योजनामा रुपान्तरण गर्ने नेपालले जानकारी दिए। यस योजनामा सहभागी भई २ वर्षसम्म नियमित बचत गरेपछि बचतकर्तालाई जम्मा रकमको ८० प्रतिशतसम्म सहभागी सापटी कर्जा र २ वर्षसम्म बचत गर्ने बचतकर्ताहरुलाई धितोमा आधारित आवास, सरल एवं शिक्षा कर्जा सस्तो व्याजमा उपलव्ध गराइने कोषले जनाएको छ।
 
यसका अतिरिक्त सहभागीहरुलाई निश्चित मापदण्डको आधारमा दुर्घटना बीमा, औषधी उपचार बीमा, मृत्यु संस्कार खर्च र सुत्केरी खर्च जस्ता समाजिक सुरक्षाका सुविधासमेत समावेश गरिने कोषको दाबी छ।
 
कोषले हाल कर्मचारी बचत बृद्धि, नागरिक एकांक योजना, लगायतका विभिन्न बीमा कोषहरु समेत गरी कुल ११ ओटा योजनाहरु प्रभावकारी रुपमा व्यवस्थापन गर्दै आइरहेको छ। कोषले २०७६ आषाढ मसान्तसम्ममा कुल १३१ अर्ब बचत परिचालन गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्