शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आरटीजीएस प्रणाली लागू, क्लिरियन्सको काम क्षेणभरमै हुने

आरटीजीएस प्रणाली लागू, क्लिरियन्सको काम क्षेणभरमै हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ- रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम (आरटीजीएस) को औपचारिक उद्घाटन भएको छ। गत बिहीबारबाटै कार्यान्वयनमा आएको सो सिष्टमको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपाल र लण्डनका मेयर पिटर एलष्टिनले संयुक्त रुपमा प्रणालीको उद्घाटन गरेका थिए। 

युके एड बेलायतको प्रावधिक तथा आर्थिक सहयोगमा नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणाली सुरुवात गरिएको हो। यो प्रणालीको औपचारिक शुरुवात माछपुच्छ्रे बैंक र इन्भेष्टमेन्ट बैंकले २०/२० करोडको भुक्तानी गरी गरेको हो।

आरटीजीएसमा नेपालका २८ वटै बैंकहरु आबद्ध भइसकेको छन्। यो प्रणाली लागू भएपछि भुक्तानीको लागि झन्झट व्योहोर्न पर्दैन। यो नेपाल राष्ट्र बैंकको १३ वर्षदेखिको कार्यक्रम हो।

आरटीजीएसको उद्घाटन गर्दै गभर्नर डा.नेपालले अब चेक क्लियरिङ गर्नको लागि समय र खर्च दुवै नलाग्ने बताए। साथै उक्त प्रणालीले सम्पत्ति शुद्धीकरण निवारणको लागि ठूलो योगदान दिन सक्ने बताए। उनले यो कार्यक्रमका लागि युके एड र राष्ट्र बैंकले ठूलो मेहनत गरेको र यो प्रणाली लागू भएसँगै नेपालको आर्थिक क्षेत्रमा हलचल हुने पनि दाबी गरे। 

डा.नेपालले भुक्तानी प्रणालीको आरटीजीएस मुटु नै भएको बताउँदै प्रत्येक भुक्तानीको सुरक्षाको  सुनिश्चिता हुने पनि दाबी गर्दै यसदिन नेपाल राष्ट्र बैंकको भूक्तानी प्रणालीको नयाँ युग नै भएको बताए। 

त्यसैगरी उनले साइवर सेक्युरिटीको समस्या विश्वभरमा नै भएको दाबी गर्दै साइबर सेक्युरिटीमा पनि नेपाल राष्ट्र बैंक युकेएड सक्षमसँग मिलेर काम गर्न तयार रहेको बताए। 

कार्यक्रममा लण्डनका मेयर पिटर एलष्टिनले बेलायतको नेपालसँगको सहकार्य वर्षौँको रहेको र यो अझै मजवुत बन्दै गएको बताए। उनले नेपालको अर्थतन्त्र विस्तारै मजवुद बन्दै गएको बताउँदै नेपालमा पनि विदेशी लगानी आइरहेको र यसले अर्थतन्त्रमा राम्रो योगदान दिइरहेको बताए। 

राष्ट्र बैंकका अनुसार हाल २ लाखभन्दा बढीको कारोबारलाई ऐच्छिक बनाइएको छ, भने २० लाखभन्दा बढीको कारोबारमा अनिवार्य यस प्रणाली मार्फत् भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ। यस प्रणालीबाट कारोबार गर्दा प्रति कारोबार १० रुपैयाँ शुल्क लाग्ने बताइएको छ।

भुक्तानी गर्ने खातावालाले अर्को बैंकको खाता नम्बर तोकेर भुक्तानीको लागि आदेश दिनेवित्तिकै अर्को खातामा रकम जाने छ। 

केन्द्रीय बैंकले पहिलो चरणमा वाणिज्य बैकहरूलाई आरटीजीएस प्रणाली अनिवार्य गरेको छ। आगामी पुसदेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागू गर्ने राष्ट्र बैंकको योजना छ। यो योजना सन् २०१४ जुलाई १० देखि नै नेपाल पेमेन्ट सिष्टम लागू भएदेखि नै सुरु भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्