बहुप्रतिक्षित नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उदघाटन् गरेका छन् ।
पाईपलाईन उद्घाटनसंगै नेपाल आयल निगमले मंगलबारदेखी लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई दुई रुपैयाँ घटाएको छ ।
पाईपलाईनको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरवार र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको हैदराबाद हाउसबाट स्विच थिचेर उद्घाटन गरेका हुन् ।
दुई प्रधानमन्त्रीले स्विच थिचेपछि अमलेखगञ्जस्थित आयल निगमको डिपोमा तेल खसेको थियो ।
दिल्लीस्थित प्रधानमन्त्री मोदीको कार्यालय, सिंहदरबारस्थित प्रधानमन्त्री ओलीको कार्यालय र मोतिहारीस्थित इण्डियन आयल कर्पोरेशनको डिपो तथा अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोलाई प्रविधिमार्फत जोडेर भिडियो कन्फरेन्स पनि गरिएको थियो ।
यद्यपि, अमलेखगञ्ज डिपोमा भने प्राविधिक त्रुटीका कारण उदघाटन समारोहको प्रत्यक्ष प्रशारण हुन सकेन् ।
पाइपलाइनमा इन्धन पहिलेदेखि नै भरिएर राखिएको छ थियो । पाईपलाईनबाट आएको तेललाई बोत्तलमा राखेर भारतिय आयल कर्पोरेशनका कार्यकारी निर्देशक जेपी सिन्हाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई हस्तान्तरण गरेका थिए ।
पाईपलाईनको फाईदा
पाइपलाइनबाट इन्धन आएपछि सबैभन्दा ठूलो उपलब्धि स्थलमार्ग अवरुद्ध हुँदा पनि ईन्धनको आपूर्ति रोकिने छैन ।
अहिले नेपालका लागि आवश्यक कुल इन्धनमध्ये करिब ७० प्रतिशत भारतको बरौनीस्थित डिपोबाट ट्यांकरमा अमलेखगञ्जको डिपोसम्म ल्याईन्छ । दैनिक करिब चार हजार किलोलिटर इन्धन ढुवानीका लागि करिब ३०० वटा ट्यांकरको प्रयोग हुन्छ । पाइपलाइनबाट इन्धन आएपछि इन्धन ढुवानीमा वार्षिक करिब रु ५० करोड बचत हुने निगमले जनाएको छ ।
निगमले ढुवानी गराउँदा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा ट्यांकर व्यवसायीलाई उपलब्ध गराउँदै आएको छ । पाईपलाईन संचालनमा आएपछि इन्धन चोरी, चुहावट र मिसावटजस्ता घटना पनि रोकिने बताइएको छ ।
भारत सरकारको सहयोगमा करिब १६ महिनाअघि मोतिहारी–अमलेखगञ्ज पाईपलाईन विस्तारको काम सुरु गरिएको थियो । कुल ६९.७ किलोमिटर लम्बाई रहेको मोतिहारी–अमलेखगञ्ज
पाईपलाईनको विस्तारमा भारत सरकारले तीन अर्ब २४ करोड भारतीय रुपैया खर्चिएको छ । मोतिहारीबाट रक्सौलसम्म ३३.७ र रक्सौलदेखी अमलेखगञ्जसम्म ३६.२ किलोमिटर दुरी छ ।
आयोजना आरम्भका क्रममा कुल लागतको ७० प्रतिशत भारतले र ३० प्रतिशत नेपालले ब्यहोर्ने भनिए पनि पछिल्लो समय सबै रकम भारत सरकारले खर्च गरेको हो ।
सुरुवातमा आयोजनाको कुल लागत २ अर्ब ७५ करोड भारतिय रुपैयाँ रहे पनि बाराको जीतपुर, परवानीपुर र पर्साको रजत जयन्ती चोकमा घरटहरा भत्काउन स्थानीयले नमानेपछि अत्याधुनिक मेसिनबाट जमिनमुनि गहिरो खाडल बनाई पाईप विस्तार गर्ने क्रममा ४९ करोड भारतीय रुपैयाँ थप लागेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४