पोखरा- पोखरास्थित मनिपाल शिक्षण अस्पतालको सेयर बतास अर्गनाइजेसनले खरिद गरेको छ। खरिदका लागि सिक्किमको मनिपाल ग्रुपसँग बतास अर्गनाइजेसनले सम्झौता गरेको हो।
बतास अर्गनाइजेसनका आनन्दराज बतासका नाममा ६० प्रतिशत र नारायण पौडेलका नाममा ४० प्रतिशत सेयर स्वामित्व रहने गरी अस्पताल खरिदबिक्रीको सम्झौता भएको हो।
३ अर्ब २२ करोड ६० लाख रुपैयाँमा अस्पताल/मेडिकल कलेज खरिदबिक्रीको सम्झौता भएको बताइएको छ। अस्पतालको ४० रोपनी जग्गा र ९७ करोड दायित्वसमेत बहन गर्ने गरी अस्पताल खरिदबिक्रीको सम्झौता भएको हो।
शुक्रबार भर्चुअल रुपमा सेयर खरिद सम्झौता भएको पौडेलले बताए। उनले पत्रकार सम्मेलन गरी थप जानकारी दिने तयारीमा आफूहरू रहेको उल्लेख गरेका छन्।
सन् १९९४ मा मणिपाल अस्पताल सञ्चालनमा आएको थियो। सरकारले सहयोग नगरेको भन्दै मनिपाल ग्रुप बाहिरिएको हो।
ग्रुपले सन् १९९२ मा ४९ वर्षे सम्झौता गरेको भएपनि २२ वर्ष सम्झौता अवधि बाँकी छँदै भारतीय पक्ष सम्पत्ति बिक्री गरी बाहिरिएको हो।
मनिपाल अस्पतालमा ७ सय ५० शय्या छन्। प्रतिवर्ष १ सय जनालाई एमबिबिएस अध्यापन गराउने अनुमति पाएको कलेजले अब बीडीएसलगायतका कोर्स पनि थप गर्ने बतास पक्षको भनाइ छ।