एजेन्सी- न्यूजील्याण्डका सभामुखको एउटा भिडियो अहिले सोशल मिडियामा भाइरल भइरहेको छ । जसमा उनले एक जना शिशुलाई बोतलबाट दूध खुवाउँदै गरेको देखिन्छ ।
यो भिडियो र तस्वीरको विश्वभरका करोडौं मानिसहरुले प्रशंशा गरिरहेका छन् ।
भएको के थियो भने, न्यूजील्याण्डका पुरुष सांसद तमेती कोफे गत बुधबार आफ्नो एक महिनाको शिशुलाई लिएर संसद गएका थिए ।
शिशु स्याहारको विदा सकिएपछि छोरालाई काखमा बोकेरै संसद बैठकमा सहभागी भएका कोफेले संसदमा आफ्ना भनाई राखिरहँदा उनको छोरा रुन थाल्यो ।
त्यसपछि सभामुख ट्रेभर मेलार्डले शिशुलाई आफ्नो काखमा राखेर बोत्तलको दूध खुवाएका थिए । त्यसबेला सभामुख र अन्य सांसदहरुले तमेती परिवारलाई नयाँ सदस्य प्राप्त भएकोमा बधाई दिएका थिए ।
सभामुख मेलार्डले भने आफूले शिशुलाई दूध खुवाउँदै गरेको फोटो सामाजिक सञ्जालमा शेयर गर्दै भनेका छन्, ‘आज एउटा भीआईपी मेरो कुर्सीमा बसेको छ ।”
यसअघि पनि विश्वका विभिन्न देशहरुमा नेताले आफ्ना शिशुलाई संसदमा लगेर गएका छन् ।
सन् २०१७ मा संसदमा स्तनपान गराएपछि अष्ट्रेलियाकी सिनेटर लारिसा वाटर्स पनि चर्चामा आएकी थिइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४