काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका छन्। सर्वोत्तम सिमेन्टको सेयर खरिद–बिक्री विवादमा मुछिएपछि व्यवसायी ढकाल बोर्ड सञ्चालक समितिबाट हटेका हुन्।
ढकाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिका रुपमा बोर्ड सदस्यमा नियुक्त भएका थिए। सर्वोत्तम सिमेन्टकै सेयर खरिद प्रकरणमा मुछिएका नेप्से सीईओ चन्द्रसिंह साउदले हिजो मंगलबार राजीनामा दिएका थिए।
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, बोर्ड सदस्य ढकाल र नेप्से सीईओ साउदले आफ्नो पारिवारका सदस्यका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको पुष्टि भइसकेको छ।
प्रतिकित्ता ७५० रुपैयाँमा आईपीओ जारी गर्न लागेको सर्वोत्तमको सेयर उनीहरुले २५० रुपैयाँमा किनेका थिए। अर्थ मन्त्रालयले यो प्रकरणमाथि अनुसन्धान समिति बनाएर छानबिन गरिरहेको छ भने संसदको अर्थ समितिले छानबिन गरी दोषीमाथि कारबाही गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।