काठमाडौं– अब मोटर बाटो नपुगेका जग्गा धितो राखेर पनि ऋण लिन पाइने भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिमा भएका कार्यक्रमहरुको कार्यान्वयन गर्नको लागि एकीकृत निर्देशन जारी गरी गोरेटो बाटो भए पनि २० लाखसम्मको ऋण दिन मिल्ने व्यवस्था गरेको हो।
कुनै ऋणीले कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम शीर्षकमा २० लाखसम्म ऋण लिन चाहेमा मोटरबाटो नपुगेको जग समेत धितोको रुपमा राख्न पाइने छ।
यस्तो ऋणको माग गर्ने ऋणीलाई बैंक तथा वित्तीय संस्थाले सात दिनभित्र दिनुपर्नेछ, नदिएमा उनीहरुले कारण खुलाउनुपर्ने छ। यसअघि कुनै पनि बैंक तथा वित्तीय संस्थाले मोटरबाटो नभएको जग्गा धितोको रुपमा स्वीकार गर्दैनथे।
पछिल्लो समयमा कम्तीमा १३ फुटे मोटरबाटो भएको जग्गा मात्र धितोको रुपमा बैंक तथा वित्तीय संस्थाहरुले स्वीकार्ने र बाटो नपुगेको जग्गा धितोको रुपमा नस्वीकार्दा साना उद्यम गर्न चाहने ऋणीहरु सहकारी तथा व्यक्तिगत ऋण लिन बाध्य भएका छन्। नेपाल राष्ट्र बैंकले गरेको यो व्यवस्थाका कारण साना ऋणीहरुलाई फाइदा पुग्ने भएको छ।
त्यस्तै राष्ट्र बैंंकले कोभिडका कारण वित्तीय अवस्था र नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीलाई बैंक तथा वित्तीय संस्था आफंैले विश्लेषण गरी किस्ता रकम घटाइ भुक्तानी अवधि बढाइ दिन सक्ने भएका छन्। जसले गर्दा साना तथा जागिरे ऋणीहरुलाई थप सहज भएको छ। बैंकले यसरी किस्ता घटाइदिएको ऋणलाई पुनर्संरचना वा पुनर्तालिकीकरण नमानिने व्यवस्था समेत गरिएको छ।
त्यसैगरी राष्ट्र बैंकले कोभिडका कारण ऋण भुक्तानी गर्न नसकेकाहरुलाई २०७८ पुस मसान्तसम्म भुक्तानी म्यान थप गर्ने जिम्मा बंैकहरुलाई छाडिएको छ। २०७९ असारसम्म पाक्ने ब्याजलाई छुट्टै हिसाब मिलान गरी अर्को २ वर्षसम्म चार किस्तामा तिर्न पाइने व्यवस्था एकीकृत निर्देशन मार्फत गरिएको छ।