काठमाडौं- आज जेठ १ गते बुधबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
सरकारको कामकारबाहीलाई प्रतिपक्षी दलका सांसदले विरोध गर्नु समान्य मानिन्छ। तर सत्तागठबन्धनकै सांसदबाट सरकारको आलोचना हुन थालेपछि यसलाई गम्भीर रुपमा लिइन्छ।
चीन र अमेरिकाबीच जारी ‘व्यापार युद्ध’ को प्रत्यक्ष असर नेपालमा परेको छ। चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बाट नेपाललाई बाहिरन अमेरिकाले दबाब दिएको छ।
यसअघि भारत पनि बीआरआईका विषयमा चासो देखाउँदै असन्तुष्टि व्यक्त गरेको थियो। चीन बीआरआईको माध्यमले नेपाल र पाकिस्तानलगायतको मुलुकमा प्रवेश गरेको कुरा भारतले पनि रुचाएको छैन। चीनमा आयोजित बीआरआईको बृहत् कार्यक्रममा सहभागी भई राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल फर्किएलगतै अमेरिकी मन्त्रीले नेपाल भ्रमण गरी बीआरआईमाथि धावा बोलेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक ७८ लाख धरौटी बुझाएर रिहा भएका छन्। विशेष अदालत काठमाडौैंले पाठकसँग धरौटीवापत ७८ लाख रुपैयाँ माग गरेपछि उनी बैंक ग्यारेन्टीमा रिहा भएका हुन्। नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीपछि पाठक रिहा भएका हुन्। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य तथा न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले बुधबार पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी आज (बुधबार) स्वदेश फर्केका छन्। समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर प्रधानमन्त्री ओली आज साँझ स्वदेश फर्केका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तीन वटा विवादित विधेयक फिर्ता नलिए संसद् बैठक अवरुद्ध गर्ने भएको छ । बुधबार (आज) बसेको संसदीय दलको बैठकले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय सुरक्षा परिषद् विधेयक र राष्ट्रिय मानव अधिकार आयोग विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ। विधेयक फिर्ता नभए संसद् बैठक अवरुद्ध गर्नेसम्मका कार्यक्रम ल्याइने सांसद डिला संग्रौलाले बताइन् । उनले नेपाल समयसँग भनिन्, ‘विधेयक फिर्ता नभए कांग्रेस सशक्त रूपमा प्रस्तुत हनेछ।’
उद्योग विभागका कर्मचारीको सरुवाको विषयमा विवाद हुँदा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयमा हात हालाहाल भएको छ। उद्योग विभागको कर्मचारी सरुवामा मन्त्रालयबाट चलखेल भएको भन्दै कांग्रेस निकट कर्मचारीहरु मन्त्रालय पुगेका थिए।
नेकपा अध्यक्ष पुष्ढपकमल दाहालले बुधबार चार बजे चिनियाँ राजदूतलाई भेट्ने समय दिएका थिए। तर राजदूत उनको निवास खुमलटारमा पुग्दा प्रचण्ड थिएनन्। उनी युवा संघ नेपालको २९ औं स्थापना दिवस मनाउन राष्ट्रिय सभागृहमा प्रमुख अतिथि थिए। प्रमुख अतिथि भएपछि अन्तिममा बोल्ने परम्परा नयाँ होइन।
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो।
दार्चुलाको सदरमुकाम खलंगामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको छ। नेपाल विद्युत प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी उक्त लाइन बुधबारबाट संचालनमा ल्याएको हो। अब खलंगा नेपालकै विद्युत् प्रणालीमा आवद्ध भएको छ।
एक हप्ताअघि बुटवलको पाखापानीमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भयो। परीक्षा दिएर आफ्ना बुबासँग घर फर्कंदै गरेकी पुष्पा भण्डारी सवार स्कुटरलाई टिपरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गयो। आँखा अगाडि नै छोरीको मृत्यु देखेका बाबु घनश्यामसहित परिवारका सदस्य अहिले विक्षिप्त अवस्थामा छन्।
त्रिशूली-काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि शुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमाडौँको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो । परीक्षण अवधि लगातार तीन दिन (७२ घण्टा) चल्ने छ ।
मानवअधिकारकर्मी र पत्रकारले मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याएर स्वतन्त्र प्रेसमाथि कडाइ गर्न थालेको आरोप लगाएका छन्। उनीहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि यस्तै रबैया कायम रहे राजा ढालेका जनताले वर्तमान सरकार पनि ढालेरै छाड्ने बताए।
नेपाल दूरसञ्चार प्राधिकरणले तत्काल इन्टरनेट सेवा प्रदायकको तार नकाट्ने भएको छ । प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच मंगलबार साँझ सहमति जुटेसँगै तत्काल तार इन्टरनेटको तार नकाटिने भएको हो ।
साहसिक आरोही कामीरिता शेर्पाले २३ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ बजेर ५० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औँ पटक पाइला टेकेका आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विगतको नीति तथा कार्यक्रम र बजेटजस्ता विषयमा गल्ती भएको स्वीकारेका छन् । साथै उनले ती गल्तीहरु सच्याउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।
एकपछि अर्को विवादमा तानिँदै आएका सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले फेरि विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले घुमाउरो रुपमा पत्रकारलाई मृत्युदण्डसमेत हुनसक्ने धम्की दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण पूरा गरी आज (बुधबार) साँझ स्वदेश फर्किंदै छन्। साँझ ७ बजे ओली काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ। उनी नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्किन लागेका हुन्।
अछाममा ट्रकमा च्यापिएर सहचालकको ज्यान गएको छ। बुधबार बेलुका ४ बजेतिर पहञ्चदेवल नगरपालिका-४ बेल्खेतमा रहेको चेक पोष्टमा प्रवेशका लागि दर्ता गराउन ओर्लिने क्रममा टायरमा फसेपछि सहचालकको ज्यान गएको बताइएको छ।
डडेल्धुराको भागेश्वर गाँउपालिकाले स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याएको छ। यो जिल्लामै पहिलो पटक सुरु भएको हो।
१० खेलाडीमा समेटिएको भारतीय आई लिग च्याम्पियन मेनर्भा पन्जावसँग नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेलेको छ। एएफसी कप फुटबल अन्तर्गत एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा मनाङले पन्जावसँग १-१ को बराबरी खेलेको हो।
ललितपुरको चापागाउँमा सडक कालोपत्रेमा ढिलाइ भएपछि धुँवाधुलोबाट प्रभावित स्थानीय सडकमा उत्रेका छन्। स्थानीयको प्रदर्शन र धर्नाले दुईदिन देखि यो सडक अवरुद्ध भएको छ। स्थानीय निकाय तथा प्रशासनसँग वार्ता भए पनि अहिलेसम्म सहमति हुन सकेको छैन। सडक भत्काएको दुई वर्षसम्म पनि कालोपत्रे नभएपछि आक्रोशित स्थानीय सडकमा उत्रेका हुन्।
आठ दिनसम्म चल्ने लुभु जात्रा बुधबार सम्पन्न भएको छ। रातो मच्छिन्द्रनाथ र महालक्ष्मी महाभैरवको जात्रा सधैं एकै दिन सुरु हुन्छ। वैशाख शुक्ल अक्षय तृतीयादेखि ८ दिनसम्म यो जात्रा मनाइन्छ।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई कारबाही गर्न प्रहरीले केहि वर्षअघि ‘मापसे’ जाँच सुरु गर्यो। मापसे जाँचका क्रममा सयौं कारबाहीमा परे लाखौं रुपैयाँ जरिवाना गरेर असुल भयो। मापसे जाँचमा परेकाहरु विस्तारै सचेत भए र पछिल्लो पटक त्यो संख्यामा कमी आएको छ।
मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको कान्छु प्रदेशसँग प्रदेश नं ५ को सरकारले पर्यटन प्रवर्द्धन र पूर्वाधार निर्माणका लागि आवश्यक सम्झौता गरेको छ। दुवै देशका प्रान्तीय प्रमुखको उपस्थितिमा बुधबार बुटवलमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको प्रदेश नं ५ का मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए।
अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समुहद्दारा आगजनी भएको छ । मंगलबार मध्यराति मेयर पदम बोहोराले चढ्ने बा १ झ ३३९४ नम्बरको जीपमा अज्ञात समुहले आगजनी गरेको हो । कार्यालय प्राङगणमा राखिएको गाडी आगजनीबाट जलेर पुर्णरुपमा नष्ट भएको छ ।
आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे उक्त घटना भएको थियो । चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो ।
‘नासै छ्याँबा मनो ह्योल’ अर्थात् ‘गाउँहरु मध्येमा मनाङको गाउँ राम्रो’। अनि चेलीबेटीहरुलाई सम्बोधन गर्दै अर्को लाइन जोडिन्छ ‘हो रिमै जो’ । गुरुङ भाषाको यो पहिलो अन्तरासँगै सुरु हुने नेपथ्यको चर्चित गीत ‘नासै छ्याँबा’ अब म्यूजिक भिडियोमा उपलब्ध भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४