शुक्रबार, साउन २२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • स्पेसएक्सको महत्त्वाकांक्षी परीक्षण: उडिरहेको स्टारसिपलाई हावामै समात्ने प्रयास गरिने

स्पेसएक्सको महत्त्वाकांक्षी परीक्षण: उडिरहेको स्टारसिपलाई हावामै समात्ने प्रयास गरिने

 |  शुक्रबार, साउन २२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०८३

काठमाडौं- एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले यसै महिनाभित्र स्टारसिपको १४औँ परीक्षण उडान गर्ने तयारी गरेको छ। अगस्ट सकिनुअघि हुने यो परीक्षणमा पहिलोपटक स्टारसिपको माथिल्लो भाग ‘सिप’लाई प्रक्षेपण टावरमा जडित विशाल यान्त्रिक ‘चपस्टिक’ हातमार्फत हावामै समात्ने प्रयास गरिनेछ।

यदि यो परीक्षण सफल भएमा पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिमा ऐतिहासिक उपलब्धि हासिल हुने र भविष्यका अन्तरिक्ष अभियानको लागत तथा समय दुवै उल्लेखनीय रूपमा घट्ने विश्वास गरिएको छ। स्टारसिप दुई भागमा बनेको हुन्छ। माथिल्लो भागमा अन्तरिक्षयान ‘सिप’ र तल्लो भागमा ‘सुपर हेभी’ बुस्टर हुन्छ। दुवै जोडिएको प्रणालीको उचाइ ४०३ फिट रहेको छ भने सिपको मात्र लम्बाइ १७१ फिट छ।

दक्षिण टेक्सासस्थित प्रक्षेपण केन्द्रका दुई विशाल टावरमा रहेका ‘चपस्टिक’ हातहरू हालसम्म रकेट संयोजनका लागि प्रयोग हुँदै आएका थिए। अब भने उडान पूरा गरी फर्किने स्टारसिपलाई यही प्रविधिबाट हावामै समात्ने तयारी गरिएको हो।

स्पेसएक्सले यसअघि तीन फरक परीक्षण उडानमा बुस्टरलाई सफलतापूर्वक टावरबाट समातिसकेको छ। तर स्टारसिपको माथिल्लो भागलाई यसरी समात्ने प्रयास भने पहिलोपटक हुन लागेको हो। त्यसैले यो परीक्षणलाई विश्वभरका अन्तरिक्ष विज्ञहरूले चासोका साथ हेरिरहेका छन्।

१४औँ परीक्षण उडानमा नयाँ पुस्ताका स्टारलिङ्क ‘भि–३’ उपग्रहहरू पनि अन्तरिक्षमा पठाइनेछन्। यी उपग्रह हाल सञ्चालनमा रहेका स्टारलिङ्क उपग्रहभन्दा ठूला र बढी क्षमता भएका बताइएको छ।

यसअघि जुलाई २४ मा सम्पन्न १३औँ परीक्षण उडानमा २० वटा स्टारलिङ्क ‘भि–३’ उपग्रह उपकक्षीय परीक्षणका रूपमा पठाइएको थियो। अब ती उपग्रहलाई सञ्चालनयोग्य कक्षामा स्थापना गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

१३औँ परीक्षण उडान स्पेसएक्सका लागि सफल मानिएको थियो। उक्त उडानपछि स्टारसिपलाई हिन्द महासागरमा अवतरण गराइएको थियो। मस्कका अनुसार पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा स्टारसिपको ताप सुरक्षा कवच पूर्ण रूपमा सुरक्षित रहेको थियो। यही सफलतापछि कम्पनीले १४औँ उडानमा थप जोखिमपूर्ण परीक्षण गर्ने निर्णय गरेको हो।

स्पेसएक्सको हालैको वित्तीय विवरण सार्वजनिक कार्यक्रममा मस्कले ताप सुरक्षा कवचसम्बन्धी समस्या लगभग समाधान भइसकेको दाबी गरेका छन्। उनले सबै योजना अनुसार अघि बढे आगामी एक वर्षभित्र कम्पनी दैनिक कम्तीमा एउटा स्टारसिप प्रक्षेपण गर्न सक्ने अवस्थामा पुग्ने र भविष्यमा यो संख्या अझ बढ्न सक्ने बताएका छन्।

अन्तरिक्षयान पृथ्वीको वायुमण्डलमा फर्कँदा हावासँग हुने तीव्र घर्षणका कारण बाहिरी सतहमा हजारौँ डिग्री सेल्सियससम्म तापक्रम पुग्न सक्छ। यस्तो अवस्थामा ताप सुरक्षा कवचले अत्यधिक तापबाट अन्तरिक्षयानलाई जोगाउछ। विशेष तापरोधी पदार्थबाट बनेको यो कवचले भित्रका उपकरण र संरचनालाई सुरक्षित राख्ने भएकाले स्टारसिपलाई पटक–पटक प्रयोग गर्ने स्पेसएक्सको योजनामा यसको सफलतापूर्वक सुरक्षित रहनु अत्यन्त महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित: Aug 07, 2026| 09:01 शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्