सत्तापक्षकै सांसदको चेपुवामा प्रदेश सरकार

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/pradesh2.jpg

जनकपुरधाम – सरकारको कामकारबाहीलाई प्रतिपक्षी दलका सांसदले विरोध गर्नु समान्य मानिन्छ। तर सत्तागठबन्धनकै सांसदबाट सरकारको आलोचना हुन थालेपछि यसलाई गम्भीर रुपमा लिइन्छ।

यस्तै अवस्थाबाट अहिले प्रदेश २ सरकार गुज्रिरहेको छ। प्रदेश सरकारको कामकारबाहीका विषयमा विपक्षी दलमात्र नभएर स्वयं सरकारमा सहभागी दलहरुले आलोचना गर्न थालेको छ। मंगलबार र बुधबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलकासाथै सत्तागठबन्धनका राजपाका सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन्।

राजपाका प्रदेशसभा सदस्य बाबुलाल साहले सरकारले प्रतिपक्षीसँग गरेको भद्र सहमति किन कार्यान्वयन नगरेको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई घेरेका थिए। मुख्यमन्त्रीले प्रतिपक्षी दलसँग गरेको सहमति कार्यान्वयन नहुँदा प्रदेशसभा बैठक अवरुद्ध भएको उनको भनाइ थियो।

‘मुख्यमन्त्री आज आफ्नो गल्ती स्वीकार गरिरहनु भएको छ,’ साहले प्रश्न गरे,‘सरकार र प्रतिपक्षबीचको भद्र सहमति किन कार्यान्वयन भएन् ? सबै कुरा थाहा हुँदाहुँदै किन अघि बढ्नु भयो ?’

सरकार गठन भएको १४ महिना बितिसक्दापनि परिपक्वता देखाउन नसकेको आरोप लगाउँदै प्रदेशसभा सदस्य साहले सरकार निरिह बनेको बताए। ‘जनता आवास कार्यक्रममा प्रतिपक्षीलाई समावेश गराएर सरकारले आफ्नो निरिहता प्रदर्शन गरेको छ,’ साहले भने।

यसैगरी नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शेख रसिद अलीले प्रदेश सरकार असफल भइसकेको आरोप लगाए। सरकार चलाउने तरिका बिल्कुलै गलत रहेकोले सत्तारुढ दलसमेत सरकारको विरुद्धमा उत्रेकोले सरकार असफल भइसकेको पुष्टि भएको उनको भनाइ थियो। १५ महिनाको अवधिमा समेत प्रदेशको नाम र राजधानी तोक्न नसक्नेहरुलाई सरकारमा बस्ने कुनै हक नरहेको उनले बताए।

अन्य प्रदेशभन्दा प्रदेश २ मा शिक्षाको स्तर निकै कमजोर रहेपनि प्रदेश सरकारले यसलाई उकास्न कुनै कदम नउठाएको भन्दै प्रदेशसभा सदस्य अलीले सरकारको आलोचना गरे।

नेकपाका सांसद रामकुमार यादवले प्रदेशमा राष्ट्रियता र नागरिकताको अवस्था साह्रै गम्भीर रहेको बताए। २०६२/०६३ मा जन्मका आधारमा नागरिकता पाएका व्यक्तिहरुको सन्तानले नागरिकता पाउनुपर्ने भएपनि भारतीयहरुले धमाधम नागरिकता लिइरहेको दाबी गर्दै उनले यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टीका सांसद पारस साहले सरकारको बचाउ गरेका थिए। राजपा सांसद साहले उठाएको प्रश्नको जवाफ फर्काउँदै समाजवादी पार्टीका सांसद साहले जनता आवास कार्यक्रममा प्रतिपक्षीलाई समेत सहभागी गराएर सरकार निरिह नभइ सबैलाई सँगै लैजाने प्रयास गरेको बताए।

‘अधिकार पाउन प्रदेश सरकार संघर्ष गरिरहेको छ, अधिकार नपाउँदा कस्तो अवस्था हुन्छ,’ प्रदेशसभा सदस्य यादवले भने, ‘कर्मचारी नहुँदासमेत प्राप्त उपलब्धिलाई सरकार धैर्यतापूर्वक संस्थागत गर्ने प्रयास गरिरहेको छ। सरकारलाई सबैले धन्यवाद दिनुपर्दछ।’




प्रतिक्रिया