काठमाडौं- आज बैशाख १९ गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
सरकारले बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही भएरै छोड्ने दाबी गरेको छ। ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ताको विषयमा विभिन्न टीकाटिप्पणी चलिरहेको सन्दर्भमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उक्त प्रकरणमा सरकारको ‘पोजिसन क्लियर’ रहेको भन्दै तथ्य प्रमाणले दोषी देखिए कसैलाई पनि नछोड्ने बताए।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई बहुमत पु¥याएर प्रदेश सरकार बनाउन चुनौति दिएका छन्। अध्यक्ष प्रचण्डले प्रदेश २ मा नेकपा नेतृत्वमा सरकार बनाउने बेला आएको भनेपछि मुख्यमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो। प्रचण्डले प्रदेश सरकारले जनचाहना अनुरुप काम गर्न नसकेको भन्दै प्रदेश २ को सरकार ढाल्दै नेकपा नेतृत्वको सरकार बनाउने समय आइसकेको बताएका थिए।
प्रदेश २ को नामकरण र स्थायी राजधानीबारे सुझाव संकलन गर्न गठित आयोगले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ। प्रदेश नामकरण र स्थायी राजधानी तोक्नबारे किचलो भइरहँदा आयोगले मुख्यमन्त्री लालबाबु राउतलाई बिहीबार प्रतिवेदन बुझाएको हो।
एकीकरणको अन्तिम तयारीमा रहेको नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको एकीकरण प्रक्रियामा राजपा नेपाल पनि सामेल भएको छ। बिहीबार नयाँ शक्ति, फोरम र राजपा नेपालका नेताहरुबीच एकीकरणबारे त्रिपक्षीय वार्ता भएको छ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पहलमा नयाँ शक्ति र फोरमबीचको एकता प्रक्रियामा राजपाका साथै राष्ट्रिय जनमुक्ति पार्टीपनि सामेल भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन्। ओली मे ९ देखि १३ अर्थात वैशाख २६ देखि ३० गतेसम्म भियतनाम र १३ देखि १५ तारेखसम्म कम्बोडिया भ्रमण जान लागेका हुन्। भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले ती देशको भ्रमण गर्ने कार्यक्रम बनेको हो । परराष्ट्रमन्त्री ज्ञवालीले बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराएका हुन्।
बेइजिङमा आयोजित ‘बेल्ट एन्ड रोड फोरम’ को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्। राष्ट्रपति भण्डारीको भ्रमणमा हस्ताक्षर भएका धेरै जसो सम्झौता सामान्य औपचारिक अर्थमा मात्र सम्पन्न भएका छन्। कतिपय आर्थिक, प्राविधिक तथा सिमानामा हुने सुरक्षा सम्झौताहरु औपचारिक अर्थमा मात्र सीमित छन्। तर ‘पारवहन प्रोटोकल समझदारीपत्र’ मा हस्ताक्षर हुनुलाई भने ‘उल्लेखनीय उपलब्धि’ भएको टिप्पणी गरिएको छ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनमत प्राप्त गरेर बनेको वर्तमान सरकारको विरोधमा सडकमा प्रर्दशन गर्नु बेकारको विषय भएको बताएका छन्। नेपाल नेत्रज्योति संघ प्रदेश नं ५ को प्रथम कार्यशालाको भैरहवामा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले संविधानले निर्वाचन मार्फत प्राप्त जनमतको आधारमा संविधानसमेत संशोधन गर्ने अधिकारको सुनिश्चिता गरेको अवस्थामा विरोधकोलागि विरोध गरिनु गलत भएको बताए।
ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएको छ। उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन निर्माणमा स्थानीयले अवरोध पुर्याएउँदै टावर ढालेपछि ललितपुरमा लोडसेडिङ हुने सम्भावना बढेको हो।
नेपाली कांगेस ११औं महासमिति बैठकको निर्देशनअनुसार आगामी वैशाख २५ गते देखि ७७ जिल्लामा जागरण अभियान सुरु हुँदैछ। संघीय संरचनाअनुसार कांगे्रसले स्थानीय, प्रदेश तथा संघमा आफूलाई विस्तार गर्न भने बाँकी छ। संरचना र संगठन विस्तार नगरी हुन थालेको जागरण अभियान कतै अस्तव्यस्त त हुने हो कि भन्ने शंका उठेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी असार मसान्तबाट पेट्रोलियम पाइपलाइनबाटै पेट्रोलियम पदार्थ ल्याइने योजना बनाएको छ। मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बिहीबार बसेको बैठकमा निर्माणाधीन पेट्रोलियम पाइपलाइनको ८७ प्रतिशत काम सम्पन्न भइसकेको र आगामी असार मसान्तसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थ ल्याइने जानकारी गराइन्। उनले नेपाली बुलेटबाटै एलपी ग्यास ढुवानी गर्न आवश्यक तयारी गरिए पनि भारत सरकारबाट आवश्यक प्रमाणीकरण नभएका कारण ढिलाइ भएको बताइन्।
बर्डफ्लुका लागेर काभ्रेमा एकजनाको ज्यान गएको छ। स्वास्थ्य सचिव पुष्पा चौधरीले काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लुबाट मृत्यु भएको पुष्टि गरिन्। उनका अनुसार नेपालमा बर्डफ्लु पुष्टि भएको यो पहिलो घटना हो। ती युवक गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनको र्यालको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो।
सरकारले बर्ड फ्लूबाट डराइहाल्नु पर्ने अवस्था नरहेको बताएको छ। बर्ड फ्लूबाट एक जनाको मृत्यु भएपछि सर्वसाधारणमा त्रास फैलिएको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य सावधानी अपनाए रोगबाट बच्न सकिने बताएको छ। मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर बर्ड फ्लूबाट नेपालमा पहिलो पटक मानिसको मृत्यु भएको जानकारी दिएको छ।
भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउन लागेको आशङ्कामा त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ। सामुद्रिक आँधी २ सय किलोमिटर प्रति घण्टाको गतिमा आउन लागेको अनुमान मौसमविद्हरुले गरेका सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्।
केही दिनअघि भारतमा गएको ‘फानी’ आँधी बिस्तारै उत्तरपश्चिम दिशातर्फ बढेको बन्दै मौसमविद्हरूले सजग बन्न सुझाव दिएका छन् । जल तथा मौसम विभागका अनुसार यो प्रणाली शुक्रबार भारतको पूर्वी क्षेत्र ओडिसातिर मोडिनेछ । विभागले फानी नामक आँधी शुक्रबार अपराह्नपछि आउने भविष्यवाणी गरेको छ । उक्त आँधी नेपालतर्फ आउने सम्भावना नदेखिए तापनि नेपालको पूर्वी र मध्य हिमाली भूभागमा हावाहुरीसहितको वर्षा हुन सक्नेछ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि (शुक्रबार) सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
बेरोजगार यूवालाई आफ्नै सेवा व्यवसाय संचालन गर्न सहुलियत ब्याजदरमा उपलब्ध गराउन संचालित स्वरोजगार कोषको १ करोड ३६ लाख रुपैयाँ जोखिममा परेको छ । ४२ महिना भित्र कोषको रकम फिर्ता गर्नुपर्ने भएपनि स्थानीय तीनवटा सहकारी संस्थाले सहुलियत ब्याजदरको रकम लामो समयसम्म दुरुपयोग गरेका हुन् ।
बुधबार भैरहवाको तापक्रम ३९ डिग्री थियो। तातो लू चलीरहेको थियो। बजार सुनसान थियो। तर बुद्धपथमा तपतपी पसीना चुहाउदै अखलेश साहनी एकतारले बेल्चा चलाइरहेका थिए।
आमनागरिकको जिउधन रक्षा गर्न प्रहरीलाई हतियार थमाइन्छ । तर त्यै प्रहरीकै हतियार तस्करहरुले सजिलै खोस्न थालेका छन् । धनुषामा भएको पछिल्लो एक घटनाले प्रहरीले बोक्ने गरेको हतियार कति सुरक्षित भत्रे प्रश्न खडा गरेको छ । धनुषामा प्रहरीको हतियार खोसिएको छ र हतियार खोस्ने अरु कोहि नभएर तस्करहरु छन् ।
गर्मी सुरु भइसक्यो। प्रायः मानिसमा पसिना गन्हाउने समस्या हुन्छ। गर्मीमा शरीरबाट पसिना बग्नु सामान्य हो। कतिपयलाई काखी गन्हाउने समस्याले सताउँछ। पसिनाले काखी ओसिलो बनाउँछ। ब्याक्टेरिया बढ्छन्। अनि दुर्गन्ध आउँछ। यसले यात्रा होस् वा कार्यस्थलमा सँगै बस्नेलाई पनि सकस हुन्छ।
ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ। महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो। कुनकुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन भइरहेको महानगरले जनाएको छ।
बूढानिलकण्ठ स्कुलको नयाँ प्रिन्सिपल छनोटप्रति स्कुलका पूर्व विद्यार्थीले असन्तुष्टि जनाएका छन्। देशकै प्रतिष्ठित तथा देशभरका विद्यार्थी अध्ययन गर्ने स्कुलको प्रिन्सिपल छनोट पारदर्शी नभएको तथा राजनीतिक चलखेल भएको भन्दै पूर्व विद्यार्थीले असन्तुष्टि जनाएका हुन्।
बाजुराको हिमाली गाउँपालिकामा थाहा अज्ञात रोगका कारण दुई महिलाको ज्यान गएको छ। ज्यान जानेमा हिमाली गाउँपालिका-५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढाको बुधबार दिउँसो र नदापाटाकी ७५ वर्षीया हैकला भण्डारीको सोमबार दिउँसो ज्यान गएको हिमाली गाउँपालिकाका स्वास्थ्य इञ्चार्ज धर्मबहादुर बुढाले जानकारी दिए।
कैलालीको घोडाघोडी नगरपालिकामा रहेको एक जंगलमा दुई जनाको शव फेला परेको छ। मृत फेला पर्नेमा एक पुरुष र एक महिला रहेकी छिन्। नगरपालिका-३ मा रहेको कालिका सामुदायिक वनमा दुई जना मृत फेला परेका हुन्।
बुटवलमा टिप्परको ठक्करबाट एक परीक्षार्थीको ज्यान गएको छ। लु२ख १९०३ नम्बरको टिप्परको ठक्करबाट लु ४५ प ७२३४ नम्बरको स्कुटरमा सवार १९ वर्षीया पुष्पा भण्डारीको मृत्यु भएको हो। प्रहरीले टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएकाे छ।
‘वुमन्स च्याम्पियन्स लिग’ टी-२० क्रिकेटका लागि खेलाडी दर्ता सुरु भएको छ । आयोजकले बिहिबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै खेलाडी दर्ता प्रक्रिया सुरु भएको जनाएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४