तान्डब नृत्य प्रदर्शन नगर्न थापा र विप्लपलाई मुख्यमन्त्रीको आग्रह 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/karnali_cm.jpg

भैरहवा – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनमत प्राप्त गरेर बनेको वर्तमान सरकारको विरोधमा सडकमा प्रर्दशन गर्नु बेकारको विषय भएको बताएका छन्। नेपाल नेत्रज्योति संघ प्रदेश नं ५ को प्रथम कार्यशालाको भैरहवामा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले संविधानले निर्वाचन मार्फत प्राप्त जनमतको आधारमा संविधानसमेत संशोधन गर्ने अधिकारको सुनिश्चिता गरेको अवस्थामा विरोधकोलागि विरोध गरिनु गलत भएको बताए। 

उनले भने , ‘सडकमा ताण्डब नृत्य प्रदर्शनको कुनै अर्थ छैन। संविधानले जनमत मार्फत संविधान परिवर्तन गर्ने अधिकार प्रत्याभूत गरेको छ। कमल थापा जीहरुले जनमत लिएर राजतन्त्र ल्याउन सक्नुहुन्छ। नेत्र विक्रम चन्दहरुले जनमत लिएर एकदलीय शासन व्यवस्था ल्याउन सक्नुहुन्छ। यस्तो सजिलो र सहज उपाय हुँदा हँुदै किन सडकमा नाटक देखाउने?’

मुख्यमन्त्री पोखरेलले संविधानले जनमतको आधारमा संविधान परिवर्तन गर्ने अधिकार प्रत्याभूत गरेको बताउँदै सडकमा प्रदर्शन गरेर सरकारलाई असफल पार्ने सपना नदेख्न पनि दलहरुलाई चेतावनी दिए। 

मुख्यमन्त्री पोखरेलले मुलुकका ७ वटै प्रदेश मध्ये प्रदेश नं ५ मा आर्थिक वृद्धिदर तिब्र गतिमा भइरहेको दाबी गरे। उनले प्रदेश सरकारले आर्थिक समृद्धिको लागि विशेष योजनाका साथ काम गरिरहेको बताए। 

नेपाली जनताको प्रतिव्यक्ति आम्दानीको वृद्धिदर पनि विगतमा भन्दा उल्लेख्य बढेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले नेपालको आर्थिक विकासमा औपचारिक भन्दा अनौपचारिक क्षेत्रको योगदान महत्वपूर्ण भएको बताए। उनंले सरकारले स्वास्थ्य बीमा मार्फत जनताको स्वस्थ भई बाच्न पाउने मौलिक हकलाई प्रत्याभूत गरेको दाबी गरे।  

मुख्यमन्त्री पोखरेलले सरकारका राम्रा कामको प्रशंशा गर्ने बौद्धिक समाजको कमि भएको बताउँदैं विदेशीहरुले नेपालमा विकास नचाहेको टिप्पणी गरे। उनले अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधि नै आएर नेपाल जस्तो देशमा आर्थिक बृद्धि तिब्र गतिमा हुनु ठीक होइन भन्ने मनसाय राखेको प्रसंग उल्लेख गर्दै विदेशीहरुसमेत वर्तमान सरकारले गरेको विकासबाट अत्तालिएकोले सबै सजग हुनुपर्ने बताए। 




प्रतिक्रिया