आइतबार, असोज ११, २०८३

स्पेसएक्सको रकेटको भाग चन्द्रमामा खस्दै

 |  बुधबार, साउन २०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०८३

काठमाडौं- स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा छुट्टिएको भाग चन्द्रमामा ठोक्किने अनुमान गरिएको छ।

अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार करिब पाँच तले भवन बराबर आकार र कम्तीमा चार हजार किलोग्राम तौल भएको रकेटको माथिल्लो भाग करिब २.४३ किलोमिटर प्रतिक्षण (झन्डै ५ हजार ४०० माइल प्रतिघण्टा) को गतिमा चन्द्रमातर्फ अघि बढिरहेको छ। यो आज चन्द्रमा खस्ने अनुमान गरिएको छ।

यो रकेट सन् २०२५ को जनवरीमा अमेरिकाको फ्लोरिडाबाट दुई चन्द्र अवतरण यान बोकेर प्रक्षेपण गरिएको थियो। आफ्नो मुख्य जिम्मेवारी पूरा गरेपछि रकेटको माथिल्लो भाग अन्तरिक्षमै भौंतारिँदै पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षणको प्रभावका कारण बिस्तारै चन्द्रमातर्फ मोडिएको वैज्ञानिकहरूले बताएका छन्।

नासाका अनुसार यो रकेट चन्द्रमाको आइन्स्टाइन विवर नजिक ठोक्किने सम्भावना छ। ठक्करले चन्द्रमाको सतहमा नयाँ विवर बन्ने अनुमान गरिएको छ। यद्यपि यो घटना नाङ्गो आँखाले पृथ्वीबाट देख्न सकिने छैन। अत्याधुनिक दूरबिनको सहायता लिनेहरूले भने चन्द्रमाको सतहमा क्षणिक उज्यालो देख्न सक्ने सम्भावना रहेको खगोलविद्हरूले बताएका छन्।

वैज्ञानिकहरूले यस घटनालाई चन्द्रमाको संरचना र ग्रहहरूको विकासबारे अध्ययन गर्ने दुर्लभ अवसरका रूपमा लिएका छन्। सामान्यतया चन्द्रमामा ठोक्किने उल्कापिण्डको आकार र गति थाहा हुँदैन, तर यसपटक रकेटको तौल, आकार र गति पहिले नै थाहा भएकाले ठक्करपछि उड्ने धुलो र अवशेषको अध्ययनबाट महत्त्वपूर्ण वैज्ञानिक जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

नासाले चन्द्रमाको परिक्रमा गरिरहेको आफ्नो अनुसन्धान यान, दक्षिण कोरियाको दानुरी अन्तरिक्ष यान तथा अमेरिका महादेशका ठूला दूरबिनमार्फत यस घटनाको निगरानी गर्ने जनाएको छ। साथै, इच्छुक खगोलप्रेमीहरूलाई पनि दूरबिनमार्फत यो घटना अभिलेख गर्न आह्वान गरिएको छ। नासाले भने यस घटनाबाट पृथ्वीलाई कुनै खतरा नरहेको स्पष्ट पारेको छ।

प्रकाशित: Aug 05, 2026| 12:59 बुधबार, साउन २०, २०८३
प्रतिक्रिया दिनुहोस्