काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले घुम्ती ल्याब खरिदका लागि बजेट पास गराएर महानिर्देशक सञ्जीव कर्णका लागि कार खरिद गरेको पाइएको छ। महालेखपरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा घुम्ती ल्याका लागि बजेट पास गराएर हाकिमका लागि कार खरिद गरेको विषय उल्लेख छ।
घुम्ती ल्याब खरिदमा अनियमितता भएको देखिएपछि विभागका तत्कालीन महानिर्देशक सञ्जीव कर्णसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा परेपछि मुद्दाको टुङ्गो नलागेको भन्दै विभागले घुम्ती ल्याब सञ्चालनमा ल्याएको छैन।
आर्थिक वर्ष २०७६/०७७ मा भ्यान खरिद गर्ने भन्दै बजेट पास गराएर कार खरिद गरेको महालेखापरीक्षक कार्यालयको ५८औं प्रतिवेदनले उल्लेख गरेको छ। २ वटा भ्यान खरिदका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको र विनियोजित रकममध्ये विभागले ६१ लाख ४६ हजार रूपैयाँमा हाकिमका लागि एउटा कार खरिद गरेको छ। त्यस्तै २६ लाख ८५ हजार रुपैयाँको अर्को एउटा पिकअप खरिद गरेको छ।
‘खाद्य उद्योग निरीक्षण गर्न भ्यान खरिद गर्ने कार्यक्रम स्वीकृति भएकोमा कार खरिद गरेकोले स्वीकृति कार्यक्रम एवं लक्षित उद्देश्य भन्दा फरक प्रकृतिको सवारी साधन खरिद गर्ने पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्दछ,’ महालेखाको ५८औं प्रतिवेदनमा भनिएको छ।