काठमाडौं- आज बैशाख ०२ गते सोमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरीमा।
काठमाडौंमा असिनासहितको ठुलो पानी परेको छ। एक्कासी आएको असिनापानीका कारण कामविशेषले बाहिर निस्केकाहरु अलपत्र परेका छन्।
काठमाडौंको चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ परेका छन्। नगपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ मा सोमबार अपरान्ह विप्लव समूहका कार्यकर्तालाई लक्षित गर्दै गोली प्रहार भएको छ।
केही दिनयता सूर्यको माथिल्लो भागमा चुम्बकीय क्षेत्र गहन हुन गई दाग देखिएको ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ले जनाएको छ। सूर्यमा यस्तो हुँदा सामान्य अवस्थाभन्दा चुम्बकीय गतिविधि हजार गुणा बढी हुन गई उक्त स्थान अरु भागभन्दा अँध्यारो हुने गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हरेक क्षेत्रमा असफल भएको आरोप लगाएको छ। २०७६ सालको शुभकामना आदानप्रदानका लागि सोमबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका गतिविधिले जनातामा चरम निरासा छाएको बताए।
भारतीय चुनाव आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टीकी प्रमुख मायावतीको चुनावी प्रचारप्रसारमा रोक लगाएको छ।
नयाँ वर्षको पहिलो दिन सोमबार धितोपत्र बजारमा शेयरको मूल्यमा ४.७ विन्दुले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक करीब पाँच अङ्कले वृद्धि भई एक हजार १८८.७१ विन्दुमा पुगेको छ।
सशस्त्र प्रहरी बल नेपालले सीमानाकामा सुरक्षा बढाउने भएको छ। प्रभावकारी सिमा सुरक्षाका लागि बोडर आउट पोस्टमा सर्भिलेन्स क्यामराद्वारा निगरानी बढाउने, भीभीआईपीको सुरक्षा निगरानी ड्रोनबाट र संगठनमा बढुवा गर्दा कार्यसम्पादन मूल्याङकन इन्टरनेटबाट भर्न मिल्नेलगायतका महत्वपूर्ण योजना अगाडि सारेको छ। सशस्त्र प्रहरी बलले सोमबार पत्रकार सम्मेलन गरी मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य गरेर काम गरिरहेको बताएको हो।
पूर्वराजा ज्ञानेन्द्र शाहको समेत लगानी रहेको नेपालगन्जस्थित सोल्टी होटलको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन्।
राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ।
गएको ०७५ सालमा २२ घटना कर्णाली प्रदेशका लागि महत्त्वपूर्ण भए। भौगोलिक विकटताले जेलिएको कर्णालीमा कुनै न कुनै रुपमा २२ घटनामा राज्यको नजर पुग्यो। राज्यको प्राथमिकतामा नपरे पनि तीनै २२ घटना वरिपरि ०७५ साल पूरा भयो।
चार दिन अघि बेपत्ता भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का १९ वर्षीय युवक सुविल बडायकको शव फेला परेको छ।
सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न समिति गठन गरेको छ ।
नेकपा पंक्तिमा निकै आशा गरिएको अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको चन्द्रागिरी वार्ता हात्ती आयो हात्ती आयो फुस्सा साबित हुने लक्षण देखिएको छ। वरिष्ठ नेता माधवकुमार नेपाललाई सहभागी नगराइकोले वार्ता औचित्यहीन भएको नेकपाका एक नेताले बताए।
नयाँ वर्षको दोस्रो दिन मिथिलाञ्चलमा सोमबार हर्षोल्लासका साथ जुडशितल पर्व मनाइँदै छ । गर्मी मौसममा शितलता पाउन शितला माताको पूजाअर्चना गरी शुद्ध माटो र पानी एक अर्कामाथि छर्केर जुडशितल मनाउने परम्परा रहेको छ ।
कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन् ।
बागलुङ नगरपालिका–४ कुडुँले निवासी ६६ वर्षीय उमानाथ शर्मा पाँच दिनदेखि बेपत्ता भएका छन् ।
बाजुरामा बिहानै भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथीवी केन्द्रबिन्दु बनाएर सोमबार बिहान स्थानीय समयानुसार ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।
सलमान खान र कटरीना कैफ अभिनित फिल्म ‘भारत’ यो वर्ष इदमा रिलिज हुनेछ। यसलाई २०१९ का ठूला फिल्ममध्येका एक फिल्मको रुपमा लिइएको छ। अली अब्बास जफरले भारतको निर्नेशन गरेका छन्। भारतमा सलमान खान फरक–फरक लुकमा देखिने छन्। भारतमा रहेका उनका थुप्रै लुकसमेत बाहिर आएका छन्। यतिवेला उनको अर्को लुक सार्वजनिक भएको छ। जसमा उनलाई वृद्ध अवस्थामा रहेको देख्न सकिन्छ।
कलाकार एमी ज्याक्सन गर्भवती बनेको विषय यतिबेला चर्चामा छ। एमीले बेबी बम्प देखाएर सामाजिक सञ्जाल फेसबुकमा राखेको तस्बिर भाइरल बनिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४