काठमाडौं- आज चैत ०८ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
‘मुलुकी संहितासम्बन्धी केही नेपाल कानुनलाई संशोधन गर्न बनेको विधेयक’ का केही दफा संविधानको मर्म र भावनाविपरीत हुनेगरी आएको भन्दै संशोधन गर्न माग गरिएको छ। प्रतिनिधिसभाको ‘कानून, न्याय तथा मानव अधिकार समिति’ को शुक्रबार बसेको बैठकमा बोल्ने सांसदहरुले केही दफा तत्काल सच्याउन सरकारसँग माग गरेका हुन्।
भृकुटीमण्डपमा शुक्रबारदेखि पुष्प मेला सुरु भएको छ। मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले एक समारोहकाबीच मेलाको उद्घाटन गरिन्।
निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टको बहस सकिएको छ। विष्टको शुक्रबार बहस सकिएको हो। बहस सकिए पनि समय अभावले आदेश भने आउन सकेको छैन।
बाराको सिमरामा तयारी पोशाक प्रशोधन केन्द्र (गार्मेन्ट प्रोसेसिङ जोन,जिपिजेड) को पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको भएपनि पहुँच सडकको बिस्तार अझै अनिश्चित छ।
भारतको सत्तारुढ भारतीय जनता पार्टीले लोकसभा चुनावका लागि आफ्ना उम्मेदवारको पहिलो सूची सार्वजनिक गरेको छ।
नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका जिम्मेवार नेताहरुलाई गैरजिम्मेवार अभिव्यक्ति नदिन आग्रह गरेका छन्। पार्टीका महामन्त्री शशांक कोइरालाले संघीयता, गणतन्त्र तथा हिन्दु राष्ट्रका पक्षमा जनमत संग्रह गर्न सकिने अभिव्यक्ति दिइरहँदा नेता थापाले उनको भनाईमा असहमति जनाएका हुन्। नेता थापाले जिम्मेवार नेताहरुबाटै यस्ता खालका अभिव्यक्ति आइरहे पार्टी ठूलो भड्खालोमा जाकिने चेतावनी दिए।
काठमाडौं उपत्यकामा प्रचलित प्राचीन घोडेजात्राको तयारी थालिएको छ। प्रत्येक चैत कृष्ण औंसीमा उपत्यकामा घोडे जात्रा मनाइन्छ।
पछिल्लो समयमा ‘लिभिङ टुगेदर’ को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजुरी पनि बढ्न थालेका छन्। आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उजुरी बढ्न थालेको आयोगका सूचना अधिकारी धु्रवराज क्षेत्रीले जानकारी दिए।पछिल्लो समयमा ‘लिभिङ टुगेदर’ को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजुरी पनि बढ्न थालेका छन्। आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उजुरी बढ्न थालेको आयोगका सूचना अधिकारी धु्रवराज क्षेत्रीले जानकारी दिए।
विराटनगरमा जारी साफ महिला च्याम्पियनसीप फुटबलको उपाधि भिडन्तमा नेपालले भारतविरुद्धको बराबरी गोल फर्काएको छ। एक गोलले पछि परेको अवस्थामा नेपालकी सावित्रा भण्डारीले खेलको ३३ औं मिनेटमा बराबरी गोल फर्काएकी हुन्।
अर्थशास्त्री प्राध्यापक डाक्टर मदन दाहालको निधन भएको छ। पेटको रोगबाट ग्रसित डाक्टर दाहालको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा शुक्रबार निधन भएको हो। सार्वजनिक वित्त तथा करका विषयमा जानकार स्वर्गीय दाहाल त्रिभुवन विश्वविद्यालयमा चार दशकदेखि अध्यापन गराउँदै आएका थिए।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन्। सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको गुनासो पनि उनले गरे।
वैदेशिक रोजगार विभाग, काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँल ६० हजार घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिएको अख्तियारको टोलीले फुयाँललाई पक्राउ गरेको हो।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलको स्थलगत निरीक्षण गर्न हिँडेका प्रधानमन्त्री केपी शर्मा ओली चढेको बा२झ ७८१ नम्बरको नीलो गाडी बिग्रिएको छ। धावनमार्गमा करिब २० मिनेटसम्म विमानस्थल निर्माणको प्रगति विवरण सुनिसकेपछि फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको गाडी बिग्रिएको हो।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली समृद्धिको नारा लगाएर मुलुकमा सर्वसत्तावाद लाद्ने अभियानमा लागेको आरोप लगाएका छन्। धादिङको सिम्लेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्री ओलीले सबै अधिकार आफूमा केन्द्रित गरेर सर्वसत्तावादी बन्न लागेको बताएका हुन्।
यस वर्षको माध्यमिक शिक्षा परिषद् (एसइई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सामेल हुने भएका छन्। परीक्षा चैत १० गते सुरु हुँदैछ। पहिलो पटक परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन उत्तरपुस्तिका खरिदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाइ, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने काम गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षा व्यवस्थापनको सम्पूर्ण काम प्रदेश सरकारले गर्ने स्पष्ट पारे।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेशकुमार राउतले बालविवाह गरेका छन्। उनले बालविवाह गरेको उजुरी इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा परेको छ। वडामा भएका विभिन्न भ्रष्टाचारका विषयमा परेको उजुरीमा बालविवाहको कुरा पनि समेटिएको छ।
मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरमबीच एकता प्रकरण फेरि चर्चामा आएको छ । मूलतः केही दिनअघि राजधानीस्थित ह्यात होटलमा बसेको राजपा बैठकले फोरमसँग एकीकरण गर्न वार्ता समिति गठन गरेपछि चर्चाले तीव्रता लिएको छ ।
धनगढी र अछामको साफेवगर पहिलो पटक हवाई सेवामा जोडिएको छ । साफेबगर बिमानस्थल कालोपत्रे भए पछि शुक्रबारबाट हवाई सेवा जोडिएको हो ।
अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन्। फुड प्वाइजनको समस्या देखिएपछि अस्पताल भर्ना भएको उनको निजी सचिवालयले जनाएको छ ।
पहाडी जिल्लामा बुधबार होली मनाइएको छ भने तराइकै अधिकांश जिल्लाहरुमा हर्षोल्लासपूर्वक विहिबार सम्पत्र भएको छ । तर जनकपुरमा भने शुक्रबार होली मनाइँदै छ ।
अप्रिलदेखि जापानले नेपाली कामदारलाई आफ्नो मुलकमा लैजाने भएको छ । यसकालागि सोमबार नेपाल सरकार र जापान सरकारबीच सम्झौता हुँदैछ ।
रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारहरुका लागि आज शुक्रबारबाट आवेदन खुलेको छ । परीक्षा फारम आज ८ देखि १७ चैतसम्म बुझाउन सकिने इपिएस कोरिया शाखाले जनाएको छ ।
विराटनगरमा जारी पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज (शुत्रबार)आयोजक टोली नेपाल र साविकको विजेता टोली भारत भिड्दैछन् । खेल विराटनगरस्थित सहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुदैछ ।
फिल्म ‘ए मेरो हजुर–३’को नयाँ गीत ‘परान’ सार्वजनिक भएको छ। गीतमा अशीष अभिरल र अञ्जु पन्तको स्वर रहेको छ। यस्तै गीतमा आनन्द अधिकारीको शब्द तथा अभिरलकै संगीत संयोजन रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४