काठमाडौं– आज बिहीबार सेयर बजार परिसूचक १८.२४ अंकले घटेर ३१८०.७८ अंकमा अडिएको छ। बजारमा आज २२९ वटा कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता सेयर २० अर्ब ४ करोड ९९ लाख २१ हजार ७६७ रुपैयाँमा कारोबार भएको छ।
समग्र बजारमा सानो करेक्सन आएको भए पनि हाइड्रोपावर समूहमा भने पहिरो नै गएको छ। उक्त समूहको परिसूचक १२३.२१ अर्थात् ३.१८ प्रतिशतले घटेको छ।
विद्युत नियमन आयोगले विभिन्न १६ वटा बुँदा अध्ययन गरेर मात्रै हाइड्रोपावर कम्पनीको सेयरमा लगानी गर्न आग्रह गरेपछि बजारमा त्यसको असर देखिएको हो। आयोगले नेटवर्थ, पिई रेशियो, बजार मूल्य लगायतका सूचकहरु अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गरेको थियो।
पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्य उच्च रुपले बढेपछि आयोगले विज्ञप्ति निकालेर लगानीकर्तालाई सचेत हुन आग्रह गरेको हो। हाइड्रोपावर कम्पनीहरुले धमाधम हकप्रद निश्काशन गर्ने तयारी गर्न थालेसँगै उनीहरुको सेयर मूल्य अकाशिएको हो।
बिहीबार हाइड्रोपावरसँगै विकास बैंक समूहको परिसूचक पनि घटेको छ। उक्त समूह १६२.४५ अंकले घटेको छ।
बिहीबार बिमा समूहमा भने चमक आएको छ। जीवन र निर्जीवन दुवै बिमा समूह बढेको छ।
१३ मध्ये ५ वटा समूहमा हरियाली देखिएको छ। भर्खरै आइपीओ जारी गरेको जीवन विकास लघुवित्तको भाउ सर्किट लागेर बढेको छ। १ अर्ब १६ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण काबेली अग्रस्थानमा छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली र नेसनल हाइड्रोपावर परेका छन्।