काठमाडौं- आज चैत ०४ गते सोमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
केरुङ–काठमाडाैं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करिब रु ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ।
प्रदेश २ सरकारले प्रदेशभित्र नयाँ उद्योग स्थापना गर्नेलाई २० वर्षसम्म कर नलिने निर्णय गरेको छ। कृषि र पर्यटन मुख्य आर्थिक स्रोत रहेको प्रदेश २ भित्र लगानी भित्र्याउन प्रदेश सरकारले यस्तो निर्णय गरेको हो।
ट्याक्टर दुर्घटनामा परि बझाङ जिल्लामा एक युवकको ज्यान गएको छ। ज्यान गुमाउनेमा खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ बस्ने २४ वर्षीया लोकेन्द्र रोकाया रहेका छन्।
राष्ट्रिय जनता पार्टी नेपालले गिरीशचन्द्र लालदास नेतृत्वमा गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिरहेका बेला उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आयोगको प्रतिवेदन अध्ययनपछि मात्रै सार्वजनिक गरिने बताएका छन्।
सिके राउतले नयाँ पार्टीको नाम 'जनमत पार्टी' राख्ने भएका छन्। सिरहाको लहानमा २ दिनसम्म चलेको परिषद् बैठकले पार्टीको नाम सार्वजनिक गरेको हो। पार्टीको अध्यक्षमा सिके राउत रहने छन्। यस्तै नवगठित पार्टीमा ३५ सदस्यीय केन्द्रीय समिति रहने तथा अन्य सबै सदस्य रहने छन्।
सरकारले गिरीशचन्द्र लालदास नेतृत्वमा गठन गरेको आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै राजपाले अवरुद्ध गर्दै आएको संघीय संसद्को बैठक कानून मन्त्री भानुभक्त ढकालको को जवाफ पछि खुलेको छ। ढकालले सो प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका थिए।
सरकारसँग सहमति गरेर मूलधारमा आएको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक दोस्रो दिन पनि सिरहाको लहानमा जारी छ। बैठकमा गठबन्धनका संयोजक सिके राउतले सरकारसँग हालै भएको ११ बुँदे सम्झौताबारे कार्यकर्तालाई ब्रिफिङ गरेका छन्।
सरकारले गिरीशचन्द्र लालदास नेतृत्वमा गठन गरेको आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सोमबारको संघीय संसद्को बैठकपनि राजपाले चल्न दिएन। बैठक सुरु हुनासाथ राजपाका अनिलकुमार झा ले सभामुखको निर्देशनसमेत सरकारले नमानेको भन्दै आफुहरु संसद् अवरुद्ध गर्न बाध्य भएको बताए। त्यसपछि सभामुखले केही समयका लागि बैठक स्थगित भएको घोषणा गरेका छन्। सरकारले प्रतिबेदन लुकाएर सत्य लुकाउन खोजेको आरोप लगाए।
चितवनको रत्ननगर–१० स्थित निपनी चोकमा बोलेरो गाडीको ठक्करबाट एक बालकको मृत्यु भएपछि त्यहाँको स्थिती तनावपूर्ण बनेको छ। बोलेरोको ठक्करबाट विद्यालय गइरहेका स्थानीय १३ वर्षीय बालक वसन्त थापामगरको मृत्यु भएपछि स्थिती तनावपूर्ण बनेको हो।
पूर्व मुमाबडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाह डिस्चार्ज भएकी छन्। ९१ वर्षीय रत्नलाई स्वास्थयमा समस्या देखापरेपछि गत फागुन २१ गते नर्भिक अस्पताल भर्ना भएकी शाह सोमबार डिस्चार्ज भएकी हुन्। सिजनल रुघाखोकी, ज्वरो र शारीरिक रूपमा कमजोर भएकी रत्नलाई अस्पताल भर्ना गरिएकाे थियाे। पूर्वराजा ज्ञानेन्द्र तथा रत्नले उपचारका क्रममा सहयोग गर्ने चिकित्सक तथा शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरेका छन्।
बैठकमा पेस हुने एजेन्डाबारे सहमति नहुँदा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । नेपाल विद्यार्थीको संघको तदर्थ समिति गठन, अनुशासन समिति र निर्वाचन समिति गठनका बारेमा सहमति हुन नसक्दा सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो सवा १ बजेसम्म बस्न नसकेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले उपभोक्ता समिति गठन गर्दा सम्बन्धित निर्वाचन क्षेत्रको प्रदेशसभा सदस्यको सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा सुदूरपश्चिमको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।
दिपायलबाट धनगढीका लागि छुटेको बा २ ख १६६५ नम्बरको हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सायल गाउँपालिकाका २६ वर्षीय गणेश साउद रहेका छन्। उनको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचारका क्रममा मृत्यु भएको हो।
नेत्रविक्रम चन्द्र 'विप्लव' नेतृत्वको 'नेपाल कम्युनिस्ट पार्टी' को लालकिल्ला मानिने कालिकोटमा सुरक्षा चुनौती बढेको छ। सरकारले नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै कालिकोटमा सुरक्षा चुनौती थपिएको हो। गाउँगाउँमा विप्लवप्रतिको जनलहर र थोरै सुरक्षाकर्मीका कारण जिल्लामा सुरक्षा चुनौती थपिएको गएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाली सेनालाई राजनीतिक छाया बनाउने प्रयास स्वरुप राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी नयाँ विधेयक बनाउन लागेको भन्दै विरोध गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का केही बुँदामा कांग्रेसले आपत्ति जनाएको छ ।
काठमाडौं उपत्यकामा भूकम्प गएको छ । बिहान ९ बजेर १ मिनेटमा भूकम्पकाे धक्का महसुस गरिएको हो । भूकम्पकाे झड्का करिब २ सेकेन्ड लामाे थियाे ।
नेपालका विमानलाई युरोपको आकाशमा उडाउन लगाइएको प्रतिबन्ध हटाउन सरकारले सम्बद्ध पक्षसँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपेली संघका एकजना वरिष्ठ अधिकारीसँग त्यस्तो अनुरोध गरेका हुन् ।
सोमबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई बुढानीलकण्ठ निवासमै डाकेर सहमतिको प्रयास गरे पनि त्यो सार्थक हुन सकेन।
भारतको गोवा राज्यका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको निधन भएको छ । लामो समयदेखि पेटको क्यान्सरबाट पीडित मनोहरको आइतबार बेलुका ६३ वर्षको उमेरमा निधन भएको हो ।
स्पेनिस ला लिगा फुटबलमा स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिक पुरा गरेपछि बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा शीर्ष स्थानको बार्सिलोनाले रियल बेटीसलाई ४-१ ले पराजित गर्दै सहज जित निकालेको हो ।
राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षणका कारण निर्धारित समयअगावै सुरुङ निर्माणकार्य पूरा हुने भएको हो ।
सांगीतिक क्षेत्रमा सक्रिय गायक भुसन राईको नयाँ गीत सार्वजनिक भएको छ। राईले ‘मरुभूमि’ बोलको गीत बजारमा ल्याएका हुन्।
‘र्यापर’ तथा सङ्गीतकार राजेन्द्र भट्ट (मिष्टर आरजे)ले पछिल्लो केही वर्षयता सुदूरपश्चिमका देउडादेखि यहाँका मौलिकता झल्किने गीतहरुमा ‘र्याप’ मिसाउन थालेपछि यहाँको साङ्गीतिक बजार तातेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४