आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माथिल्लो तामाकोशीले थाल्यो पूर्ण क्षमतामा विद्युत उत्पादन

माथिल्लो तामाकोशीले थाल्यो पूर्ण क्षमतामा विद्युत उत्पादन

नेपाल सरकारको सतप्रतिशत लगानीमा बनेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट पूर्णरुपमा विद्युत उत्पादन सुरु भएको छ।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- नेपाल सरकारको सतप्रतिशत लगानीमा बनेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट पूर्णरुपमा विद्युत उत्पादन सुरु भएको छ। 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गरिएको उक्त जलविद्युत् आयोजनाका ६ वटै युनिटबाट ४५६ मेगावाट विद्युत उत्पादन सुरु भएको हो।

पाँच वटा युनिट यसअघि नै सञ्चालनमा आइसकेकोमा थप एक युनिट गरी आयोजनाको ६ वटै युनिटबाट ७६ मेगावाटका दरले विद्युत उत्पादन भइरहेको आयोजनाले जानकारी दिएको छ।

वि.सं. २०६८ सालमा निर्माण सुरु गरिएको उक्त आयोजना २०७२ साल भित्रै सक्ने लक्ष्य लिइएको थियो। तर, २०७२ सालको वैशाखमा गएको महाभूकम्पका कारण आयोजनाको निर्माण अवधि लम्बिएको थियो। आयोजनाको सुरुको लागत ३५ अर्ब रुपैयाँ अनुमान गरिएको थियो।

राष्ट्रिय प्रसारण लाइनमार्फत उक्त उत्पादित विद्युत वितरणका लागि रामेछापको फुलासीमा २२०/१३२ केभीको ट्रान्सफर्मर चार्ज गरेपछि झत्तपुर हुँदै काठमाडौंसम्म विद्युत पुर्‍याउन सकिने आयोजनाको भनाइ छ। 

तोकिएको समय भन्दा करिब ६ वर्षपछि आयोजना निर्माण सम्पन्न हुँदासम्म लागत बढेर दोब्बर भन्दा बढी पुगिसकेको छ। आयोजना निर्माणको सुरुमा प्रतिमेगावाट ८ करोड रुपैयाँ लागत पर्ने अनुमान गरिएको थियो। तर, तोकिएको समयावधिमा आयोजना निर्माण सम्पन्न नहुँदा प्रतिमेगावाट १६ करोड रुपैयाँलागत पुगेको आयोजनाले जनाएको छ।

आयोजनाको पहिलो  युनिटको उत्पादन गत असार तेस्रो सातादेखि सुरु गरिएको थियो। दोलखा जिल्लामा अवस्थित यस आयोजनाका सबै युनिट गत सोमबारबाट सुरु भएसँगै राष्ट्रिय प्रसारणमा जोड्ने गृहकार्य भइरहेको छ। सोमबार सुरु गरिएको ६ वटै युनिटले आगामी २ हप्तापछि व्यवसायिक उत्पादन सुरु गर्ने आयोजनाको भनाइ छ। 

राष्ट्रिय प्रसारण लाइनमार्फत उक्त उत्पादित विद्युत वितरणका लागि रामेछापको फुलासीमा २२०/१३२ केभीको ट्रान्सफर्मर चार्ज गरेपछि झत्तपुर हुँदै काठमाडौंसम्म विद्युत पुर्‍याउन सकिने आयोजनाको भनाइ छ। 

आयोजनाबाट पुसदेखि चैतसम्म सुख्खायाममा २९२ मेगावाट प्रति घण्टा विद्युत उत्पादन हुने जनाइएको छ। त्यस्तै सो भन्दा अन्य समयमा १ हजार ९८८ गिगावाट विद्युत उत्पादन हुने बताइएको छ। 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट वार्षिक २ हजार २ सय ८२ मेगावाट प्रति घण्टा विद्युत हुने छ। निर्माणमा भएको ढिलाईका कारण आयोजनाको लागत ब्याजसहीत ८४ अर्ब रुपैयाँ पुगेको आयोजनाले जानकारी दिएको छ।

प्रकाशित: Aug 19, 2021| 08:23 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्