काठमाडौं- बिकास बैंकहरूले आफ्नो साहायक कम्पनीमार्फत धितोपत्र सम्वन्धी कारोबार (धितोपत्र दलाल) गर्न पाउनु पर्ने माग गर्दै नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेका छन्।
विकास बैंकको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसियशनले धितोपत्र दलाल कम्पनी खोल्न पाउनुपर्ने माग राख्दै बुधबार नेपाल धितोपत्र बोर्डमा पत्र पठाएको छ।
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानुन बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ भन्ने ब्यवस्था रहेको छ।
सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृति लिई नेपाल धितोपत्र वोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नम्बर बुँदामा प्रचलित कानून बमोजिम स्थापना भएको 'क’ बर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछन भन्ने व्यवस्था गरेको छ।
उक्त व्यवस्थाका आधारमा बिकास बैंकहरूले पनि आफ्ना सहायक कम्पनीमार्फत धितोपत्र व्यवसाय गर्ने अनुमती प्रदान दिनका लागि संघले बोर्डलाई पत्र लेखेको जनाएको छ।
राष्ट्रिय स्तरका बिकास बैंकको औषत चुक्ता पूँजी ३ अर्व ४० करोड रुपैयाँ रहेको छ। त्यस्तैगरी बिकास बैंकले एक हजार बढी शाखाबाट करिव ४१ लाख खातावालालाई बैंकिङ् सेवा प्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गर्दै आएको छ।
२०७८ असार मसान्त सम्ममा तथ्याङ्क अनुसार ४ खर्ब ४५ अर्व रुपैयाँ निक्षेप परिचालन गरी ३ खर्ब ८३ अर्व रुपैयाँ कर्जा प्रवाह गरिएको छ।