नेपालको राजनीतिक परिदृश्यमा नयाँ दलहरूको उदय र तिनले प्राप्त गरेको जनसमर्थनले परम्परागत दलीय संरचनामा ठूलो हलचल ल्याएको छ। पुराना दलहरूप्रतिको व्यापक जनअसन्तोष, कुशासन र निराशाको पृष्ठभूमिमा उदाएका नयाँ शक्तिहरूले चुनावी प्रतिस्पर्धामा उल्लेख्य सफलता हासिल गर्दै संसद् र सरकारसम्मको यात्रा तय गर्न सफल भएका छन्।
तर, निर्वाचन जित्नु वा सत्ताको साझेदार बन्नु मात्रै दल परिपक्व भएको प्रमाण होइन। नयाँ राजनीतिक दलहरूका लागि स्थापनाकालीन लहरलाई दीर्घकालीन संस्थागत परिपक्वतामा बदल्नु सबैभन्दा चुनौतीपूर्ण कार्य हो। विशेषगरी, विभिन्न पृष्ठभूमि र पुराना दलहरूबाट आएका नेता, सांसद तथा कार्यकर्ताहरूलाई एउटै वैचारिक र सांगठनिक साँचोमा ढाल्नु, फरक कार्यशैलीको समायोजन गर्नु र लहरको राजनीतिबाट माथि उठेर पद्धतिमा आधारित संगठन निर्माण गर्नु आजको मुख्य आवश्यकता हो।
नयाँ दलहरूमा देखिने प्रमुख चुनौती भनेको आन्तरिक समायोजन, वैचारिक स्पष्टता र दलीय अनुशासनको अभाव हो। पुराना दलका अभ्यास, व्यक्तिगत महत्त्वाकांक्षा र असंगठित कार्यशैली बोकेर आएका कार्यकर्ताहरूलाई नयाँ दलको भावना र आचारसंहिता अनुसार परिचालन गर्न नसक्दा आन्तरिक किचलो र विचलन पैदा हुन्छ।
यसका साथै, प्रविधि र डिजिटल युगको प्रभावका कारण भाइरल हुने होडबाजी, असंवेदनशील अभिव्यक्ति र सामाजिक सञ्जालमा पोखिने असन्तुष्टिले दलको गम्भीरता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ। तसर्थ, नयाँ दलहरूले लहर र पपुलिजम्बाट अघि बढेर परिपक्वता हासिल गर्न सुदृढ सांगठनिक ढाँचा, कडा अनुशासन र स्पष्ट नीतिको अवलम्बन गर्नुपर्छ। दलभित्र आन्तरिक लोकतन्त्र, पारदर्शी निर्णय प्रक्रिया र सक्षम नेतृत्वको चयन सुनिश्चित गर्दै जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिनु नै नवगठित दलहरूको दिगो भविष्यको आधारशिला हो।
राजनीतिक दल परिपक्व हुने चरण
प्रारम्भिक लहर र स्थापनाको जग ः राजनीतिक दल परिपक्वताको यात्रा पहिलो चरण अर्थात् ‘स्थापना तथा लहर चरण’बाट सुरु हुन्छ। विद्यमान राजनीतिक व्यवस्था, पुराना दलहरूको असफलता र जनस्तरमा व्याप्त निराशाका कारण नयाँ विकल्पको खोजी हुन्छ। यही पृष्ठभूमिमा नयाँ दलको उदय भई जनसमर्थन वा चुनावी लहर प्राप्त हुन्छ। यस चरणमा जनताको आक्रोश र परिवर्तनको चाहना नै दलको मुख्य शक्ति हुन्छ। तर, यो लहर अल्पकालीन हुने भएकाले दलले यसलाई तुरुन्तै सांगठनिक जगमा रूपान्तरण गर्नुपर्छ।
संस्थागतकरण र पद्धतिको विकास ः दोस्रो चरण ‘संस्थागतकरण’ हो, जहाँ चुनाव जितेपछि वा संसद्मा पुगेपछि दललाई व्यक्ति केन्द्रित नेतृत्वबाट पद्धति केन्द्रित बनाउने प्रक्रिया सुरु हुन्छ। नयाँ दलहरू प्रायः संस्थापक नेताको व्यक्तित्वमा टिकेका हुन्छन्। यस चरणमा विधान, नियमावली, विभागीय संरचना र कमिटीहरूको निर्माण गरी निर्णय प्रक्रियालाई संस्थागत बनाउनुपर्छ। व्यक्ति भन्दा विधि र नियम ठूलो हो भन्ने मान्यता स्थापित नगरेसम्म दलले परिपक्वताको बाटो समात्न सक्दैन।
वैचारिक र नीतिगत स्पष्टताः तेस्रो चरण ‘वैचारिक तथा नीतिगत स्पष्टता’ को हो। केवल पुराना दल वा नेताको विरोध गरेर राजनीति लामो समय चल्दैन। दलले आफ्नो स्पष्ट राजनीतिक दर्शन, अर्थनीति, परराष्ट्र नीति र सामाजिक(राजनीतिक दृष्टिकोण तय गर्नुपर्छ। राष्ट्रका जटिल समस्याहरूमा दलको आधिकारिक धारणा के हो भन्नेबारे तल्लो तहका कार्यकर्तासम्म स्पष्टता हुनुपर्छ। वैचारिक स्पष्टताले मात्रै दललाई दीर्घकालीन रूपमा दिशानिर्देश गर्न सक्छ।
आन्तरिक लोकतन्त्र र समायोजनः चौथो चरण ‘आन्तरिक लोकतन्त्र र समायोजन’ हो। यस चरणमा विभिन्न पृष्ठभूमि र पुराना दलहरूबाट आएका नेता तथा कार्यकर्ताहरूलाई एउटै दलीय संस्कृतिमा ढाल्ने काम हुन्छ। दलभित्र वैचारिक भिन्नतालाई सम्मान गर्दै छलफल र बहसका लागि लोकतान्त्रिक मञ्चहरू उपलब्ध गराइन्छ। फरक–फरक कार्यशैली बोकेका व्यक्तिहरूलाई प्रशिक्षण र अभिमुखीकरण मार्फत नयाँ दलको आचारसंहिता र अनुशासनभित्र समाहित गराइन्छ।
स्थायित्व र दीर्घकालीन परिपक्वताः अन्तिम तथा पाँचौ चरण ‘स्थायित्व र परिपक्वता’ हो। यस चरणमा पुगेपछि दल सरकारमा हुँदा जिम्मेवार शासन सञ्चालन र विपक्षमा हुँदा रचनात्मक भूमिका निर्वाह गर्न सक्षम हुन्छ। क्षणिक पपुलिजम् वा सस्तो नारा भन्दा माथि उठेर दीर्घकालीन राष्ट्रिय हितका आधारमा नीति निर्माण गरिन्छ। यस चरणमा पुगेको दलले आन्तरिक संकटहरू सजिलै समाधान गर्छ र जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्छ।
आन्तरिक समायोजन र सांगठनिक सुदृढीकरण
सक्षम नेतृत्वको चयन र उचित जिम्मेवारीः नयाँ दललाई गतिशील र प्रभावकारी बनाउन योग्य, दक्ष र निष्ठावान व्यक्तिहरूको खोजी गर्नु प्राथमिक आवश्यकता हो। विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका सक्षम व्यक्तिहरूलाई दलमा आकर्षित गर्दै उनीहरूको क्षमता अनुसारको उचित जिम्मेवारी दिने परिपाटी बसाल्नुपर्छ। पुराना दलबाट आएका वा नयाँ प्रवेशीहरूलाई केवल भाषण वा पहुँचका आधारमा नभई उनीहरूको विज्ञता र आचरणका आधारमा पदभार दिदा संगठनको कार्यक्षमता अभिवृद्धि हुन्छ।
सञ्चारमा आधिकारिक धारणा र अनुशासनः महत्त्वपूर्ण र संवेदनशील राष्ट्रिय तथा सामाजिक विषयहरूमा पार्टीका सांसद, नेता तथा कार्यकर्ताले व्यक्तिगत धारणा भन्दा पहिले पार्टीको आधिकारिक दृष्टिकोण पर्खनुपर्छ। दलीय अनुशासन कायम राख्न आधिकारिक निर्णय आएपछि मात्र सार्वजनिक रूपमा बोल्ने परिपाटी बसाल्नु आवश्यक छ। जथाभावी अभिव्यक्ति दिने अभ्यासले पार्टीको छवि धमिल्याउने भएकाले नीतिको स्पष्टता र संगठनको गम्भीरताका लागि आधिकारिक सञ्चार प्रणाली लागू गर्नुपर्छ।
शीर्ष नेतृत्वबीच द्रुत छलफल संयन्त्रः नयाँ दलमा नीतिगत अस्पष्टता हुनु स्वाभाविक भएकाले जनसरोकारका विषयमा तुरुन्त प्रतिक्रिया दिन शीर्ष नेताहरूको भर्चुअल वा प्रविधिमैत्री समूह (जस्तै ह्वाट्सएप) गठन गरिनुपर्छ। सामाजिक सञ्जालमा उठेका वा राष्ट्रिय राजनीतिमा उत्पन्न मुद्दाहरूमा नेतृत्व तहमा तत्काल छलफल गरी निष्कर्षमा पुग्ने र त्यसलाई आधिकारिक विधिबाट सार्वजनिक गर्ने अभ्यास सुरु गर्दा भ्रम सिर्जना हुन पाउँदैन।
जिम्मेवार आचरण र सुन्ने बानीः जुनसुकै दलका लागि पनि पहिलो प्राथमिकता जनता र देशप्रतिको जिम्मेवारी हुनुपर्छ। यसका लागि धेरै बोल्ने वा आक्रामक प्रचार गर्ने भन्दा पनि जनताका समस्या, सुझाव र आलोचना ध्यानपूर्वक सुन्ने बानीको विकास गर्नुपर्छ। जनप्रतिनिधि र नेताहरूले आफूलाई शासक नभई सेवकका रूपमा प्रस्तुत गर्दै जिम्मेदार राजनीतिक व्यवहार प्रदर्शन गर्दा मात्र आम नागरिकको वास्तविक विश्वास जित्न सकिन्छ।
कडा अनुशासन र कारबाहीको व्यवस्थाः विधि, विधान र स्थापित पद्धति भन्दा बाहिर गएर गैरजिम्मेवार व्यवहार गर्ने, गुटबन्दी गर्ने वा जथाभावी अभिव्यक्ति दिने जो-कोहीलाई पनि कारबाही गर्न दल पछि पर्नु हुँदैन। आन्तरिक नियमको उल्लंघनले संगठनलाई कमजोर बनाउने भएकाले अनुशासनहीनताप्रति शून्य सहनशीलताको नीति अपनाउनु अनिवार्य हुन्छ। निष्पक्ष र कडा अनुशासन संयन्त्रले नै दललाई सुशासित बनाउँछ।
डिजिटल युग र सार्वजनिक व्यवहार
डिजिटल आचारसंहिता र साक्षरताः डिजिटल युगमा भाइरल हुने होडबाजी, सस्तो लोकप्रियता र असंवेदनशील अभिव्यक्तिलाई नियन्त्रण गर्न पार्टीले कडा सामाजिक सञ्जाल आचारसंहिता लागू गर्नुपर्छ। साथै, सार्वजनिक पदमा रहेका व्यक्तिहरूका लागि मिडिया साक्षरता, तथ्य जाँच र जिम्मेवार डिजिटल संवादबारे नियमित प्रशिक्षण दिनुपर्छ। यसले क्षणिक प्रचारका लागि पार्टीको गम्भीरतामाथि आँच आउन दिदैन।
आन्तरिक असन्तुष्टिको आन्तरिक व्यवस्थापनः लोकतान्त्रिक दलभित्र वैचारिक भिन्नता र असन्तुष्टि हुनु स्वाभाविक हो। तर, त्यस्ता असन्तुष्टिहरूलाई फेसबुक वा अन्य सामाजिक सञ्जालका पानामा पोख्नुको सट्टा पार्टीको आधिकारिक आन्तरिक मञ्च र बैठकहरूमा छलफल गर्ने वातावरण बनाउनुपर्छ। सार्वजनिक रूपमा दलको छवि बिगार्ने परिपाटीलाई रोक्न आन्तरिक संवादका लागि सुरक्षित डिजिटल वा सांगठनिक मञ्चहरू उपलब्ध गराउनुपर्छ।
जनप्रतिनिधि र नागरिक स्वतन्त्रताको सीमाः सामान्य नागरिकका रूपमा पाइने अनियन्त्रित अभिव्यक्ति स्वतन्त्रता र जनप्रतिनिधि वा दलीय पदमा रहँदा पालना गर्नुपर्ने मर्यादा बीच ठूलो भिन्नता हुन्छ। सार्वजनिक पदमा पुगेपछि हरेक निर्णय र अभिव्यक्तिमा जिम्मेवारी, परिपक्वता र कानुनी सीमा झल्किनुपर्छ। पदीय दायित्व बुझेर मात्र सार्वजनिक जीवनमा प्रस्तुत हुने संस्कार बसाल्नु डिजिटल युगको प्रमुख आवश्यकता हो।
कार्यसम्पादनको मापदण्ड परिवर्तनः नेता तथा कार्यकर्ताको मूल्याङ्कन सामाजिक सञ्जालको ‘लाइक’, ‘भ्यूज’ र ‘फलोअर्स’ का आधारमा नभई संसद्, नीति निर्माण, संगठन निर्माण र जनताको सेवामा पु¥याएको वास्तविक योगदानका आधारमा गर्ने परिपाटी लागू गर्नुपर्छ। भर्चुअल उपस्थितिलाई नै सफलता ठान्ने भ्रमबाट मुक्त भई वास्तविक धरातलमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ।
संकट नियन्त्रण र धैर्यताको विकासः सामाजिक सञ्जालमा कुनै अफवाह वा भ्रम फैलिन बित्तिकै दलको डिजिटल टोलीले तुरुन्तै तथ्य सार्वजनिक गरी स्थिति नियन्त्रणमा लिने दक्ष संयन्त्र तयार राख्नुपर्छ। आलोचना आउनासाथ उत्तेजित भएर प्रतिक्रिया दिइहाल्ने वा डिजिटल ट्रेलिङमा उत्रिने सट्टा धैर्यपूर्वक सुन्ने, तथ्य बुझ्ने र परिपक्व निर्णय लिने राजनीतिक संस्कारको विकास गर्नुपर्छ।
निष्कर्ष तथा सुझाव
नयाँ राजनीतिक दलहरूको उदयले नेपाली राजनीतिमा रूपान्तरण र विकल्पको नयाँ आशा जगाएको छ। तर, प्रारम्भिक चुनावी सफलता र जनलहरलाई दीर्घकालीन संस्थागत परिपक्वतामा बदल्न नसकेमा यस्ता दलहरू छिट्टै ओझेलमा पर्ने वा पुरानै दलहरूको पुनरावृत्ति बन्ने जोखिम रहन्छ।
विभिन्न पृष्ठभूमिबाट आएका कार्यकर्ताहरूको समायोजन, वैचारिक स्पष्टता र दलीय अनुशासन नै नयाँ दलका लागि परिपक्वताका कसी हुन्। डिजिटल युगको तीव्र प्रभाव र भाइरल संस्कृतिले सिर्जना गरेका चुनौतीहरूलाई सही व्यवस्थापन गर्दै, लहरको राजनीतिबाट माथि उठेर विधि, पद्धति र संस्थागत संरचनामा आधारित राजनीति सञ्चालन गर्नु आजको अपरिहार्य आवश्यकता हो।
सुझाव १, ‘पार्टी स्कुल’ र निरन्तर प्रशिक्षणः विभिन्न दल र पृष्ठभूमिबाट आएका कार्यकर्ताहरूलाई नयाँ दलको नीति, विचार र संस्कृतिमा ढाल्न अनिवार्य 'पार्टी स्कुल' सञ्चालन गरिनुपर्छ। पार्टीमा प्रवेश गर्नासाथ दलीय आचारसंहिता, संसदीय अभ्यास, कानुन निर्माण र सार्वजनिक संवादबारे नियमित अभिमुखीकरण र तालिम दिने व्यवस्था मिलाउनुपर्छ।
सुझाव २, पद्धतिमा आधारित नेतृत्व र मूल्यांकनः दललाई व्यक्ति वा संस्थापक नेताको प्रभावबाट मुक्त गरी समिति, नियमावली र पद्धतिमा आधारित बनाउनुपर्छ। नेता तथा सांसदहरूको कार्यसम्पादन मूल्याङ्कनका लागि स्पष्ट मापदण्ड बनाई सोही आधारमा जिम्मेवारी र अवसरको बाँडफाँड गर्ने प्रणाली पारदर्शी रूपमा लागू गर्नुपर्छ।
सुझाव ३, अनुशासन र प्रविधि व्यवस्थापन : सामाजिक सञ्जालमा आन्तरिक विवाद पोख्ने, गैर(जिम्मेवार अभिव्यक्ति दिने वा दलीय मर्यादा उल्लंघन गर्नेहरूका लागि शून्य सहनशीलताको नीति अपनाउँदै कडा अनुशासन समिति मार्फत कारबाही गरिनुपर्छ। आन्तरिक असन्तुष्टिका लागि दलभित्रै भर्चुअल वा प्रत्यक्ष छलफलका सुरक्षित मञ्चहरू निर्माण गरिनुपर्छ।