'फर्क फर्क हे जाउ समाउ, मानिसहरूका पाउ
मलम लगाउ आर्तहरूको चहह्याइरहेका घाउ!'
महाकवि लक्ष्मीप्रसाद देवकोटाको भिखारी कवितासङ्ग्रहमा रहेको यात्री शीर्षकको कवितामा मन्दिर, मस्जिद वा तीर्थधाममा भन्दा मानिसको सेवा गर्नु नै वास्तविक ईश्वरको पूजा हो भन्ने भावलाई यस पङ्क्तिले सङ्केत गरेको छ।
कवितामा भनेजस्तै हेटौँडाबाट अभियन्ता रामजी अधिकारीले सुरु गरेको सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको महाअभियान यतिखेर तिनै आर्तहरू चहर्याइरहेको घाउमा मलम लगाइरहेको छ।
खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिकस्थलहरूमा नारकीय जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिक रूपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा मानवसेवा आश्रम निरन्तर लागिरहेको छ।
विसं २०६९ भदौ १३ गते हेटौँडाको अब्बलडाँडामा पाँच सडक मानवलाई लिएर सुरु गरिएको यो महाअभियान वर्तमानमा आइपुग्दा देशव्यापी बनेको छ। तत्कालीन समयमा सडकबाट उठाइका पाँचमध्येका एक कन्हैया (आश्रमले राखेको नाम) अहिले पनि हेटौँडास्थित मानवसेवा आश्रमममा बस्दै आएका अभियन्ता एवं आश्रमका निर्माण संयोजक ताराप्रसाद लामिछानेले बताए।
मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) घरपरिवार र आफन्तविहीन भई खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिकस्थलहरूमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणाको लागि पहल गर्ने र घोषणा पश्चात् त्यसको प्रभावकारी कार्यान्वयनका लागि समर्पित हुने लक्ष्यसहित स्थापना भएको उनले बताए।
स्थापनाको समयदेखि नै संस्थाले एक विशुद्ध गैरनाफामूलक सामाजिक संस्थाका रूपमा देशव्यापी सहयोगापेक्षी बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा अति कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण र पालनपोषण गराउँदै आइरहेको उनले बताए।
मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार सातवटै प्रदेशका २३ जिल्लाका ३४ सेवा केन्द्रमार्फत सहयोगापेक्षीहरूलाई आश्रय दिइरहेको छ। मानवीयताको राष्ट्र नेपाल निर्माणको सपना लिएर अघि बढेको संस्थाको चाहना सबैका लागि खाना, सबैको लागि नाना र सबैको लागि छाना रहेको छ भने सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण, घोषणा एवं कार्यन्वयन गर्ने प्रतिवद्धतासहित अघि बढिरहेको अध्यक्ष अधिकारीले बताए।
आश्रमका सबै सेवा केन्द्रहरूमा गरेर हाल कुल आश्रितको सङ्ख्या दुई हजार ४०३ जना रहेको छ, जसमध्ये पुरुष एक हजार ४६६ जना छन् भने महिला ९३७ जना छन्। आश्रमले आफ्नो स्थापना यता १४ हजार १८ जनालाई उद्धार गरेकोमा जसमध्ये आठ हजार ८१९ जना पुरुष रहेका छन् भने पाँच हजार १९९ जना महिला रहेका छन्।
आश्रमद्वारा उद्धार गरिएकामध्ये तीन हजार ३२३ जना पुरुष र दुई हजार ५८१ जना महिलासहित पाँच हजार ९०४ जनालाई पारिवारिक मिलन गराइसकिएको आश्रमका मकवानपुर जिल्ला संयोजक इशा थापाले बताइन्। उद्धार गरिएका मध्ये ७३९ जना पुरुष र ३४५ जना महिला सहित एक हजार ८४ जनालाई सामुदायिक पुन: स्थापना गराइएको छ। यस बीचमा उद्धार गरिएकामध्ये एक हजार २४३ जना पुरुष र ५२३ जना महिला गरी एक हजार ७६६ जनाको निधन भइसकेको आश्रमले जनाएको छ।
आश्रम र अन्तर्गतका सेवा केन्द्रहरूलाई व्यवस्थित बनाउने अभियान जारी
मानवसेवा आश्रमले मुख्य कार्यालय हेटौंडासहितका ३४ वटै सेवा केन्द्र व्यवस्थित बनाउँदै लगेको अध्यक्ष अधिकारीले बताए। आफूहरूको यस अभियानमा सरकारी निकायका साथै विभिन्न संघसंस्था एवम् सहयोगी व्यक्तिहरूको महत्वपूर्ण साथ र सहयोग मिलेको उनले बताए। 'सरकारी निकायका साथै संघसंस्था र सहयोगी महानुभावकै कारण हाम्रा आश्रमहरूमा पूर्वाधार विकाससँगै यिनीहरूको सुव्यवस्थित सञ्चालनमा सहयोग पुगेको छ', उनले भने, 'हाम्रा सेवा केन्द्रहरूका विभिन्न पूर्वाधार विकासका लागि हालसम्म एक सय करोड रुपैयाँ भन्दा बढी लगानी भैसकेको छ।'
११ वर्षदेखि २०८२ सालभित्रै सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य साथ दृढ सङ्कल्पित भई सेवा प्रवाह गरिरहेको भए पनि विभिन्न परिस्थितिजन्य कारणहरूले घोषणा हुन नसकेको आश्रमका सचिव एवं प्रवक्ता सुमन बर्तौला बताउँछन्।
उनका अनुसार सात प्रदेशमध्ये कर्णाली, गण्डकी र बागमती तीन प्रदेश घोषणा भइसकेका छन् भने लुम्बिनी प्रदेश यही साउनमा घोषणा हुँदैछ। सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न तिनै तहको सरकारसँग साझेदारी, जनसहभागिता वृद्धि र माघ महिनामा पशुपतिनाथ मन्दिर परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञानमा यज्ञ आयोजना गरेर स्रोत अधुरो रहेका भवनहरूको निर्माण सम्पन्न गर्न सोच सुनिश्चित गरी २०८३ सालभित्रै देश घोषणा गर्ने तयारी रहेको उनको भनाइ छ।
बागमती प्रदेश सरकारले मानवसेवा आश्रमको दिगो एवम् सुव्यवस्थित सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यसहित पाँच करोड रुपैयाँ अक्षयकोष उपलब्ध गराउने घोषणा गरिसकेको छ। आश्रमको केन्द्रीय कार्यालय रहेको हेटौंडामा करिब रु १० करोडको लागतमा सुविधासम्पन्न भवन निर्माण भएको जानकारी दिदै उनले केही निर्माण कार्य अझै बाँकी रहेको बताए।
आश्रमको पोखरामा भवन निर्माणका लागि दुई चरणमा महायज्ञ गरी करिब नौ करोड रुपैयाँ संकलन भएको उनले बताए। पोखरामा दुई वर्ष अघि महायज्ञ गरी छ करोड रुपैयाँ दान सहयोग सङ्कलन गरिकोमा हालै अर्को महायज्ञ सञ्चालन गरी तीन करोड रुपैयाँ दान सहयोग संकलन गरिएको थियो। आश्रमले महिला, पुरुष, बालबालिका, अशक्त र वृद्धवृद्धालाई छुट्टाछुट्टै राखेर सहयोगापेक्षी मैत्री सेवा प्रवाह गर्दै आइरहेको आश्रमका उपाध्यक्ष उमा भण्डारीले बताइन्।
उनका अनुसार आश्रमका सबै सेवा केन्द्रहरूमा त्यहाँको दिगो सञ्चालनलाई लक्षित गरी गाईपालन, अग्र्यानिक तरकारी र फलफूल खेती गरिदै आइएको छ। आश्रमको प्रधान कार्यालय हेटौंडा सहित पोखरा, चितवन, गोरखा, झापा लगायत स्थानमा आफ्नै भवनहरू निर्माण भइसकेको बताउँदै उनले अन्य सेवा केन्द्रहरूका आफ्नै भवन बन्ने तथा बनाउने क्रममा अघि बढेको बताए।
आश्रमले केही वर्षयता हरेक वर्ष मेची महाकाली राष्ट्रिय उद्धार अभियान सञ्चालन गरी देशभर सहयोगापेक्षी सडकआश्रित मानवहरूको खोजी गर्दै उनीहरूलाई आश्रय दिने कार्य गर्दै आएको छ। यस अभियानमा प्रसिद्ध गायिका आनी छोइङ डोल्मा पनि जोडिएकी छन्। आनीछोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा तीनपटक मेची महाकाली राष्ट्रिय उद्धार अभियान सञ्चालन गरिएको छ। फाउन्डेसनकी अध्यक्ष आनी छोइङ मानव सेवा आश्रमको सेवाभावले आफूलाई सक्रिय रूपमा समाज सेवामा लाग्न प्रेरित गरेको बताउँदै मानव सेवामा गरिएको लगानी जीवनपर्यन्तसम्म आत्मसन्तुष्टि र वास्तविक पुण्य प्राप्त हुने बताउँछन्।
राज्यले असहाय, ज्येष्ठ नागरिक तथा बालबालिकालाई लक्षित गरी कानुन बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकिरहेका अवस्थामा आश्रमले असहाय तथा सहयोगापेक्षी ज्येष्ठ नागरिक तथा बालबालिकालाई गरिरहेको साथ र सहयोग अतुलनीय छ।
समाज कल्याण ऐन २०४९ समाजकल्याण कार्यको परिभाषा गर्दै समाजमा कमजोर, असहाय र अशक्त व्यक्तिको लागि सहयोग पुर्याउन र समाजका पिछडिएका वर्गलाई आर्थिक एवं सामाजिकरूपमा सक्षम बनाउन गरिने सामाजिक कार्यका रूपमा उल्लेख गरेको छ।
त्यस्तै ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ मा ज्येष्ठ नागरिकको उचित व्यवस्थापनको लागि हेरचाह केन्द्र, दिवा सेवा केन्द्रको व्यवस्था गरिनुपर्ने उल्लेख गरेको छ।
उक्त ऐनमा ज्येष्ठ नागरिकप्रति श्रद्धा गर्नुपर्ने र पालनपोषण, हेरचाहको दायित्व समाज र परिवारप्रति रहने भनिएको छ। बालबालिकासम्बन्धी ऐन, २०५६ को संशोधनमा बालकलाई हेरचाह गर्ने अधिकारी र बेवारिसे बालकको परिभाषा गर्दै विभिन्न दफाहरूमा उनीहरूको हक–अधिकारको व्यवस्था गरिएको पाइन्छ। 'हामी एक छाक भोजनको अभावमा, एक सरो कपडा र ओत लाग्ने छानोको अभावमा कोही पनि व्यक्तिहरू मानसिक वा मनोसामाजिक समस्या तथा शारीरिक रूपमा कमजोर भई सडकपेटी एवं सार्वजनिकस्थलहरूमा अत्यन्तै कष्टपूर्ण, पीडादायी एवं दयनीय जीवनयापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको सेवाको लागि प्रतिबद्ध छौँ', अध्यक्ष अधिकारीले भने।
सीमित स्रोतसाधनको सदुपयोग र परोपकारी मानवताप्रेमी मनहरूको मुठ्ठीमुठ्ठीको योगदानबाट वैदेशिक दातृ निकायहरूको कुनै पनि शर्त राखेर गरिएको सहयोग स्वीकार नगरी देशमा कोही पनि नागरिक सडकपेटी र सार्वजनिक स्थलहरूमा सहयोगापेक्षी भइरहनु हुँदैन भन्ने कुरामा सबै नागरिक, सरकारका विभिन्न तह र तप्कामा रहेका व्यक्तिलाई बुझाउँदै उनीहरूलाई दायित्वबोध गराउनुपर्ने उनको भनाइ छ।
कैयौँ नागरिकको जीवनसँग जोडिएको र सम्पूर्ण नेपालीहरूको संस्कृति, सभ्यता, पहिचान र गरिमासँग जोडिएको यस अभियानलाई सफल पार्न उनले सबैसँग आग्रह गरे। -रासस