काठमाडौं। प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने गर्छ। विशेषगरी एकैपटक ठूलो संख्यामा शव प्राप्त हुँदा भावनात्मक पक्षसँगै वैज्ञानिक र कानुनी प्रक्रिया पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
फरेन्सिक मेडिसिन विज्ञ प्राडा हरिहर वस्तीका अनुसार मृतकको पहिचान, मृत्युको कारण पत्ता लगाउनेदेखि शवलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने काममा फरेन्सिक विज्ञानको भूमिका निर्णायक हुन्छ।
‘फरेन्सिक’ शब्द प्रमाण र तथ्यसँग सम्बन्धित विषय भएको उल्लेख गर्दै वस्तीले फरेन्सिक मेडिसिनलाई चिकित्सा विज्ञानका तथ्य तथा ज्ञानको अदालतमा हुने उपयोगसम्बन्धी अध्ययनका रूपमा व्याख्या गरे।
उनले भने,‘फरेन्सिस’ ग्रीक रोमन शब्द मानिन्छ। प्रमाणसँग सम्बन्धित शब्द हो। र फरेन्सिक भनेको जहिले पनि एड्जेक्टिभ (विशेषण) को रूपमा युज गरिन्छ। फरेन्सिक मेडिसिन भन्नेबित्तिकै चिकित्सा क्षेत्रको तथ्य तथा ज्ञानको खोज भनेर बुझ्नुपर्छ। यो शब्द अदालतमा पनि उपयोग हुन्छ। चिकित्सा विज्ञानको तथ्य तथा ज्ञानको अदालती उपयोगको अध्ययन गर्ने शास्त्र भनेर भनिन्छ।’
उनका अनुसार फरेन्सिक मेडिसिन कानुनमा पनि आवश्यक पर्ने चिकित्सा पद्धती पनि हो। कुनै घटना भएको हो वा होइन, मृत्यु कसरी भयो, कसैको संलग्नता छ वा छैन भन्ने विषयमा निष्कर्षमा पुग्न तथ्य र प्रमाण आवश्यक हुन्छ। ती तथ्य तथा प्रमाण वैज्ञानिक ढंगले संकलन र विश्लेषण गर्ने भएकाले फरेन्सिकको महत्त्व हुन्छ।
जिउँदोदेखि शवसम्म फरेन्सिकको भूमिका
फरेन्सिक मेडिसिनलाई मृत शरीर चिर्ने विषयका रूपमा मात्र बुझ्न नहुने डा.वस्ती बताउँछन्। जीवित व्यक्तिको परीक्षण पनि यसको महत्त्वपूर्ण हिस्सा हो।
बलात्कार वा अन्य यौनजन्य अपराधका पीडित तथा आरोपितको परीक्षण, कुटपिटबाट लागेको चोटको परीक्षण, उमेर निर्धारणलगायतका काम फरेन्सिक मेडिसिनअन्तर्गत पर्छन्।
तर ठूलो विपद्का बेला यसको सबैभन्दा चुनौतीपूर्ण पक्ष शव परीक्षण र पहिचानसँग जोडिन्छ। कुनै व्यक्ति दुर्घटनामा परेको हो, आत्महत्या गरेको हो वा हत्या भएको हो भन्ने छुट्याउन शव परीक्षणबाट महत्त्वपूर्ण प्रमाण प्राप्त गर्न सकिने वस्तीको भनाइ छ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने, ‘फरेन्सिक मेडिसिन भनेको मृत शरीर चिर्ने विषय मात्र होइन। जीवित व्यक्तिको परीक्षण पनि यसको महत्त्वपूर्ण हिस्सा हो। बलात्कार वा अन्य यौनजन्य अपराधका पीडित तथा आरोपितको परीक्षण, कुटपिटबाट लागेको चोटको परीक्षण, उमेर निर्धारणलगायतका काम पनि फरेन्सिक मेडिसिनअन्तर्गत पर्छन्। तर ठूलो विपद्का बेला यसको सबैभन्दा चुनौतीपूर्ण पक्ष शव परीक्षण र पहिचानसँग जोडिन्छ। कुनै व्यक्ति दुर्घटनामा परेको हो, आत्महत्या गरेको हो वा हत्या भएको हो भन्ने छुट्याउन शव परीक्षणबाट महत्त्वपूर्ण प्रमाण प्राप्त गर्न सकिन्छ।’
ठूलो संख्यामा शव आएपछि चुनौती थपियो
हालैको बाढी तथा विपद्का कारण ठूलो संख्यामा शव प्राप्त भएपछि नेपालमा फरेन्सिक व्यवस्थापनको आवश्यकता झन् स्पष्ट भएको डा.वस्ती बताउँछन्।
विपद्को सुरुवाती चरणमा एक–दुई शव प्राप्त हुँदा तत्काल उपलब्ध स्रोतसाधनबाट व्यवस्थापन गर्न सकिए पनि एकैपटक दर्जनौँ र सयौँ शव प्राप्त हुन थालेपछि अवस्था जटिल बन्ने उनको अनुभव छ।
उनका अनुसार अहिले प्राप्त भइरहेका शवमध्ये धेरैको अवस्था बिग्रिँदै गएको छ। केही दिनमै शव फुल्ने, कुहिने र कीरा पर्ने भएकाले अनुहारका आधारमा मात्र आफन्तले पहिचान गर्न नसक्ने अवस्था आउन सक्छ।
उनले भने, ‘विपद्को सुरुवाती चरणमा एक–दुईवटा शव आउँदा उपलब्ध स्रोतसाधनबाटै व्यवस्थापन गर्न सकिन्छ। तर एकैपटक दर्जनौँ र सयौँ शव आउन थालेपछि अवस्था जटिल बन्छ। अहिले प्राप्त भइरहेका धेरै शवको अवस्था बिग्रिँदै गएको छ। केही दिनमै शव फुल्ने, कुहिने र कीरा पर्ने भएकाले अनुहार हेरेर मात्रै आफन्तले पहिचान गर्न नसक्ने अवस्था आउँछ। त्यसैले यस्तो अवस्थामा शवलाई वैज्ञानिक विधिबाट परीक्षण गरेर उपलब्ध सबै प्रमाण सुरक्षित राख्नुपर्छ।’
यस्तो अवस्थामा शवलाई वैज्ञानिक विधिबाट परीक्षण गरी उपलब्ध सबै प्रमाण सुरक्षित राख्नुपर्ने हुन्छ।
शवको पहिचानका लागि के गरिन्छ ?
डा.वस्तीका अनुसार पहिचान नखुलेका शवको पहिचानका लागि मुख्यतः प्रारम्भिक र भरपर्दा वैज्ञानिक विधि प्रयोग गरिन्छ।
प्रारम्भिक चरणमा शवको शारीरिक बनोट, अनुहार, पहिरन, गरगहना, घडी तथा अन्य व्यक्तिगत सामग्रीको अभिलेख राखिन्छ। शरीरमा रहेका ट्याटु, कोठी, खत, अप्रेसनका चिनो, असामान्य शारीरिक विशेषता वा औँलाको संख्या जस्ता विवरण पनि संकलन गरिन्छ।
शवको फोटो खिचेर सम्पूर्ण विवरण अभिलेखीकरण गरिन्छ। औँठाछाप लिन सकिने अवस्था भए प्रहरीका फरेन्सिक तथा फिङ्गरप्रिन्ट विज्ञको सहयोगमा औँठाछापसमेत संकलन गरिन्छ।
त्यसैगरी भविष्यमा आवश्यक पर्नसक्ने भएकाले डीएनए परीक्षणका लागि उपयुक्त नमुना सुरक्षित राखिन्छ।
उनले भने, ‘पहिचान नखुलेका शवको पहिचानका लागि प्रारम्भिकदेखि वैज्ञानिक विधिसम्म प्रयोग गर्नुपर्छ। शवको शारीरिक बनोट, अनुहार, पहिरन, गरगहना, घडी तथा अन्य व्यक्तिगत सामग्रीको विवरण राखिन्छ। शरीरमा ट्याटु, कोठी, खत, अप्रेसनका चिनो वा अन्य कुनै विशेष पहिचानजन्य लक्षण छन् भने ती सबै अभिलेखीकरण गरिन्छ। शवको फोटो खिचिन्छ र अवस्था हेरेर औँठाछापसमेत संकलन गरिन्छ। त्यसका लागि फिङ्गरप्रिन्ट विज्ञको सहयोग लिनुपर्छ। भविष्यमा आवश्यक पर्न सक्ने भएकाले डीएनए परीक्षणका लागि उपयुक्त नमुनासमेत सुरक्षित राख्नुपर्छ।’
शवलाई तत्काल नामबाट पहिचान गर्न नसकिने अवस्थामा निश्चित कोड वा नम्बर दिएर अभिलेख राखिन्छ। त्यसै नम्बरका आधारमा शवसँग सम्बन्धित सम्पूर्ण विवरण सुरक्षित गरिन्छ।
आफन्तले दिने विवरण पनि उत्तिकै महत्त्वपूर्ण
शवको पहिचानमा मृतकको मृत्यु हुनुअघिको अवस्थासम्बन्धी विवरण अर्थात् ‘एन्टिमोर्टम डेटा’ महत्त्वपूर्ण हुन्छ।
आफन्तले मृतकको उचाइ, कपालको अवस्था, शरीरमा रहेका कोठी वा खत, पुराना चोटपटक, शल्यक्रियाका चिनो, हड्डी भाँचिएको इतिहास, दाँतको अवस्था, नक्कली दाँत वा दाँतमा गरिएको उपचारलगायतका विवरण उपलब्ध गराउन सक्छन्।
अर्कोतर्फ शव परीक्षणका क्रममा संकलन गरिएका विवरणलाई ‘पोस्टमार्टम डेटा’ का रूपमा राखिन्छ।
यी दुई प्रकारका विवरणबीच तुलना गरेर पहिचानको सम्भावना खोजिन्छ। सामान्य हुलिया मिल्नु प्रारम्भिक आधार हुनसक्छ। तर भरपर्दो पहिचानका लागि औँठाछाप वा डीएनए जस्ता वैज्ञानिक प्रमाण आवश्यक पर्न सक्छन्।
‘औँठाछाप मिल्यो भने पहिचान गर्न सकिन्छ। त्यो पनि सम्भव भएन भने डीएनए परीक्षणमा जानुपर्छ,’ वस्तीले भने, ‘डीएनए परीक्षणले आफन्तसँगको जैविक सम्बन्धका आधारमा पहिचान पुष्टि गर्न मद्दत गर्छ।’
पहिचान तत्काल सम्भव हुँदैन
ठूलो विपद्का बेला सयौँ शव एकैपटक प्राप्त हुँदा सबैको पहिचान तत्काल गर्न सम्भव नहुने वस्तीको भनाइ छ।
शवको वैज्ञानिक परीक्षण, विवरण संकलन, फोटो अभिलेख, औँठाछाप तथा डीएनए नमुना संकलनलगायतका कामका लागि निश्चित समय आवश्यक हुन्छ।
उनका अनुसार विज्ञको संख्या बढाए पनि वैज्ञानिक प्रक्रियाको आफ्नै गति हुन्छ। एकैदिन ठूलो संख्यामा शव आएमा सबैको काम तत्काल सम्पन्न गर्न कठिन हुन्छ।
त्यसैले पहिचान नखुलेका शवलाई सुरक्षित राख्ने व्यवस्था पहिल्यै तयार हुनुपर्ने उनको जोड छ।
उनले भने, ‘ठूलो विपद्का बेला सयौँ शव एकैपटक आउँदा सबैको पहिचान तत्काल गर्न सम्भव हुँदैन। शवको वैज्ञानिक परीक्षण, विवरण संकलन, फोटो अभिलेख, औँठाछाप र डीएनए नमुना संकलनलगायतका कामका लागि समय चाहिन्छ। विज्ञको संख्या बढाए पनि वैज्ञानिक प्रक्रियाको आफ्नै गति हुन्छ, एकैदिन ठूलो संख्यामा शवको काम सकिँदैन। त्यसैले पहिचान नखुलेका शवलाई सुरक्षित राख्ने व्यवस्था पहिल्यै तयार हुनुपर्छ।’
‘शव कहाँ र कसरी राख्ने ?’
ठूलो विपद्का बेला सबैभन्दा गम्भीर प्रश्न शव कहाँ र कसरी राख्ने भन्ने हुन्छ। वस्तीका अनुसार पर्याप्त शवगृह वा चिस्यानयुक्त भण्डारणको व्यवस्था नभए शवलाई अस्पताल वा बजार क्षेत्रमा लामो समय राख्दा सार्वजनिक स्वास्थ्य र वातावरणमा समेत समस्या आउन सक्छ।
२०७२ सालको भूकम्पको अनुभव स्मरण गर्दै उनले त्यतिबेला काठमाडौंको महाराजगन्ज क्षेत्रमा शव व्यवस्थापन ठूलो चुनौती बनेको बताए। लामो समय शव व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको र पछि अस्थायी चिहानको समेत व्यवस्था गर्नुपरेको उनको भनाइ छ।
यही अनुभवका आधारमा विपद्पछि शव व्यवस्थापनसम्बन्धी निर्देशिकालाई समयअनुकूल परिमार्जन गरिएको उनले बताए।
उनले भने, ‘ठूलो विपद्का बेला सबैभन्दा ठूलो चुनौती शव कहाँ र कसरी राख्ने भन्ने हुन्छ। पर्याप्त शवगृह वा चिस्यानयुक्त भण्डारणको व्यवस्था छैन भने अस्पताल वा बजार क्षेत्रमा लामो समय शव राख्न सकिँदैन। २०७२ सालको भूकम्पमा पनि महाराजगन्ज क्षेत्रमा शव व्यवस्थापन निकै ठूलो समस्या बनेको थियो। लामो समयसम्म शव व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको थियो र पछि अस्थायी चिहानसमेत बनाउनुपरेको थियो। त्यही अनुभवका आधारमा विपद्पछि शव व्यवस्थापनसम्बन्धी निर्देशिकालाई पनि समयअनुकूल परिमार्जन गरिएको हो।’
अस्थायी चिहान पनि वैज्ञानिक व्यवस्थापनको विकल्प
ठूलो संख्यामा शव प्राप्त हुँदा तत्काल सबैलाई चिस्यानयुक्त भण्डारणमा राख्न सम्भव नहुने अवस्थामा अस्थायी रूपमा गाड्ने विकल्प प्रयोग गर्न सकिने वस्ती बताउँछन्।
तर त्यसरी गाडिएका शवलाई स्थायी रूपमा बेवारिसे बनाउने उद्देश्य भने नहुने उनको स्पष्टोक्ति छ।
शवलाई वैज्ञानिक रूपमा अभिलेखीकरण गरेर निश्चित नम्बर वा कोड प्रदान गर्ने, आवश्यक नमुना संकलन गर्ने र स्थानको विवरण सुरक्षित राख्ने हो भनेपछि आफन्तले दाबी गर्दा पुनः पहिचान गर्न सकिने उनको भनाइ छ।
उनले भने, ‘ठूलो संख्यामा शव प्राप्त हुँदा तत्काल सबैलाई चिस्यानयुक्त भण्डारणमा राख्न सम्भव हुँदैन। त्यस्तो अवस्थामा अस्थायी रूपमा गाड्ने विकल्प प्रयोग गर्न सकिन्छ। तर त्यसरी गाडिएको शव स्थायी रूपमा बेवारिसे बनाउने होइन। प्रत्येक शवको वैज्ञानिक रूपमा अभिलेखीकरण गरेर निश्चित नम्बर वा कोड दिनुपर्छ, आवश्यक नमुना संकलन गर्नुपर्छ र गाडिएको स्थानको विवरण सुरक्षित राख्नुपर्छ। त्यसो गरियो भने पछि आफन्त आएर दाबी गर्दा वैज्ञानिक प्रमाणका आधारमा पुनः पहिचान गर्न सकिन्छ।’
उनका अनुसार अस्थायी चिहानमा शव गाड्दा सामान्यतः कुनै विशेष रसायन प्रयोग गर्न आवश्यक पर्दैन। शवलाई पर्याप्त गहिराइमा गाडेमा जनावरले उधिन्न नसक्ने र दुर्गन्धसमेत बाहिर नआउने हुन्छ।
डा.वस्तीका अनुसार शवलाई छिटो गलाउने उद्देश्य भए नुन प्रयोग गर्न सकिने भए पनि पहिचानका लागि सुरक्षित राख्ने अवस्थामा त्यसको आवश्यकता हुँदैन।
१२ वर्षसम्म पहिचानको कानुनी अधिकार
विपद्पछि गाडिएका अस्थायी चिहानका शवलाई लामो समयपछि पनि पहिचान गर्न सकिने व्यवस्था रहेको वस्ती बताउँछन्।
उनका अनुसार सम्बन्धित निर्देशिकाले अस्थायी चिहानलाई १२ वर्षसम्मको अवधिसँग जोडेको छ। यस अवधिमा आफन्तले मृतकको पहिचानसम्बन्धी दाबी गरेमा उपलब्ध अभिलेख र वैज्ञानिक प्रमाणका आधारमा खोज तथा पहिचानको प्रक्रिया अघि बढाउन सकिन्छ।
तर १२ वर्षपछि पनि चिहान तुरुन्त हटाइहाल्ने भन्ने अर्थ नलाग्ने उनले स्पष्ट पारे। मानवीयतासँग जोडिएको विषय भएकाले लामो समयपछि पनि पहिचानको प्रयास गर्न सकिने उनको भनाइ छ।
उनले भने, ‘१२ वर्षसम्म त्यो चिहान अस्थायी चिहान हुन्छ। कसैले १२ बर्षपछि मेरो मान्छे खोजीदेउ भन्दाखेरि खोज्नुपर्छ। तर १२ वर्षपछि चाहिं क्लेम लाग्दैन। चिहान कसैले १२ वर्षको भोलिपल्ट फाल्दैन। चिहान त २० वा ४० वर्षसम्म बसिरहन्छ।’
‘आत्तिएर होइन, वैज्ञानिक प्रणालीबाट अघि बढ्नुपर्छ’
डा.वस्तीका अनुसार ठूलो विपद्का बेला सबैभन्दा आवश्यक कुरा धैर्यता र व्यवस्थित प्रणाली हो। ‘आत्तिएर होइन, सिस्टेमेटिक एप्रोच लिनुपर्छ। वैज्ञानिक पद्धति अपनाउनुपर्छ,’ उनले भने।
उनका अनुसार बेलायत, अमेरिका र अस्ट्रेलियाजस्ता देशमा पनि ठूलो विपद्का बेला सयौँ वा हजारौँ शवको पहिचान तत्काल सम्पन्न हुँदैन। त्यहाँ पनि शवको अभिलेखीकरण, सुरक्षित व्यवस्थापन, एन्टिमोर्टम तथा पोस्टमार्टम डेटा संकलन र वैज्ञानिक परीक्षणमार्फत क्रमशः पहिचान गरिन्छ।
त्यसैले नेपालमा पनि ठूलो विपद्को सम्भावनालाई ध्यानमा राखेर पर्याप्त शवगृह, प्रशिक्षित जनशक्ति, फरेन्सिक विज्ञ, फिङ्गरप्रिन्ट विशेषज्ञ, डीएनए परीक्षणको क्षमता र व्यवस्थित अभिलेख प्रणाली तयार गर्नुपर्ने आवश्यकता उनले औँल्याए।
‘आफन्तले आफ्नो मान्छेको शव तुरुन्त पाऊन् भन्ने स्वाभाविक चाहना हो। तर ठूलो विपद्का बेला वैज्ञानिक पहिचानका लागि समय लाग्छ। त्यसैले शवलाई सुरक्षित राख्नु र प्रमाण जोगाउनु नै अन्ततः आफन्तलाई सही शव हस्तान्तरण गर्ने आधार हो,’ वस्तीले भने।
ठूलो विपद्मा मृत्युको संख्या गन्नु मात्र पर्याप्त हुँदैन। प्रत्येक शवको पहिचान, प्रमाणको संरक्षण र सम्मानजनक व्यवस्थापन पनि राज्यको उत्तिकै महत्त्वपूर्ण दायित्व हो। फरेन्सिक विज्ञानले यही दायित्व पूरा गर्न तथ्य, प्रमाण र विज्ञानलाई एउटै ठाउँमा जोड्ने काम गर्छ।