शुक्रबार, असोज २, २०८३

एशियाली खेलकुदमा कुन-कुन खेलमा हुँदैछ नेपालको सहभागिता ?

 |  शुक्रबार, असोज २, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०८३

काठमाडौं- जापानको आइची–नागोयामा शनिबारदेखि सुरु हुने २०औँ संस्करणको एशियाली खेलकुदमा नेपालले २२ खेलमा सहभागिता जनाउने भएको छ। अक्टोबर ४ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट ८० पुरुष र ५६ महिला गरी १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ।

नेपालबाट कुल २११ सदस्यीय टोली प्रतियोगितामा सहभागी हुँदैछ। टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, ६ सदस्यीय चिकित्सकीय टोली, चार पत्रकार तथा विशिष्ट अतिथिसहित मुख्य प्रतिनिधि, उपमुख्य प्रतिनिधि र अन्य अधिकारी रहेका छन्।

नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एशियाली खेलकुददेखि निरन्तर सहभागिता जनाउँदै आएको छ। पहिलो संस्करणमा एथलेटिक्सतर्फ नौ सदस्यीय टोली सहभागी भएको नेपालले यसपटक टिम खेलसहित विभिन्न व्यक्तिगत खेलमा प्रतिस्पर्धा गर्दैछ।

टिम खेलतर्फ पुरुष तथा महिला कबड्डी, पुरुष क्रिकेट र महिला भलिबलमा नेपालको सहभागिता रहनेछ। कबड्डीमा पुरुष र महिला गरी २४ खेलाडी सहभागी हुनेछन्। पुरुष क्रिकेट टोलीमा १५ र महिला भलिबल टोलीमा १२ खेलाडी छन्।

व्यक्तिगत खेलतर्फ उसुमा सबैभन्दा बढी खेलाडी सहभागी हुनेछन्। त्यसबाहेक नेपालले धनुर्विद्या, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, गल्फ, जुडो, कराते, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबलटेनिस, टेनिस र कुस्तीमा पुरुष तथा महिला दुवैतर्फ प्रतिस्पर्धा गराउनेछ।

डुंगा दौड, स्केटबोर्ड र तेक्वान्दोमा भने नेपालका पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन्। नृत्य खेलमा नेपालबाट एक खेलाडी सहभागी हुनेछन्।

नेपालले एशियाली खेलकुदमा पहिलो पदक सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ संस्करणमा जितेको थियो। त्यसयता नेपाल पदकविहीन भएर फर्किएको छैन। अहिलेसम्म नेपालले एशियाली खेलकुदमा तीन रजत र २३ कांस्य गरी कुल २६ पदक जितेको छ। तर नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन।

यसअघि सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुदमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका थिए। उक्त प्रतियोगितामा नेपालले करातेकी एरिका गुरुङको ऐतिहासिक रजत पदक र महिला कबड्डी टोलीको कांस्य पदक गरी दुई पदक जितेको थियो।

प्रकाशित: Sep 18, 2026| 11:06 शुक्रबार, असोज २, २०८३
प्रतिक्रिया दिनुहोस्