मंगलबार, भदौ १६, २०८३

मालिकार्जुन धाम गौरा पर्वसँगै १८ वर्ष पछिको मेरो अनुभूति

 |  मंगलबार, भदौ १६, २०८३

माधवसिंह धामी

माधवसिंह धामी

मंगलबार, भदौ १६, २०८३

दार्चुला- मन्दिरको संक्षिप्त परिचय:
मालिकार्जुन मन्दिर शिव र पार्वतीको शक्तिपीठ हो। यहाँ ‘मालिका’ पार्वती र ‘अर्जुन’ शिवको रूपमा पूजिन्छन्। यो धामको मूल ज्योतिर्लिङ्ग दक्षिण भारतको आन्ध्र प्रदेशस्थित श्रीशैलमसँग जोडिएको मानिन्छ। शिवपुराण अनुसार कार्तिकेय रिसाएर क्रौंच पर्वतमा बसेपछि शिव-पार्वती उनलाई मनाउन ( खुसी पार्न) त्यहाँ पुगेका थिए र त्यहीँ मल्लिकार्जुन ज्योतिर्लिङ्ग प्रकट भएको कथा छ।

मुगल शासनकालमा धर्म परिवर्तनको भयले आफ्नो जीवन र धर्म रक्षाका लागि अभयराज पाण्डे, नीमनाथ योगी, भीमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजीलगायतको समूह शिवलिङ्ग र शालिग्राम लिएर दक्षिण भारतबाट हिड्दै उनीहरू कत्युर, गढवाल, कुमाउँ हुँदै दार्चुलाको लेकम क्षेत्रको रिठाचौपाताको जाइझुलमा आएर बसोबास गरेको र त्यहीँ शिवलिङ्ग स्थापना गरी पूजा शुरु गरेको पौराणिक इतिहास छ।

...पछि शैल्यशिखर पर्वतमा भगवान् विराजमान भएको र मड गाउँमा मन्दिर स्थापना भएको कथन रहेको छ। राष्ट्रको सातौं धाम मानिएको यस मन्दिरमा असार शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रयोदशी/चतुर्दशीमा पूजन जात्रा लाग्ने गर्छ भने भाद्र महिनाको गौरा विशेष आकर्षणको केन्द्र बन्छ।

789347920_4507753152815220_782758865854420329_n-1788242799.jpg
गौरा पर्व र यसको मौलिक पृष्ठभूमि:
गौरा पर्व विशेषगरी नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही भूभागहरुमा श्रद्धा र भव्यताका साथ मनाइने महत्वपूर्ण धार्मिक, सांस्कृतिक एवं मौलिक पर्व हो। यसको मूल गाथा  भगवान् शिव र माता पार्वती (गौरी) सँग जोडिएको मानिन्छ।

पौराणिक मान्यताअनुसार पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। उनको अटल तपस्या, श्रद्धा र निष्ठाबाट प्रसन्न भएर भगवान् शिवले उनलाई पत्नीका रूपमा स्वीकार गरे। यही पवित्र दाम्पत्य, प्रेम, निष्ठा र पारिवारिक सुखको प्रतीकका रूपमा गौरा पर्व मनाउने परम्परा विकसित भएको जनविश्वास छ। सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा पनि गौरा पर्व विशेष भव्यताका साथ मनाइन्छ।

जिल्लाकै ठूलो मौलिक एवं साँस्कृतिक पर्व मानिन्छ। भगवान् शिव (महेश्वर) र पार्वती (गौरा) को पूजा गरिने यो पर्व गौरीले कठोर तपस्या गरी शिवलाई पति पाएको सम्झनामा मनाइने गरिन्छ। सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा अन्य चाडपर्वहरु दशैँ,तिहार भन्दा पनि स्थानीयहरूले गौरालाई  बिशेष महत्वका साथ मनाउने चलन रहि आएकोछ। यो पर्व केवल धार्मिक अनुष्ठान मात्र होइन, सांस्कृतिक एकता, महिला सहभागिता र पुर्खाको परम्परा जोगाउने जीवन्त माध्यम पनि हो।

IMG-20260901-WA0002-1788241601.jpg
प्राचीन कथा:
गौरा पर्व प्राचीन हैह्यवंशी राजा सहस्रार्जुनले भृगुवंशी ब्राह्मणबाट आफूले दिएको धन फिर्ता माग्ने क्रममा ब्राह्मणको हत्या गरेको र विधवा ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षाका लागि निराहार व्रत बसेर गौरी माताको कठोर उपासना गरेएको। त्यसको फलस्वरूप एक ब्राह्मणीले तेजस्वी पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुग्दा राजाले माफी माग्नुपर्योको कथा छ। त्यसैले गौरीलाई सर्वशक्तिमान शक्ति मानी उनको सम्झनामा गौरा पर्व मनाउन थालिएको जनविश्वास छ।

अर्को तर्फ हिमालय राजाले छोरी पार्वती (गौरी) को विवाहका लागि अमुक्ता-भरण सप्तमी तिथि विशेष महत्व राख्ने भएकाले त्यसको स्मरणमा पनि यो पर्व मनाइन्छ। यसरी गौरा शिव र पार्वतीको विवाह, शक्ति, उर्वरता र परिवारिक सौहार्दको प्रतीक बनेको छ। भाद्र महिनामा (प्रायः भाद्र शुक्ल अष्टमी वा स्थानीय ज्योतिषीय गणनाअनुसार) लाग्ने यो गौरामा महिलाहरूले मुख्य भूमिका खेल्छन्।

IMG-20260901-WA0000-1788241644.jpg
गौराको शुभ-आरम्भ:
पहिलो दिन हिन्दु विवाहित महिलाहरू निराहार व्रत बसेर तामा वा पित्तलको भाँडोमा पञ्चबिरुडा (कलौं, मास, गहत, गहुँ, गुराँस आदि) भिजाउने चलन छ। दोस्रो दिन पवित्र पानीमा पाँचपटक धुने, तेस्रो दिन गौरा र महेश्वरको प्रतिमा मूर्ति बनाउने र नयाँ लुगा-गहनाले सजाउने गरिन्छ। रात भरि गौरा देवीको महिमा स्तुति गाउने गाएर रमाइलो गरिन्छ। अन्तिम दिन मूर्ति मन्दिरमा भित्र्याइन्छ र बिरुडा प्रसादका रूपमा बाँडिन्छ। मालिकार्जुन गाउँपालिका सहित शैल्यशिखर, महाकाली र लेकम क्षेत्रका भक्तजनहरूको ठूलो भिड लाग्ने गर्दछ। साथै छिमेकी राष्ट्र भारतको उत्तराखण्डलगायतका ठाउँबाट पनि श्रद्धालु भक्तजनहरु आउने गर्दछन।

भक्तजनको मनोकामना पूरा हुने,निसन्तानलाई सन्तान प्राप्ति हुने र घरमा सुख, शान्ति ,समृद्धि आउने विश्वासका साथ यहाँ आउनेहरूको संख्या बर्षै पिच्छे बढ्दै गएको छ। यो पर्व धार्मिक मात्र नभई सांस्कृतिक एकता, महिला सशक्तिकरण र पुर्खाको परम्परा जोगाउने जीवन्त माध्यम हो।

१८ बर्ष पछिको मेरो अनुभव:
मेरो आफ्नै अनुभव भने अझ गहिरो र भावपूर्ण छ। करिब २०६४ सालदेखि मैले मालिकार्जुन धामको गौरा भौतिक रुपमा उपस्थित भइ मनाउन नपाएको पनि झन्डै १८ वर्ष बितिसकेको रहेछ। भनिन्छ नि मान्छे परिस्थितिको दास हुन्छ भनेर ठ्याक्कै त्यही आफ्नो पढाइ र पढाइ पछिको जागिरे जीवनले बसाई प्रायः जिल्ला बाहिरै हुन पुग्यो।

यो मेरो इच्छा भनइ बाध्यता थियो। गौरा पर्वको तिथिमा गाउँ फर्कनु र गौरा पर्वको स्वयं उपस्थित भइ अवलोकन गर्ने समय जुरेको थिएन। हरेक वर्ष गौराको सम्झना र दौँतरी साथीभाइले तस्बिरहरु साझा गर्दा मन भारी र मनमा अनेकौ कुरा खेल्नुको पीडा अझै ताजै छन। २०८१ सालमा अचानक गौरा देवीको दर्शन र अवलोकन गर्ने अवसर जुर्यो। त्यसबेला  मालिकार्जुन मन्दिरको प्राङ्गणमा आफ्ना आफन्तजन,इष्टमित्र र साथिभाइ संग भेटघाट तथा रमाइलो गर्ने आफ्ना विगत १८ बर्ष देखि मनमा रहेका ब्यथाहरु सेयर गर्दै आफ्नै मौलिक   संस्कृतिमा रमाउने सौभाग्य प्राप्त भयो।

IMG-20260901-WA0003-1788241732.jpg
त्यस बेलाको खुसी शब्दमा बयान गर्न सकिँदैन। मन्दिर परिसरमा भक्तजनको भीड,गौरा देवीको भक्तिभाव,मन्दिर परिसरको सुगन्धित माहोल , स्थानीय स्तरको गौरा देवीको महिमा गानको धुन र आफन्तहरूको मुस्कानले पुरानै बाल्यकाल फर्के जस्तो अनुभूति र खुसीको सिमानै थिएन। आफ्ना मान्यजन हजुरआमा,आमा, काकी, दीदी, फुपूलगायतका हातबाट करिब १८ वर्षपछि बिरुडाले शिर पुजन र आशिर्वाद प्राप्त गर्दा त्यो क्षण मेरो जीवनको अविस्मरणीय र पवित्र पल बन्न पुग्यो। खुसीले गदगद मन र आँखा भरिको त्यो आशु सम्झन लायक पल बन्यो। साथीहरूसँगको डेउडा खेल पनि निकै मनमोहक र अविस्मरणीय क्षण भैदियो। रातभरि गाइएका गीत, हात मिलाएर नाचिएको डेउडा र त्यस बेलाको रमाइलो अहिले पनि मनमा ताजै छ। वर्णन गर्नै नसकिने खालको अनुभव थियो।


मालिकार्जुनको गौरा भनेको भक्ति, गीत-संगीत, आफन्तको आशिर्वाद र स्थानीय संस्कृतिले भरिएको पवित्र र रमाइलो पर्व हो। इतिहास, आस्था, पुर्खाको किम्बदन्ती र व्यक्तिगत स्मृति एकै ठाउँमा मिसिएको यो अनुभव जसले एकपटक गर्छ, उसको मनमा सधैं ताजा रहन्छ। समय परिस्थिति र बाध्यतापे गाउँ बाहिर आफ्नो कर्मथलो बनाएका आम मानिसका लागि यो पर्वले जन्मभूमिको माटो, आमाको आशिर्वाद र बाल्यकालको सम्झाउने एक महत्त्वपूर्ण आधार पनि हो। श्री शैल्य मालिकार्जुन धामको गौरा केवल एक पर्व होइन, सम्पूर्ण दार्चुला बासिको आत्मा हो। 

अन्तमा:
यसरी गौरा केवल शिव र पार्वतीको धार्मिक कथा मात्र होइन, दाम्पत्य प्रेम, पारिवारिक एकता, नारी शक्ति, कृषि, संस्कृति र सामुदायिक सद्भावको पर्व पनि हो। गौरा देवी केवल पूजा गरिने देवी मात्रै होइनन्, उनी सुदूरपश्चिमेली समाजको मौलिकता आस्था, बिश्वास, संस्कार, संस्कृती,नारीशक्ति र सामूहिक स्मृतिकी जीवित प्रतीक हुन्।
 

प्रकाशित: Sep 01, 2026| 11:35 मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्