शुक्रबार, असोज २, २०८३

अभिषेक शर्माको ३० बलमै कीर्तिमानी शतक

 |  शुक्रबार, असोज २, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०८३

काठमाडौं- भारतीय ब्याट्सम्यान अभिषेक शर्माले अफगानिस्तानविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ३० बलमै शतक प्रहार गर्दै पूर्ण सदस्य राष्ट्रका ब्याट्सम्यानमध्ये सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान कायम गरेका छन्।

दिल्लीमा विहिबार राति भएको खेलमा अभिषेकले ३० बलमा शतक पूरा गर्दै जिम्बाब्वेका सिकन्दर रजा र न्युजिल्यान्डका फिन एलेनको ३३ बलको कीर्तिमान तोडेका हुन्। एलेनले सन् २०२६ को टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध तथा रजाले सन् २०२४ मा गाम्बियाविरुद्ध ३३ बलमा शतक बनाएका थिए।

अभिषेकले १६ बलमा अर्धशतक पूरा गरेका थिए। त्यसपछि थप १४ बलमा शतक पूरा गरेका उनले अन्ततः ३४ बलमा १०८ रन बनाएर आउट भएका थिए। उनले नौ चौका र ११ छक्का प्रहार गरेका थिए। 

यो अभिषेकको टी–२० अन्तर्राष्ट्रिय खेलमा तेस्रो शतक हो। भारतीय ब्याट्सम्यानमध्ये रोहित शर्माले पाँच तथा सूर्यकुमार यादवले चार शतक बनाएका छन्। टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतकको कीर्तिमान भने एस्टोनियाका साहिल चौहानको नाममा छ, जसले सन् २०२४ मा साइप्रसविरुद्ध २७ बलमा शतक बनाएका थिए।

प्रकाशित: Sep 18, 2026| 07:06 शुक्रबार, असोज २, २०८३
प्रतिक्रिया दिनुहोस्