पछिल्ला केही दिनयता आफ्नै गाउँ, डोटीको जोरायल गाउँपालिकाका विभिन्न बस्ती पुग्ने अवसर मिल्यो। घर यहीँ भएकाले ती ठाउँहरू मेरा लागि नयाँ थिएनन्। तर, यसपटक मैले गाउँलाई एउटा फरक दृष्टिले हेर्ने प्रयास गरेँ। अहिले म सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तह (बीए) अध्ययनरत विद्यार्थी हुँ। अध्ययनले राजनीति, समाज र राज्यका सिद्धान्त सिकाइरहेको छ। तर आफ्नै गाउँका विभिन्न बस्तीमा पुगेर नागरिकसँग संवाद गर्दा मैले किताबमा नपाइने यथार्थ देख्ने र बुझ्ने अवसर पाएँ।
आफ्नै ठाउँ भएर पनि यसपटक धेरै कुरा नयाँ लागे। केही विकट बस्तीमा पुग्दा नागरिकका अनुहारमा आशा पनि देखेँ, संघर्ष पनि। उनीहरूका कुरा सुन्दै जाँदा मनमा एउटै प्रश्न बारम्बार उठिरह्यो-हामीले राजनीतिको केन्द्रमा वास्तवमै के राखेका छौँ? हामी देशका ठूला विषयमा बहस गर्छौँ। विकास, समृद्धि, सुशासन, आर्थिक वृद्धि, लगानी, पूर्वाधार र परिवर्तनका नाराले सार्वजनिक मञ्च भरिन्छन्। सामाजिक सञ्जालदेखि संसद्सम्म ठूला एजेन्डाको चर्चा हुन्छ। तर जब गाउँका घरआँगनमा पुगिन्छ, त्यहाँका मानिसका प्रश्न फरक हुन्छन्। उनीहरूका लागि सबैभन्दा ठूलो एजेन्डा बिरामी पर्दा उपचार कहाँ पाइन्छ भन्ने हो। बालबालिकाले राम्रो विद्यालयमा पढ्न पाउँछन् कि पाउँदैनन् भन्ने हो। किसानले उत्पादनको उचित मूल्य पाउँछन् कि पाउँदैनन् भन्ने हो। युवाले आफ्नै गाउँमा सम्मानजनक भविष्य देख्न सक्छ कि सक्दैन भन्ने हो।
यिनै प्रश्नहरू सुन्दै जाँदा मलाई महसुस भयो-हामीले राजनीतिको भाषा धेरै बदल्यौँ तर नागरिकको दैनिकी अझै धेरै ठाउँमा उस्तै छ। भाषणहरू ठूला हुँदै गए, तर धेरै नागरिकका आधारभूत आवश्यकताहरू अझै पनि प्राथमिकताको पर्खाइमै छन्। राजनीति कुनै अमूर्त विषय होइन। यसको सफलता नागरिकको दैनिक जीवनमा देखिनुपर्छ। एउटा वृद्धले समयमै औषधि पायो कि पाएन, एउटा विद्यार्थीले गुणस्तरीय शिक्षा पायो कि पाएन, एउटा किसानले आफ्नो श्रमको उचित मूल्य पायो कि पाएन, एउटा युवाले अवसर खोज्दै घर छोड्नुपर्यो कि परेन-यिनै प्रश्नले राजनीतिलाई अर्थ दिन्छन्। नागरिकको जीवन सहज नबनेसम्म विकासका तथ्याङ्कले मात्र आश्वस्त बनाउन सक्दैनन्।
विद्यार्थीका रूपमा म कुनै अन्तिम निष्कर्ष सुनाउन खोजिरहेको छैन। बरु, समाजबाट सिक्ने यात्रामा रहेको एक जिज्ञासु युवाको रूपमा मैले देखेका र सुनेका कुराहरू साझा गरिरहेको छु। यो यात्राले मलाई एउटा कुरा स्पष्ट रूपमा सिकाएको छ—समाजलाई टाढाबाट हेरेर बुझ्न सकिँदैन। नागरिकसँग बसेर, उनीहरूको कथा सुनेर र उनीहरूको दैनिकी महसुस गरेर मात्र समाजको वास्तविक चित्र देख्न सकिन्छ।
आज आवश्यकता नयाँ नाराको होइन, नयाँ प्राथमिकताको हो। जबसम्म नागरिकका आधारभूत प्रश्नहरू नीति निर्माणको केन्द्रमा पर्दैनन्, तबसम्म ठूला एजेन्डाले मात्रै अपेक्षित परिवर्तन ल्याउन सक्दैनन्। राज्यको शक्ति भाषणमा होइन, नागरिकको जीवनमा देखिने परिवर्तनमा मापन हुन्छ।
सायद त्यसैले आज मलाई लाग्छ- राजनीतिलाई फेरि नागरिकतिर फर्कन आवश्यक छ। किनभने कुनै पनि लोकतन्त्रको अन्तिम गन्तव्य सत्ता होइन, नागरिकको सम्मानपूर्ण, सुरक्षित र सहज जीवन हो। यदि त्यो लक्ष्य अझै अधुरो छ भने, हामीले फेरि एकपटक आफ्ना प्राथमिकतामाथि गम्भीर प्रश्न उठाउनैपर्छ। अन्ततः एउटा विद्यार्थीका रूपमा मैले सिकेको सबैभन्दा ठूलो पाठ यही हो—देश बुझ्न नक्सा हेर्नु पर्याप्त हुँदैन, गाउँ पुग्नुपर्छ। विकास बुझ्न प्रतिवेदन पढ्नु पर्याप्त हुँदैन, नागरिकका अनुभव सुन्नुपर्छ। अनि राजनीति बुझ्न भाषणभन्दा पहिले जीवनलाई बुझ्नुपर्छ। किनभने ठूला एजेन्डाबीच हराएका आधारभूत प्रश्नहरूको उत्तर भेटिएपछि मात्रै परिवर्तनले वास्तविक अर्थ पाउँछ।