काठमाडौं। उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट तीन घण्टाको अन्तरमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ। करिब एक साताभित्र उत्तर कोरियाले गरेको यो दोस्रो क्षेप्यास्त्र परीक्षण हो।
दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार पहिलो क्षेप्यास्त्र दिउँसो करिब ३ बजे वोनसान क्षेत्रबाट पूर्वी समुद्रतर्फ प्रहार गरिएको थियो। करिब ४५० किलोमिटर उडेको उक्त क्षेप्यास्त्र ह्वासोङ–११ शृङ्खलाको भएको अनुमान गरिएको छ।
पहिलो प्रहारको करिब तीन घण्टापछि उत्तर कोरियाले अर्को अज्ञात वस्तु प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ। दोस्रो प्रहार पनि क्षेप्यास्त्र भएको पुष्टि भए तीन घण्टाभित्र लगातार दुईवटा क्षेप्यास्त्र परीक्षण भएको हुनेछ। जापानको रक्षा मन्त्रालयले पनि पहिलो प्रहार क्षेप्यास्त्र भएको देखिएको जनाएको छ। जापानी सञ्चारमाध्यमका अनुसार उक्त क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको थियो।
दक्षिण कोरिया, अमेरिका र जापानले उत्तर कोरियाको पछिल्लो गतिविधिबारे सूचनाको आदानप्रदान गरिरहेका छन्। दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले क्षेप्यास्त्र प्रहारको निन्दा गर्दै तत्काल यस्ता गतिविधि रोक्न आग्रह गरेको छ।
यसअघि सेप्टेम्बर १२ मा पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो। उत्तर कोरियाले दक्षिण कोरिया, जापान र अमेरिकाबीच भएको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै ती अभ्यासले कोरियाली प्रायद्वीपमा तनाव बढाएको आरोप लगाउँदै आएको छ।
उत्तर कोरियाली नेता किम जोङ उनको प्रभावशाली बहिनी किम यो जोङले शुक्रबार अमेरिकी नेतृत्वमा भइरहेका सैन्य अभ्यासका कारण तनाव झन् बढ्दै गएको आरोप लगाउँदै आफ्नो आणविक हतियार क्षमता विस्तार गर्ने नीतिमा परिवर्तन नहुने बताएकी थिइन्।