आइतबार, असोज १८, २०८३

स्वीकृतिको पर्खाइमा ४ खर्ब विदेशी लगानी हुने आयोजना

लगानी बोर्डले ४ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृतिको पर्खाइमा रहेको जनाएको छ।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं‐ लगानी बोर्डले ४ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृतिको पर्खाइमा रहेको जनाएको छ। यीमध्ये कतिपय लगानी सम्झौताको चरणमा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बोर्डको प्रतिवेदन बुझाउँदै भट्टले बोर्डले हालसम्म १ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको जानकारी दिए। 

१ खर्ब ५० अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि गत वर्ष लगानीकर्तासँग समझदारी भई र सर्वेक्षण अनुमतिपत्र समेत जारी भएको बोर्डले जनाएको छ। बोर्डबाट सहजीकरण भइरहेका अरुण तेस्रो जलविद्युत, ह्वासिन सिमेन्ट लगायतका परियोजनाको निर्माण प्रगति उल्लेख्य भइरहेको भट्टको भनाइ छ। 

त्यस्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकमा निर्माणाधीन औद्योगिक पार्क, दाङ सिमेन्ट, सम्राट सिमेन्ट परियोजनाहरू सम्झौताका चरणमा रहेको उनले प्रधानमन्त्री देउवालाई जानकारी दिए। 

कोभिड महामारीको प्रभाव, दक्ष जनशक्तिको अपर्याप्ततालगायतका चुनौती हुँदाहुँदै पनि कार्यसम्पादन करारमा उल्लेखित काम सम्पन्न भएको बोर्डको दाबी छ। 

सीईओ भट्टले आफ्नो कार्य सम्पादन करार सम्झौता बमोजिमको आर्थिक वर्ष ०७७/७८ को प्रतिवेदन लगानी बोर्डका अध्यक्ष प्रधानमन्त्री  शेरबहादुर देउवालाई बुझाएका हुन्।

प्रतिवेदनमा लगानी बोर्ड सीईओका रुपमा प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनौट हुँदा पेस गरिएको व्यवसायिक प्रस्ताव, गत वर्ष हस्ताक्षरित कार्यसम्पादन करार सम्झौता, गत वर्षको ठूला पूर्वाधार परियोजनाको लगानी स्वीकृति, परियोजना कार्यान्वयन तथा निर्माणमा सहजीकरण, लगानी प्रवर्धन तथा संस्थागत विकासलगायतका क्षेत्रमा हासिल गरेका महत्वपूर्ण प्रगतिको बारेमा उल्लेख छ।  

प्रकाशित: Aug 17, 2021| 15:43 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्