काठमाडौं– कोरोना महामारीका बेला पनि नेपालका वाणिज्य बैंकहरुले २०.१५ प्रतिशत नाफा कमाएका छन्। राष्ट्र बैंकले ल्याएको ऋणीमैत्री राहतका कारण बैंकहरुले आम्दानी गरेका हुन्।
गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ६३ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ कमाएका छन्। अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुको नाफा ५२ अर्ब ८० करोड रुपैयाँ बराबरको थियो।
वाणिज्य बैंकहरुले थप ०.३ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने भएका कारण नाफा ६३ अर्ब ४४ करोड ४१ रुपैयाँमा सीमित भएको हो। प्रोभिजनिङ नगरेको भए झन्डै ७० अर्ब नाफा हुने थियो।
राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाहरुको असल कर्जाको प्रोभिजनिङ १.०३ बनाएको थियो। जसले गर्दा बैंकहरुको तीन महिनामा प्रोभिजनिङमा ६ अर्ब ६७ करोड रुपैयाँले बढ्यो भने नाफामा सोही रकमले गिरावट आएको हो।
गत आर्थिक वर्षको चैतअघि असल कर्जामा १ प्रतिशत मात्र प्रोभिजनिङ गरे पुग्ने व्यवस्था थियो तर वैशाखमा मौद्रिक नीतिको समीक्षा गर्दा प्रोभिजनिङको दर बढाइएको थियो।
गत आवमा अधिकांश बैंकहरुको नाफा वृद्धि भएको छ। सबैभन्दा बढी नबिल बैंकले ४ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ। दोस्रो नम्बरमा ग्लोबल आईएमई बैंकको मुनाफा ४ अर्ब १२ करोड ६५ लाख र तेस्रो बैंक राष्ट्रिय वाणिज्य बैंकको मुनाफा ३ अर्ब ७९ करोड ५४ लाख ७८ हजार रुपैयाँ छ।
नाफाका आधारमा कृषि विकास बैंक चौथो नम्बरमा छ। सो बैंकले गत आवमा ३ अर्ब ६९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.८१ प्रतिशत बढी हो।
मर्जरको सम्झौता भएर पनि एकीकृत कारोबार नगरेको नेपाल इन्भेस्टमेन्ट बैंक नाफाका आधारमा पाँचौं नम्बरमा छ। सो बैंकले गत आवमा ३ अर्ब ६५ करोड नाफा कमाएको छ। यो अघिल्लो आवको तुलनामा ५० प्रतिशतले बढी हो।
इन्भेस्टमेन्ट बैंकसँग गाभिनका सहमति पाएको हिमालयन बैंकले भने गत आर्थिक वर्षमा २ अर्ब ९९ करोड रुपैयाँ कमाएको छ। यो अघल्लो आर्थिक वर्षको तुलनामा १५.८९ प्रतिशतले बढी हो। वणिज्य बैंकहरुको नाफाका आधारमा यो बैंक नवौं स्थानमा छ।
ग्त आर्थिक वर्षमा सबैभन्दा कम नाफा कमाउने बैंकमा सिभिल बैंक छ। सो बैंकले ५५ करोड ९३ लाख रुपैयाँ कमाएको छ। यो अघिल्लो अर्थिक वर्षको तुलनामा ०.७७ प्रतिशतले नाफा कमाएको छ।