काठमाडौं– नेपालमा विद्युत प्रयोग गर्ने ग्राहकको संख्या ५० लाख नाघेको छ। विद्युत प्राधिकरणले आफ्नो ३६औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको विवरण अनुसार नेपालमा व्यक्तिगत र सामुदायिक संस्थागत गरी ५० लाख ग्राहकको संख्या नाघेको हो। प्राधिकरणका अनुसार ४५ लाख व्यक्तिगत ग्राहक छन् भने ५ लाख सामुदायिक।
प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा करिब ८६ प्रतिशत जनसंख्यामा रहेको विद्युतको पहुँच गत आर्थिक वर्षमा करिब ९० प्रतिशत पुगेको जानकारी गराए।
केन्द्रीय प्रसारण लाइनको विद्युत पुग्न बाँकी रहेका डोल्पा, मुगु र हुम्ला जिल्लामा पनि सरकारले घोषणा गरेको अवधि भित्रै पुर्याउने योजना रहेको हरराज न्यौपानेले बताए।
प्राधिरणले गत वर्ष कोरोना महामारी लगायतका कारण विद्युत चुहावट बढेको जानकारी गराएको छ। कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दी एवं निषेधादेशका कारण मिटर रिडिङ र विद्युत चुहावट नियन्त्रण गर्ने कार्य प्रभावित हुँदा चुहावट बढेको प्राधिकरणको भनाइ छ।
चुहावट धटेर १५.२७ प्रतिशतमा पुगिसकेको अवस्थामा कोरोना महामारीका कारण फेरि बढेर १७.१८ प्रतिशतमा पुगेको प्राधिकरणले जानकारी दिएको छ।