काठमाडौं‐ अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई मौद्रिक नीति सार्वजनिक हुनु अगावै सूचना चुहाएर बार्गेनिङ गरेको भन्दै थर्काएका छन्। छलफलका लागि सोमबार मन्त्रालय पुगेका गभर्नर अधिकारीलाई शर्मा सूचना चुहाउँदै ब्ल्याकमेलिङ गरेको आरोप लगाउँदै हप्कीदप्की गरेका हुन्।
‘मौद्रिक नीति चुहाएको विषय गम्भीर हो। आवश्यक सूचना प्रवाहका लागि प्रवक्ता वा वेवसाइट प्रयोग गर्न सकिन्छ। टेबुल टेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ गर्ने कार्य आइन्दा नगर्नुहोस्,’ उनले गभर्नर अधिकारीलाई भनेका थिए।
'तोकिएको समय अगाडि नै मौद्रिक नीति चुहिनु भनेको परीक्षा अगाडि नै प्रश्नपत्र आउट गरेजस्तो हो। यसले राज्यको मनोबल गिराउने काम गर्छ। यस्तो कार्य तत्काल रोक्नुस्,' गभर्नर अधिकारीलाई अर्थमन्त्री शर्माको आक्रोशपूर्ण निर्देशन छ।
पारदर्शिता कायम गर्न सूचनाको प्रवाह जरुरी भएको उल्लेख गर्दै प्रवक्ता र कार्यालयको वेवसाईटमार्फत सूचना दिने व्यवस्था मिलाउन उनले भनेका छन्।
गभर्नर अधिकारीले सहुलियतपूर्ण कर्जा कार्यविधि, व्यावसायिक ऋण कार्यविधि, नवप्रवर्तनसम्बन्धी कार्यविधि संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
सुधारको लागि गर्नुपर्ने काम संकटको बेला पनि रोक्न नहुने भन्दै मौद्रिक नीतिमार्फत् कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरिएको स्पष्ट पारे।
सीसीडी रेसियो संसारभरबाटै खारेज भइसकेको परिवेशमा राष्ट्र बैंकले हटाएको उनको भनाइ थियो। त्यस्तै उनले विदेशी विनिमय नियमित गर्ने ऐन संशोधनको प्रक्रियामा रहेकोले त्यसलाई छिटो टुंगो लगाउन पहल गर्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले अर्थन्त्रको दिगो स्रोत व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए। जलविद्युत र सिमेन्ट उद्योगहरुलाई व्यवस्थित गरेको खण्डमा तिनले राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन स्रोतको काम गर्ने पौडेलले बताएका थिए।
समाजमा भएको असमानता घटाउने र सुशासन प्रवर्द्धन हुने खालको कार्यक्रम बनाउनुपर्ने, भन्सार बिन्दुमा आयातकर्ताहरुले धेरै दिन कुर्नुपर्ने र ‘वेटिङ चार्ज’को धेरै तिर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको सुझाव थियो।
अर्थसचिव मधुकुमार मरासिनीले कोरोना महामारीका बीचमा मन्त्रालय र मातहतका निकायहरुले राम्रो काम गरेको भन्दै त्यसमा थप प्रगति हासिल गर्नुपर्ने बताए। उनले राजश्व संकलनको लक्ष पूरा गर्ने, घाटामा रहेका निकायलाई नाफामा लैजाने र बेरुजु घटाउने काममा विशेष ध्यान दिनुपर्ने पनि बताएका थिए।