काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टमा आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेका छन्।
प्रतिनिधिसभा अर्थ समितिको सोमबार बसेको बैठकमा सांसदहरुका प्रश्नको उत्तर दिँदै साउदले आफूले ऐननियम र आचारसंहिता हेरेर नै सेयर खरिद गरेको भए पनि समाज पनि छ भन्ने विषयमा आफूले याद नगरेका कारण आफू गलत भएको बताए।
उनले भने, ‘मैले नेप्सेको सिइओको हकमा लागु हुने ऐननियम र आचार संहिता समेत हेरेँ, जुन मेरो हकमा लागु नहुने देखेर सेयर किनिएकै हो तर त्यसले मात्र नपुग्ने रहेछ। हाम्रो पछाडि समाज पनि छ। आगामी दिनमा यस्तो प्रश्न उठ्ने ठाउँबाट एक कोश टाढा नै जाने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु। पुँजी बजारको विकासको लागि आफ्नो ठाउँमा रहेर सधैं योगदान दिन चाहन्छु।’
उनले आफ्ना कारण अर्थ समितिका सदस्यहरुलाई समेत दुःख भएको भन्दै भने, ‘व्यक्तिगत रुपमा पनि यहाँहरु सबैलाई मेरो कारणले एक किसिमको नकारात्मक प्रभाव पर्यो। अब आचार संहिता मात्र होइन, हामीले इन्साइडर ट्रेडिङको नियम समेत ल्याएर काम गर्छौं।’ उनले नेप्सेले आफ्नो तर्फबाट गर्ने भनेको आचार संहिता र कर्मचारी नियावलीको संशोधन भएको भन्दै आगामी दिनमा नैतिकतामाथि प्रश्न चिन्ह उठ्ने खालका ऐन नियमहरु परिवर्तन गर्ने बताए।
‘अहिले मलाई सर्वोत्तम सिमेन्टको संस्थापक सेयर नकिनेको भए पनि हुन्थ्यो जस्तो लागेको छ । सर्वोत्तम सिमेन्टको कम्पनी नेप्सेमा कारोबारमा पनि आएको छैन। भोलि बुक बिल्डिङमा जाँदा हामीलाई पनि जानकारी आउने हो अझैसम्म आएको छैन भन्ने सोचले लगानी गरेको हुँ,’ उनले प्रस्टीकरण दिए।
सीईओ साउदले स्वार्थ बाझिने कम्पनी सर्वोत्तम सिमेन्टमा आफ्नी श्रीमतीको नाममा संस्थापक सेयर किनेको समाचार बाहिरिएपछि स्पष्टीकरणका लागि सोमबार अर्थ समितिले बोलाएको हो।