काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले इन्साइड ट्रेडिङ नभएको दावी गरेका छन्।
सोमबार संसदको अर्थ समितिमा उनले नेप्सेमा इन्साइड ट्रेडिङमार्फत कारोबार भएको भन्दै हल्ला फैलाइएको भन्दै त्यो साँचो नभएको दावी गरेका हुन्। नेप्से शुद्ध रुपमा सेयर उपलब्ध गराउने निकाय भएकाले यसमा प्रमोटर सेयर खरिद गर्न नमिल्ने दावी उनले गरे।
‘नेप्से शुद्ध रुपमा सेयर उपलब्ध गराउने निकाय भएको हुनाले हाम्रो सञ्चालक समितिको आचारसंहिताले रेगुलेटेड सेकेन्डरी मार्केट बाहेक अन्य कुनै पनि संस्थाको संस्थापक सेयर किन्न कुनै बाधा पर्ने छैन भनेर लेखिएको छ,’ उनले भने, ‘त्यही अन्तर्गत त्यो सेयरको कारोबार भएको हो। त्यो कुनै नियम मिचेर होइन। मोरालिटिको कुरा पनि त छ।’
उनले आफू देशको नागरिक भएकाले सेयर कारोबार गरेको समेत दावी गरे। ‘म पनि नागरिक हुँ नि। यहाँको हैन र?’ उनले प्रश्न गर्दै भने, ‘मैले पनि त आफ्नो लगानी गर्न पाउनुपर्यो नि।’
उनले सेयरमा इन्साइड ट्रेडिङ नभएको दोहोर्याए। ‘त्यो इन्साइड ट्रेडिङ कसरी हुन्छ? जबकि पब्लिकमा आउने भनेको त पब्लिक सेयर हो, त्यो त प्रमोटर सेयर हो।’