काठमाडौं- ठेकेदारले काम नगरेपछि न्यु खिम्ती-बाह्रबिसे प्रसारण लाइनको ठेक्का तोडिएको छ। नेपाल विद्युत् प्राधिकरणले चिनियाँ ठेकेदार कम्पनीले काम नगरेपछि तामाकोसी-काठमाडौं चार सय केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्डको ठेक्का तोडेको हो।
प्राधिकरणले चिनियाँ कम्पनीहरु ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको तामाकोसी-काठमाडौं प्रसारण लाइनअन्तर्गतको न्यु खिम्ती-बाह्रबिसे खण्डको ठेक्का केही दिनअघि तोडेको हो। प्राधिकरणले ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत अर्थात् १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्य सम्पादन जमानत जफत गरेको छ।
यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको बैंक जमानत पनि जफत गरिएको आयोजनाप्रमुख नवराज ओझाले जानकारी दिए। प्राधिकरणले कम्पनीसँग ११ असोज ०७३ मा, १२ जेठ ०७६ मा निर्माण सम्पन्न गर्ने गरी एक करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र ६१ करोड ६७ लाख ३६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्त्वको प्रसारण लाइनको कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई पटकपटक निर्देशन दिएका थिए। तर,कम्पनीले ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत निर्माणका प्रारम्भिक काम नगरेपछि सम्झौता अवधि बाँकी रहेको अवस्थामा ठेक्का तोडिएको आयोजनाले जनाएको छ।
‘ठेक्का सम्झौता भएको ७४ प्रतिशत समय सकिँदा करिब ८ प्रतिशत मात्रै भौतिक प्रगति गरेको, काम गर्न पटकपटक दिइएको निर्देशन अटेर गरेकाले रणनीतिक महत्त्वको प्रसारण लाइन निर्माण अलपत्र पर्न नदिन ठेक्का तोडिएको हो’, ओझाले भने, ‘काम गर्न पटक–पटक गरिएको ताकेता तथा चेतावनी दिँदा पनि ठेक्का सम्झौतामा उल्लेख गरिएको समयतालिका परिवर्तन गर्नमै कम्पनी लागिरह्यो। काम नगर्ने तर विभिन्न बहाना बनाएर ठेक्का ओगटी राख्ने मात्रै देखियो।’
कम्पनीले सम्झौतामा समय तालिकासहित उल्लेख भएका टावरको डिजाइन, ड्रोइङ, जग हाल्ने तथा जडान गर्ने, कन्टक्टर, इन्सुलेटरजस्ता उपकरणको उत्पादन, आपूर्ति तथा जडान गर्ने लगायतका काम गरेको थियो।
ठेक्का तोडी नयाँ ठेकेदार छनोटका लागि ठेन्डर आह्वान भइसकेको आयोजना प्रमुख ओझाले जानकारी दिए। उनका अनुसार आगामी मे महिनाभित्र ठेक्का सम्झौता गर्ने र सम्झौता भएको आठ सय २० दिनभित्रमा निर्माण सक्ने लक्ष्यका साथ काम अगाडि बढाइएको बताए। आयोजना नेपाल सरकार र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गर्न लागिएको हो।
कम्पनीले सिन्धुपाल्चोकको बाह्रबिसेमा २२०/१३२ केभी सबस्टेसन बनाउने ठेक्का पाएको छ। सबस्टेसनको काम पनि सन्तोषजनक नभएको आयोजनाले जनाएको छ। ताकेता गर्दासमेत सम्झौताको तालिकाअनुसार अहिलेसम्म मुख्य कामै नगरेको आयोजना प्रमुख ओझाले बताए।
प्राधिकरण र कम्पनीबीच सबस्टसन निर्माणका लागि २५ डिसेम्बर २०१७ मा ८७ लाख ९३ हजार डलर र ३१ करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्माणको काम २४ फेब्रुअरी ०२०मा सक्ने गरी ठेक्का सम्झौता भएको हो।
खिम्ती र तामाकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी-काठमाडौं उच्च क्षमताको प्रसारण लाइन बनाउन गर्न लागिएको हो।रामेछापको खिम्तीमा बन्न लागेको सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको चार सय केभी डबल सर्किट प्रसारण लाइनको लम्बाइ ४४ किलोमिटर छ। बाह्रबिसे-काठमाडौं खण्डको ठेक्का भने लार्सन एन्ड टर्वो (एलएन्टी) ले पाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४