बिहीबार, असोज २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महिलालाई कुटपिट गरेको आरोपमा स्वयम्भू प्रहरीको हिरासतमा पुगेका थिए सांसद् सुनार

महिलालाई कुटपिट गरेको आरोपमा स्वयम्भू प्रहरीको हिरासतमा पुगेका थिए सांसद् सुनार

 |  बिहीबार, असोज २९, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०८३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार महिला हिंसाको नयाँ अडियो प्रकरणमा मुछिएका छन्। उनी यसअघि पनि पटक-पटक यस्तै विवादमा पर्दै आएका थिए।

एक महिलामाथि हिंसा गरेको, ज्यान मार्ने धम्की दिएको र अपशब्द बोलेको अडियो सार्वजनिक भएपछि उनी फेरि विवादमा तानिएका हुन्।

सांसद सुनारले बालेको दाबी गर्दै जनआस्था साप्ताहिकको अनलाइन संस्करणले सार्वजनिक गरेको उक्त अडियोले सुनारमाथि नैतिक प्रश्न उठाएको छ।

सार्वजनिक अडियो र त्यहाँ संवाद गरिएकी महिलासँगको सम्बन्ध तथा हिंसाको विषय पुरानो रहेको देखिन्छ। अडियो सार्वजनिक भएपछि यसबारे बुझ्दै जाँदा सांसद सुनार केही पहिले प्रहरी हिरासत पुगेको समेत भेटिएको छ।

बताइए अनुसार सार्वजनिक अडियोमा बोलेकी महिला विवादमा तानिएका सुनारलाई भेट्न त्यतिबेला प्रहरी वृत्त स्वम्भूको हिरासत पुगेकी थिइन्।

२०७८ ताका ती महिला सीतापाइला क्षेत्रमा बस्थिन्। त्यतिबेला ती महिला र सुनारबीच लेनदेन सम्बन्धी विवाद भएको बुझिएको छ। त्यतिबेला सुनारले ती महिलालाई कुटपिट गरेको आरोप लागेको थियो।

राजनैतिक नेतृ रहेकी ती महिलामाथि कुटपिट भएपछि पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)ले प्रहरी प्रधान कार्यायलयको भीआईपी सुरक्षा हेर्ने सुरक्षा सेवा निर्देशनालायमा जानकारी गराएका थिए।

त्यसपछि प्रहरी हेडक्वाटरबाट उक्त सूचना जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको थियो। त्यतिबेला काठमाडौंका प्रमुख तथा एसएसपी सुदीप गिरी थिए। स्वयम्भू क्षेत्रको घटना भएपछि प्रहरी वृत्त स्वयम्भूलाई एसएसपी गिरीले घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए।

त्यसपछि प्रहरीले सुनारलाई पक्राउ गरेर ल्याएको थियो। प्रहरीले सुनारलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएपछि ती महिला उनलाई भेट्न प्रहरीकोमा पुगेको खबर बाहिर आएको छ।

ती महिलाले सुनारलाई आफ्नो जिम्मामा छाड्न प्रहरीलाई भनेकी थिइन्। एक दिन हिरासत बसेपछि दुई जनाबीच मिलापत्र गरेर भोलिपल्ट सुनार छुटेको बुझिएको छ।

विवादित पृष्ठभूमिका उनै सुनार अहिले अडियो सार्वजनिक भएपछि फेरि विवादमा तानिएका छन्।

प्रकाशित: Oct 15, 2026| 08:34 बिहीबार, असोज २९, २०८३
प्रतिक्रिया दिनुहोस्